२० वर्षदेखि नाइट बस हाँकिरहेका चालक भन्छन्-

हरेक चालकले बसभरिका यात्रुलाई आफ्नै परिवार सम्झिनुपर्छ

‘खलासी’बाट सुरु भएको उनको जीवनको ‘बस-यात्रा’ ‘ड्राइभर’ बनेर हुँइकिन थालेको पनि दुई दशक नाघिसक्यो। योबीचमा दाङ तुलसीपुरका केशवबहादुर भण्डारीले ‘दाङ-काठमाडौँ’को हजार चक्कर काटिसकेका छन्।

‘स्टेयरिङ’ समाएको त ३५ वर्ष पुगिसक्यो। रातमा होस् या दिनमा उनले ‘लामो रुट’को बस हाँक्न थालेको दुई दशक नाघेको छ। अहिले उनी ‘दुर्घटना’को कारण बनेका छैनन्।

लामो रुटका ठुला बस हाँक्दाहाँक्दै उनी ‘उत्कृष्ट चालक’ भएर सम्मान पनि पाइसकेका छन्।

इमान्दारिताका साथ ट्राफिक नियमको पालना गरेर गाडी चलाउँदै आएका भण्डारीलाई त्रिशिद्देश्वरी राप्ती यातायात समितिले उनलाई उत्कृष्ट चालकका रुपमा सम्मानित गरेको थियो।

अहिले उनी आफैँ बसका मालिक पनि हुन् र त्यसको चालक पनि।

उनको बुझाइमा ट्राफिक नियमको पालना नगर्ने र तीव्र गतिका कारण अघिकांश दुर्घटना हुने गरेका छन्।

हरेक सवारी साधनका चालकले इमान्दारिताका साथ जिम्मेवार बनेर ट्राफिक नियमको पालना गर्ने र गाडी चलाउने हो भने अधिकांश दुर्घटना न्यूनीकरण हुने उनी बताउँछन्।

‘एउटा बसमा बसेका मान्छेमात्रै होइन, त्यहाँ त कैयौँ जिन्दगी र कतिका भविष्य पनि सँगसँगै हुन्छन्’, उनी भन्छन्, ‘चालकको एउटा सानो लापरवाही वा सानो गल्तीले मात्रै पनि कैयौँ जिन्दगी सकिन्छन्। त्यसैले हामीले आफू र आफ्नो परिवारजस्तै यात्रुहरूलाई सम्झेर गाडी चलाउने हो।’

भवितव्य हुने दुर्घटनाबाहेक अधिकांश दुर्घटनाहरू तीव्र गति, चालकको लापरवाही, कमजोर सडक, गाडी र पैदल यात्रुका कारण पनि हुने गरेका छन्।

त्यसैले दुर्घटना नहोस् भनेर चालकले हरेक अवस्थामा ट्राफिक नियमको अनिवार्य पालनासँगै आफू हिँडिरहेको सडक तथा गाडीको अवस्थाका बारेमा ध्यान दिनुपर्ने उनको सुझाव छ।

सीमित गतिमा गाडी चलाउने, राम्रो सडक हुने, सडकमा ट्राफिक संकेतहरु हुने र ती संकेतहरुको चालक र यात्रुले अनिवार्य रुपमा पालना गर्ने अवस्था भए दुर्घटना नै नहुने उनको अनुभव छ। त्यससँगै सडकको अवस्थाअनुसार चालकले गाडी चलाउने, ट्राफिक नियमको पालना गर्ने, गाडीको क्षमताभन्दा धेरै यात्रु नराख्ने, मादक पदार्थ सेवन नगरेर नै गाडी चलाउनुपर्ने उनको सुझाव छ।

‘अधिकांश ठाउँमा सडकको अवस्था ठिक छैनन्। कतै भत्किएर त, कतै समयमा निर्माण नभएर खाल्डाखुल्डी छन्, जसले गर्दा गाडीको अवस्थासमेत कमजोर भएको हुन्छ’, चालक भण्डारी भन्छन्, ‘त्यस्तो अवस्थामा चालकले ध्यान दिनुपर्छ। कतिको गतिमा गाडी चलाउने भनेर, बाटो र गाडीको अवस्था के कस्तो छ भनेर सचेत हुनुपर्छ।’

ट्राफिक नियमको पालनासँगै चालकले ध्यानदिनुपर्ने अर्को कारण आफ्नो स्वास्थ्य पनि हो। खासगरी लामो दुरी र रातिको समयमा चलाउने चालकहरूले झन् अनिवार्य रुपमा ध्यानदिनुपर्छ।

