शनिबार, १६ नोभेम्बर २०२४

जीवनको कोप्चेरोमा सुसाइरहेको एउटा ‘अनुराग’

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

तिम्रो–मेरो मायाको निसानी
हेर्न नपाई आइपुग्यो भिसा नि
ए जान्छु परदेश...

पत्तै हुँदैन जिन्दगीको बाटो कतिबेला मोडिन्छ, अनि ती घुम्ती र मोडहरूमा ठोक्किरहेको जिन्दगीको कथा गीतका शब्दहरू बनिदिन्छन्।

निधारमै ‘परदेश’ कुँदेर जन्मिने आमनेपाली युवाका कथाहरूलाई गीतमा बुनिरहेका विजय अनुरागी अहिले आफैँले लेखेका गीतका ती शब्दहरू गुनगुनाउँदै विदेशिएका छन्, श्रमिक भिसा लगाएर।

जुन शब्दहरू बुनेर उनले गीत लेखे ती गीत ‘गर्भरचना’मै छन्, रिलिज हुनै नपाई उनी आफैँले ‘घरदेश’ छोड्नु पर्‍यो।

अर्घाखाँचीको शितगंगा नगरपालिका– १०का विजय अनुरागी (३० वर्ष) सानैदेखि गीत लेख्न र गाउनमा रुचि राख्थे। सामान्य परिवारमा जन्मिएका उनले आफूले देखे-भोगेका कुराहरुलाई मनभित्र खेलाइरहन्थे। र, तिनलाई रेडियोमा बज्ने गीतका भाकामा मिलाएर गुनगुनाउँथे।

अरुका गीतका लयमा आफ्ना शब्दहरु भरेर गाउने उनको बाल्यकालको औधी रुचिको विषय हो। उनले जे देख्थे/सुन्थे गीत बनाउँथे।

त्यसमाथि समाजमा बिरह र बेदना पोख्ने माध्यम गीत नै थियो। अन्तरमुखी स्वभावका विजयले पनि त्यही जे समाजले गर्थ्यो।

विद्यालयमा अतिरिक्त क्रियाकलाप हुने आँगनहरू विजयका लागि सबैभन्दा ठुला ‘स्टेज’ थिए। सँगै पढ्ने साथी–भाइहरु दर्शक थिए। र, गुरुजनहरु हौसलाका पात्र।

आफ्नो मनमा उब्जिएका भावना दर्शाउने सबैभन्दा ठुलो माहोल नै यही थियो विजयका लागि।

विजयलाई गीत लेख्न र गाउनमा हौसाउने गुरुजनहरुले कुनै सजाय दिनु पर्‍यो भने भन्थे– ल विजय उठेर एउटा गीत गाऊ त।

विद्यालयमा ढिला पुग्दा होस् या गृहकार्य नगर्दा होस् एउटा गीत गाइदिए पुग्थ्यो विजयलाई। ‘स्कुल जान अलिकति ढिला भएको अवस्थामा होस् अथवा होमवर्क नगरेको अवस्थामा होस् सरहरुले मलाई दिने सजाय गीत गाउनू थियो। त्यसले गर्दा मलाई हौसला मिल्थ्यो। मैले राम्रो गाउन सक्ने रहेछु जस्तो लाग्थो।’

सायद त्यतिबेला गुरुजनहरुलाई पनि लाग्दो हो, ‘विजयलाई गीत गाउन लगाइयो भने यसले आफ्नो यथार्थता सुनाउनेछ।’ किनभने, विजय त्यस्तै थिए, मनका कुरा झ्याप्प अरुलाई नसुनाउने तर गीत बनाएर गुनगुनाउने।

त्यसैगरी विजयले स्कुले जीवनमा धेरै गीत लेखे र गाए। सबैभन्दा धेरै उनले जनचेतना फैलाउने गीत लेखे।

उनी आफूले लेखेका गीतहरु हेरेर रेकर्ड गरेर रेडियो र टेपमा घन्काउने सपना बुन्थे। तर, गीत रेकर्ड गर्न काठमाडौँ जानुपर्छ भन्ने कुरा जब मनमा आउँथ्यो अनि तर्सिन्थे। उनलाई लाग्थ्यो, ‘हामीजस्तो सामान्य मानिस काठमाडौँ जस्तो ठाउँमा गएर गीत रेकर्ड गर्न सकिन्न।’

अनि, रहरहरु मनमा साँचेर चुपचाप बस्थे।

यद्यपि, बाल्यकालमा उनले एउटा अठोट भने गरेका थिए, ‘म ठुलो भएर चाहे विदेश गएर हुन्छ वा जागिर खाएर, कमाएको पैसा गीतमा लगानी गर्छु।’

