बिएल संवाददाता
काठमाडौं
विगत १ हप्तादेखि काठमाडौंको रातोपुलमा बन्धक बनाइएका उनी घरी टोलाउँछन् त घरी घरको यादमा आशुँ बगाउँछन्। भूपेन्द्रलाई उक्त दिनहरू अझैपनि कहालिलाग्दो जस्तै लाग्छन्। र त छिट्टै भुलाउन चाहान्छन्।
०००
भारतको पञ्जाबबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका भुपेन्द्र सिंह ओर्लिनासाथ केही युवाहरूले एउटा गाडीमा राखे र काठमाडौँको रातो पुलको एउटा घरमा पुर्याए।
त्यो घरभित्र छिरिसक्दा पनि उनलाई लागिरहेको थियो, अर्को दिन ‘अमेरिका’ उड्न पाइन्छ। तर त्यो बेला उनी खङ्ग्रङ्गै भए जब उनले घरभरिका कोठाहरूमा कैयौँ मानिस भुँइमा पल्टिरहेको र निन्याउरो अनुहार लगाएर उनलाई नै हेरिरहेको देखे।
भारतमा उनलाई भनिएको थियो- ‘काठमाडौँबाट कतार हुँदै मेक्सिको जाने र त्यहाँबाट सिधै अमेरिका…’ अरुजस्तै अमेरिका पुग्ने सपना लिएर काठमाडौँ उडेका भुपेन्द्र त्यसपछिका करिब सात दिनजति चार भित्ताभित्रै ‘एजेन्ट’हरूको पिटाई खाँदै बिताए।
बुधबार बेलुकातिर रातो पुलको त्यो घरबाट प्रहरीले उनीजस्तै अरु ११ जना भारतीय नागरिकलाई पनि उद्धार गरेको छ। र उनीहरूलाई बन्धक बनाउने एकजना नेपालीसहित नौजनालाई पक्राउ पनि गरेको छ।
तस्बिर: नेपालमा पक्राउ परेका दलालहरू
रातो र सेतु पुलको बीचमा एउटा सिङ्गै घर भाडामा लिएर उनीहरूलाई महिनौंदेखि बन्धक बनाइएको थियो। स्थानीयले त्यो घरभित्र केही शंकास्पद गतिविधि भइरहेको आशंका गरेर प्रहरीलाई खबर गरेका थिए र प्रहरीले त्यो घरलाई निगरानीमा राखिरहेको थियो।
त्यसका लागि प्रहरीले ‘अपरेशन डङ्की’ सुरु गरेको थियो। अमेरिका पठाउने भन्दै नेपाल ल्याइएका भुपेन्द्रहरूसँग गिरोहले ४० लाख भारतीय रुपैयाँ असुलेका थिए। केहीको पैसा बाँकी रहेको भन्दै उनीहरूलाई घरभित्रै थुनेर यातना दिने र पैसा माग्ने गरिन्थ्यो।
‘अमेरिका जानलाई नेपाल आएको थिएँ, तर यहीँ बन्धक भएँ, कसलाई थाहा थियो र यस्तो गर्ला भन्ने?’ आफ्नै भाषामा उनी भन्छन् ‘ममात्रै होइन अरु पनि त्यस्ता धेरै साथीहरूलाई अमेरिका पठाउने भन्दै पैसा असुलेर थुनेका रहेछन्।’
बन्धक बनाइएकाहरूलाई न कतै जान अनुमति नै थियो त न केही गर्न नै। बस चार कोठाको दिवार नै उनीहरूको सबैथोक थियो। जबजब घरपरिवारको याद आउँथे भूपेन्द्र कोठाको दिवारलाई हेर्दो मनमनै भगवान् पुकार्थे। अनि मन बुझाउँथे।
पहिलो पटक नेपाल आएका उनलाई अमेरिका उड्नु अघि राम्रोसँग काठमाडौँ नियाल्नु मन थियो तर कोठाका दिवार उनको लागि बाधक बन्यो। त्यसैले झ्यालबाट भएपनि काठमाडौँ नियाल्ने विचार गरे।
‘एक दिन एजेन्टहरू नभएको बेला झ्यालबाट हेर्दै थिएँ, एजेन्टले देखेर पाइपले कुटिहाल्यो’, उनले भने, ‘त्यसपछि कहिल्यै त्यस्तो गर्ने हिम्मत आएन।’
कक्षा १२ को परीक्षा सकाएर भूपेन्द्रले कामको खोजी नगरेका पनि होइनन्। धेरै ठाउँमा कामसमेत गरे। तर, काम अनुसारको मुल्य भने पाएनन्। त्यसकारण दलालको फन्दामा सजिलै परे।
तस्बिर: भारतबाट नेपाल पठाउने दलाल/ बलजित कौर
भूपेन्द्रले पञ्जाबबाट आउँदा तीन हजार अमेरिकी डलर साथैमा लिएर आएका थिए। बोर्डिङ पासका लागि। तर उक्त पैसासमेत एजेन्टले खोसिदियो। त्यसपछि मात्रै भूपेन्द्रले आफू बन्धक भएको चाल पाए।
‘अनिवार्य रुपमा तीन हजार अमेरिकी डलर बोक्नुपर्ने नियम थियो, त्यसैले उताँबाट आउँदा आफ्नो खर्चबाहेक तीन हजार डलर ल्याएको थिएँ। यहाँ आएपछि त्यो पनि सबै एजेन्टले लिइदियो। त्यसपछि मात्रै बन्धक भएको थाहा भयो’ उनले भने।
उनी एजेन्ट बेलाबेलमा उनीहरूलाई राखिएको कोठामा आउने र घाँटीमा चक्कु तेर्साएर घरमा पैसा माग्न लगाउने गरेको बताउँछन्।
‘हामीसँग भएको पैसा त लिगिसकेको थियो नै त्यसमाथि म सुरक्षित छु भन्दै घरमा फोन गर्न लगाउँथे’, उनले भने,‘यदि भनेन भने घाटीँमा चक्कु राख्दै पाइपले पिट्ने अनि मारेर फालिदिन्छु भन्थो’ भूपेनद्रले बिएल नेपाली सेवासँग भने।
भूपेन्द्र त्यहाँ रहँदा एजेन्टले राम्रोसँग खानसमेत नदिएको बताउँछन्।
‘जुन दिनदेखि हामी त्यहाँ पुग्यौँ खानसमेत राम्रोसँग पाएको छैन। दिनको दुईपटक मात्रै खान दिन्थो। बस सास धान्नलाई मात्रै दिएजस्तो गर्थे’ उनले भने।
यस्तै एकदिन एजेन्टले आफूसँगै भएको साथीलाई मेक्सिको पुगेको देखाउन हरियो पर्दा, त्यहाँको समय जनाउने घडी, नक्कली हवाइ टिकट र बोर्डिङ पासहरू देखाएर परिवारसँग कुरा गर्न लगायो, भूपेन्द्रले उनीसँग कोड भाषामा कुरा गर्न खोजे एजेन्टले थाहा पाइहाल्यो, त्यसपछि उनले फेरि एजेन्टको पाइपको भेटे।
भारतीयलाई नेपाल ल्याएर बन्धक बनाउने गिरोहलाई प्रहरीले प्रकाउ गरेर सार्वजनिक गरिसकेको छ। र मानव बेचबिखन तथा ओसारपसार र अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गरिरहेको छ।
पीडितहरूलाई भने भारतीय दूतावासको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
के भन्छ प्रहरी?