कर्मचारीलाई एक हप्ता परिवारसहित घुम्‍न ९० लाख

पोखरा । गण्डकी प्रदेशले आफू मातहतका कर्मचारीलाई घुम्न पठाउने भएको छ । कर्मचारीलाई घुम्न पठाउनकै लागि सरकारले चालू आर्थिक वर्षमा ९० लाख रुपैयाँ बजेट समेत छुट्याएको छ । सरकारले कर्मचारीलाई उत्पे्ररित गरी जिम्मेवारीप्रति उत्साह बढाउन तथा आन्तरिक तथा ग्रामीण पर्यटन प्रवद्र्धन गर्नको लागि बिदा पर्यटनको अवधारणा ल्याएको हो । सरकारले २०१९ लाई आन्तरिक पर्यटन वर्ष घोषणा गरेको छ । आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने र २०२२ सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्य प्रदेश सरकारको छ । सोही लक्ष्य पूरा गर्नको लागि सरकारले बिदा पर्यटनमार्फत् कर्मचारीलाई घुम्न पठाउने भएको हो । यसबाट सरकारले प्रदेशको सार्वजनिक सेवालाई समयानुकूल, सक्षम र प्रभावकारी बनाउने लक्ष्य समेत लिएको छ ।

बिदा पर्यटनसम्बन्धी कार्यविधि बुधबारको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ । कार्यविधि अनुसार प्रदेश सरकार मातहतका कार्यालयका कर्मचारीहरुले बढीमा एक हप्तासम्मको काज बिदा पाउनेछन् ।

कार्यविधिमा भनिएको छ, “कार्यालयले कर्मचारीलाई पर्यटनको माध्यमबाट उत्प्रेरित गर्न र आन्तरिक तथा ग्रामीण पर्यटन प्रवद्र्धन गर्न कार्यालयको काममा बाधा नपर्ने गरी सात दिनसम्म गण्डकी प्रदेशभित्र बिदा पर्यटनमा पठाउनको लागि वार्षिक कार्ययोजना स्वीकृत गर्नुपर्नेछ ।”

कार्ययोजना स्वीकृत भएपछि मात्रै कार्यालयले कर्मचारीलाई बिदा पर्र्यटनमा खटाउने र कम्तीमा परिवारको एकजना सदस्यलाई साथमा लैजानुपर्नेछ । बिदा पर्यटनमा जाने कर्मचारी प्रदेश सरकारले नै तोकेका होमस्टे वा नेपाल सरकारले पहिचान गरेका पर्यटकीय स्थलमा मात्र जान पाउनेछन् । नेपाल सरकारले तोकेका पर्यटकीय स्थल पनि प्रदेशभित्रकै हुनुपर्ने सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

 

प्रकाशित मिति: : 2019-08-23 16:19:51

प्रतिकृया दिनुहोस्