सपनाका यी लहरहरु मनभित्रै सल्बलाइरहेका विजयको चञ्चल उमेरमा घर बज्रपात आइलाग्यो। मृर्गौलासम्बन्धी राेगका पीडित बुबाको निधन भयो। यो वि.सं. २०७०को कुरा हाे। त्यतिबेला विजय १९ वर्षका थिए।

विजयले माथि प्रस्तुत गीतमा जे लेखेका छन्, बुबाको जीवन पनि ठिक त्यस्तै नै थियो। उनका बुबाले पनि लामो समय भारत र कतारमा रोजगारी गरे। विजयको जन्म पनि भारतको गुडगाउँमा भएको हो। आठ महिनाको हुँदा परिवारले उनलाई नेपाल (अर्घाखाँची) ल्याएको थियो।

परिवारका यावत् समस्याका कारण विजयले पढाइ पूरा गर्न पाएनन्। १० कक्षाबाटै पढाइलाई बिट मार्नु पर्‍यो।

बुबाको निधनपछि काँधमा आएका सबै जिम्मेवारी पूरा गर्न २१ वर्षको उमेरमा विजय परदेशिनु पर्‍यो।

०००

घर छुटेपनि, पाखा-पखेरा छुटेपनि, साथीसङ्गी टाढिएपनि विजयमा सिर्जनाको रहर भने छुटेन। परदेशमा हुँदा पनि विजयले धेरै गीत लेखे। र, परदेशबाटै पूरा गरे आफूले सिर्जना गरेका गीतलाई रेकर्ड गर्ने सपना।

साउदी अरब गएको एक वर्षपछि विजयको ‘दोषी’ गीत नेपालमा रेकर्ड भयो। यर्थाथ घटनामा आधारित त्यो गीतले त्यतिबेला राम्रो चर्चा कमाएको थियो।

साउदी अरबमा ८ वर्ष बिताउँदा विजयले आधा दर्जन जति गीत रेकर्ड गर्नसके।

पछिल्लो समय चर्चामा रहेको उनको ‘मुना–मदन’ गीत हो।

गोबिन्द पौडेलले गाएको तथा श्रीकृष्ण घर्तिमिरे र सारिका केसीले अभिनय गरेकाे ‘मुना–मदन’ले राम्रो सफलता हासिल गर्‍यो। त्यसैले त विजय भन्छन्, ‘मुना–मदन गीत मेरो लागि टर्निङ पोइन्ट बन्यो। यो गीतको सफलताले मलाई एउटा परीक्षाबाट उत्तीर्ण भएको महसुस भएको छ।’

परदेशको व्यस्त जीवनका बाबजुद विजयले धेरै गीत लेखेका छन। उनी धेरै जस्तो काम गर्दा गर्दै गीतहरु सिर्जना गर्ने गर्छन। ‘एकान्तमा बस्दा बरु मेरो दिमागमा त्यस्ता कुराहरु नआएको हो कि जस्तो मलाई भान हुन्छ। मैले जति काम गरिरहेका हुन्छु त्योबेला दिमाग गीत संगीतमा हात र समय काममा दिइरहेको हुन्थेँ। त्यही गर्दागर्दै फुर्सद मिल्दा गीत डायरीमा वा मोबाइलमा राख्ने गर्थेँ।’

विदेशमा यसै पनि लामो समय ‘ड्युटी’ गर्नु पर्थ्याे। त्यसमाथि अनेकौँ देशका फरक–फरक स्वभावका मानिससँग उठ/बस गर्नुपर्ने, गीत लेख्न र गाउन सहज वातावरण हुँदैन थियो। तर, पनि विजयले आफ्नो रहरलाई मारेनन्।

दिउँसोमा काम गर्दागर्दै छेउतिर गएर गाउन होस् वा राति सबैजना सुतेपछि होस् विजयले गीत लेख्न छाडेनन्।

माथि प्रस्तुत ‘जान्छु परदेश’ बोलको गीत पनि विजयले यसैगरी लेखेका हुन्।

अहिले विजय वैदेशिक रोजगारीकै सिलसिलामा परदेशमा छन्। उनको घरदेश–परदेश यात्रा चलिरहने छ। र, सँग–सँगै कलाकारिताको यात्रा पनि।

र त भन्छन्, ‘जीवन चल्दासम्म गीत लेखिरहनेछु, गाइरहनेछु।’

भिडियो: 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?