बिएल संवाददाता
काठमाडाैँ
उपचार पद्धतिमा मेडिकल साइन्सभन्दा धेरै अगाडिदेखि नै अस्तित्वमा थिए, झाँक्रीहरू। उनीहरुमा कस्ताे राेग लागे कुन जडिबुटीकाे प्रयोग गर्ने भन्ने राम्राे ज्ञान रहेकाे पाइन्छ। उनीहरुले मनोवैज्ञानिक रुपमा पनि विरामीको उपचार गर्थे। झाँक्रीहरु समाजका रीतिरिवाज, धर्म, संस्कृति, परम्पराजस्ता कुरामा समेत जोडिएका हुन्छन्। उनीहरुसँग समाजको सम्बन्ध अतिनै जटिल रहेको हुन्छ।
झाँक्रीहरुले भौतिक संसार र आत्माको संसारलाई समेत अनुभूति गर्छन्, भन्ने विश्वास गरिन्छ। उनीहरु भविष्यवाणी पनि गर्न सक्छन्। वास्तवमा झाँक्रीहरु भूतआत्मा र भौतिक आत्मा (शरीर) बिचका सम्झौताकर्ता हुन्। उनीहरुले दुबै पक्षलाई आफ्नो बसमा पार्न सक्छन्। झाँक्रीहरुले विगत र भविष्य नियाल्न सक्ने विश्वास गरिन्छ।
कुनै व्यक्ति झाँक्री बन्नका लागि उसले विशेषज्ञ झाँक्रीसँग सिक्नुपर्ने हुन्छ। तर, यसका लागि ऊभित्र झाँक्रीमा हुनुपर्ने गुणहरु हुनुपर्छ, जुन जन्मजात रुपमा आउँछ। कुनै पनि व्यक्ति विशेष परिस्थितिबाट झाँक्री बनेका हुन्छन्। त्यस्तै एउटा विशेष परिस्थितिमा झाँक्री बन्न पुगेकी एक महिला हुन्, दिलपुरी घर्ती (पुन) ४२ वर्ष।
उनी रुकुम (पूर्व) भूमे गाउँपालिका– ०१ लुगुम गाउँकी स्थानीय हुन्। उनी यहाँ भएका एक सय बढी झाँक्रीहरूमध्ये सबैभन्दा कान्छी हुन्।
बाल्यकालमा बुबाको साथमा कहिले खर्क कहिले भेडीगोठ गरेर हुर्केकी उनलाई अरूले कलम कापी बोकेर स्कुल हिँडेको साह्रै मन पर्थ्यो। उनलाई पनि स्कुल जाने रहर थियो तर उनकाे पढ्ने रहर रहरमै रह्यो। गाई बाख्रा चराउँदैमा ठिक्क थियाे। ‘मैले पढ्न पाइनँ, बुबाले झाँक्रीका विधा तन्त्र/मन्त्र जडिबुटीका बारेमा सिकाउँदा मलाई रिस उठ्थ्यो। बाबालाई गाली गर्थेँ, मलाई यो कुराहरु नसिकाउनु, म स्कुल जान्छु भनेर तर त्याे सम्भव भएन,’ आफ्नाे बाल्यकाल सुनाउँदै दिलपुरी भक्कानिन्छिन्।
बाल्यकालमा झाँक्रीकाे लक्षण नभएकी उनीलाई झाँक्री बन्छु भन्ने कल्पना पनि थिएन। तर, उनका बुबा खर्क घर्ती गाउकै सबैभन्दा ठुला (विज्ञ) झाँक्री थिए। सानैबाट धेरै बिरामी परिरहने उनी उपचारका लागि कयौँ अस्पताल चहारिन् तर उनको रोग ठिक भएन। उनको भाग्य रेखामा उनी एकदिन झाँक्री हुनुपर्ने तर उनी झाँक्री हुनुपूर्व नै बुबाको मृत्यु निश्चित थियो। तर, यो कुरा उनको बुबाले उनलाई कहिले पनि भनेनन्।
साउनको महिना थियो, टाउको दुख्ने राेग लागेपछि उनी काठमाडौँ लागिन्। काठमाडौँ न्युरो अस्पतालमा सिटीस्क्यान पनि गरियाे। तर, सिटीस्क्यानमा कुनै समस्या देखिएन। गाउँबाट बाबाको फोन आयो,‘छोरी तिमिलाई सिटीस्क्यान जे उपचार गरे पनि सञ्चाे हुँदैन, तिमी झाँक्री भएपछि मात्रै ठिक हुन्छ। म पनि बुढो हुँदै गएँ, म मर्छु अनि तिमी झाँक्री हुन्छौ।’ तर, अझै पनि उनलाई विश्वास बाबाकाे कुरामा विश्वास लागेकाे थिएन।
तर, त्यसको केही दिनमै बुबाको मृत्युको खबर सुन्नु पर्याे। त्याे मृत्युकाे खबरले उनी विक्षिप्त बनिन्। हतारिँदै गाउँको यात्रामा तय गरिन् तर त्रिशुलीको पहिरोले यात्रा ४ दिन राेकियाे। साउनको महिना बाटोहरु सबै पहिरोले रोकिएपछि उनलाई घर पुग्न पाँच दिन लाग्यो। उनले बुबाको मुख हेर्न पाइनन। उनी घर पुग्दा बुबाको अन्तिम् संस्कार गरिसकिएकाे थियाे।
बुबाको मृत्यु पश्चात् उनले गाउँकै झाँक्री झोदे पुनसँग हेराइन्। उनको भाग्यमा १५/१६ वर्षको उमेरमै झाँक्री बन्न (उत्खरिने) लेखेको रहेछ। तर, उनको बुबाले त्यतिबेला त्यो समय तारिदिनुभएको रहेछ। किनकी उनको झाँक्री बन्नु र बुबाको मृत्यु सँगै हुने लेखा थियो। उनको लेखामै झाँक्री बन्नुपर्ने भाग्य लेखिसकेको र बिरामीबाट मुक्त हुनलाई पनि झाँक्री बन्नुपर्ने कुरा थाहा भयो। त्यसपछि उनका गुरु झोदे पुन र बलमान झाँक्रीले उनलाई झाँक्री ज्ञान दिएर झाँक्री बनाए।
बुबा बितेको ६ महिनापछि उनी झाँक्री बनिन्। बिस्तारै उनको रोग निको हुँदै गयो। बिमारले थलिएको दुब्लो शरीर बिस्तारै मोटाउँदै गयो। आधा जीवन बिरामी पिडामा बिताएकी उनको शरीर सञ्चाे हुँदै गयो। दु:ख पीडा बिर्साएर उनको मुहारमा मुस्कान भरिँदैछ। एउटा सामान्य मान्छेबाट उनको जीवन झाँक्री जीवनमा लम्किँदै छ। गुरु अग्रज झाँक्रीहरुको विधा सीप सिँक्दै अगाडि बढ्दै छिन।