कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै। यो त आफैँमा जागरण पनि हो। चेत पहिल्याउने बाटो पनि हो। कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी। अर्को नदी अर्थात् कालीगण्डकी। यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौं हामीले।
नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी। ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरुले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन्। पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैंमा विशिष्ट नदी हो। यससँग लाखौं मानिसहरुको जीवन जोडिएको छ। स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ।
दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ। नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन्।
दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ। नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ। यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ।
त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ।
त्यसलाई कवितामार्फत मुखरित गर्न ’कालीगण्डकी बचाऔँ अभियान’ले 'नदी सप्तक श्रृङखला' (आन्दोलन कविता) सुरू गरेकाे छ।
यस अन्तर्गत तेह्राैँ श्रृंखलामा कवि चिन्तु गिरीकाे कविताः
कालीगण्डकी
सिँचाइले धान खेत झुलाएर फाँट
भोको पेट अघाएर आओस् नयाँ आँट
भनेर म काली बनी बग्छु निरन्तर
बिजुलीले झलमल्ल पार्छु गाउँघर ।
अग्लाअग्ला पुल बने मेरै छातीमाथि
यही हेर्न आएका छन् विदेशका साथी
ढुंगाभित्र सुन हुन्छ बालुवामा सुन
दिएकै छु मानिसलाई कति लगाऊँ गुन !
अझै पनि नपुगेर बालुवा र गिटी
खनी खोस्री बढाउँछौं सम्पत्ति र झिटी
भत्काउन नलाग ए, बरु लगाऊ बाँध
नमिच है अज्ञानी भै मेरो सीमा साँध ।
समुद्रमा पुग्छु भन्दै बग्छिन् सललल
नुहाएर पवित्र भै लिई जाऊ जल
कालीगंगा बचाउन मिलाऔं काँधमा काँध
नमिचौं है अज्ञानी भै यिनको सीमा साँध ।
ठोकिएर पहरामा बगेकी छु कतै
दुर्गन्धलाई बगाएर सफा पार्छु कतै
अझै पनि गुन देख्ने हैन मानिसले
प्रकृतिलाई हेप्यो भने दु:ख पायो उसले।.
यसलाई पाेस्टरमा पनि पढ्न सकिन्छः