‘मैले बसेर त चलाउने हो, सकिहाल्छु भनेर हुँदैन’, उनी भन्छन्, ‘कहिलेकाहीँ सानो मिस्टेकले पनि ठुलो दुर्घटना हुनसक्छन्। बिरामी अवस्थामा चलाउनु हुँदैन। अनि निद्रा लाग्यो भने पनि गाडी चलाउनु हुँदैन। गाडी रोकेर एकछिन सुत्दा केही बिग्रिँदैन। कि गाडीमा दुई वटा चालक अनिवार्य हुनुपर्छ।’

त्यसका लागि ट्राफिकले लाइसेन्स, बिलबुक, मापदक पदार्थ सेवन गरे/नगरेको मात्रै नभइ गाडीको अवस्थाबारेमा पनि सोधपुछ गर्नुपर्छ। र, सबैभन्दा महत्वपूर्ण कुरा त हरेक चालकको स्वास्थ्य चेकजाँच अनिवार्य हुनुपर्ने उनको भनाइ छ।

दुर्घटना रातमा वा दिनमा भन्ने हुँदैन। सचेत नहुँदा जहिले पनि दुर्घटनाको शिकार भइन्छ।

यो यात्राका क्रममा दुर्घटनासँग बचेका अनुभव भण्डारीसँग अनेक छन्। तीमध्ये केही दिनअघिमात्रै एउटा सम्भावित दुर्घटनाबाट उनी धन्न जोगिएका थिए। त्यो बर्दघाटको सडकखण्डमा थियो। उनी ‘नाइट बस’ हाँकेर काठमाडौं जाँदै थिए।

‘म दाङबाट गाडी चलाएर काठमाडौँ जाँदै थिएँ, मेरो गाडीको गति धेरै थिएन। बर्दघाटमा पुग्दा यात्रुहरु निदाएका थिए, करिब रातको १२ बजिसकेको थियो। गाडी अघि बढिरहेकै क्रममा एक्कासी मोटरसाइकल तीव्र गतिमा आइरहेको देखियो’, चालक भण्डारीले घटनाबारे सुनाए, ‘मोटरसाइकलवालाले आफ्नो लेन मिचेको देखेपछि गाडी सुस्त गरेर रोकेँ, मादक पदार्थले मात्तिएको उसले गाडीमा हुत्तिएर आउलाजस्तो गरी मोटरसाइकल चलाइरहेको थियो।’

उनका अनुसार गाडी रोकेर सम्झाउन खोज्दा एकछिन त बाझाबाझ पनि भयो। अनि सबैले सम्झाएपछि ऊ अलि शान्त भएर आफ्नो बाटो लाग्यो।

कतिपय अवस्थामा आफूले राम्रोसँग चलाउँदा चलाउँदै पनि अरूका कारण दुर्घटनाहरू भएका छन्।

‘आफू त सचेत हुनुपर्छ नै, कतिबेला त अरुबाट बच्न पनि झन थप शतर्क हुनुपर्छ’, उनी भन्छन्, ‘आफू बच्दाबच्दै कति कतिबेला अरुकै कारण पनि दुर्घटना हुनसक्छ।’

त्यस्तो अवस्थाबाहेक अन्य अवस्थामा हुने दुर्घटना रोक्नका लागि चालकले ध्यानदिने, ट्राफिक प्रहरीले चेकजाँचलाई बढाउने, ठाउँठाउँमा ट्राफिक संकेतहरू राख्ने र समय समयमा चालकहरूलाई प्रशिक्षण र स्वास्थ्य चेकजाँचको व्यवस्था गर्नुपर्छ। चालकले आफ्नो काममा ध्यान नदिने हो भने जति गरे पनि दुर्घटना रोक्न सकिँदैन।

त्यससँगै उनको अनुभवमा कतिपय अवस्थामा सडकका छेउछाउमा जथाभावी रुपमा राखिने होर्डिङ बोर्डका कारण पनि दुर्घटना हुने भएकाले हटाउन पनि उनको सुझाव छ।

रातको समयमा त्यसरी राखिएका होर्डिङ बोर्डहरू टल्किएर पनि दुर्घटना हुने सम्भावना बढी हुन्छ। 

प्रकाशित मिति: : 2024-01-14 20:50:00

प्रतिकृया दिनुहोस्