बिएल संवाददाता
राेल्पा
जलजलासँग जोडिएका अनेक किस्सा र कहानीहरू छन्। ती धार्मिक छन्। कति ऐतिहासिक छन्। कति राजनीतिक अनि सामाजिक मनोविज्ञानमा निर्मित भाष्यहरू जलजलासँग गाँसिएका छन्। गीत, संगीत छन्। अनि जलजलाका धेरै धुनहरू पनि छन्।
कुनै बेला माओवादी युद्धको बिम्ब बनेको जलजला रोल्पामा पर्छ। धर्म अनि कर्मकाण्डका किस्साहरू पनि गाँसिने यो जलजला आफैमा प्रकृतीको एक सुन्दर बरदान हो। जहाँ अहिले आन्तरिक पर्यटकहरूले भरिएको हुन्छ। मानव वस्तीदेखि अलग्गै प्रकृतीको काखमा मुस्कुराइरहने ‘जलजला’को दर्शन गर्न यसपालि हामी पनि पुग्यौं।
मनसुनको समय। बादल अनि वर्षाको लुकामारी चलिरहेको यो ऋतृमा जलजलाको सुन्दरता अझ बिछट्टै हुन्छ। मनसुनमा रुझेर झन् उजेलिएको जलजला हेर्न हामी पनि केही समयअघि त्यहाँ पुगेका थियौं।
झरी फाटेपछि चुलबुल कुहिरोको पछ्यौरी ओढेका जंगल अनि पहाडहरू छिचोल्दा जुकाले आज ज्यान रगताम्य पारिसकेको थियो। तर जलजलाको तिर्सना अनि यात्रामा साथी भाईका रसिला गफहरूले यात्राका ति सारा थकान क्षणमै हराउँथे। सँगै टाकुराबाट देखिने सेताम्य हिमालले ज्यान त्यसै त्यसै शितल हुन्छ।
धुपी सल्लाका घना जंगल बीचको खर्कबाङमा एउटा प्रतीक्षालय छ। हामी त्यहीँ बसेर ‘अर्नी’ खायौं। गाउँबाट हिँडेको दुईघण्टा भइसकेको थियो। बाटैमा भेटिएका गोठालाहरूको साथले हाम्रो यात्रालाई अझ रोमाञ्चक पनि बनायो। त्यसपछिका पाँचघण्टापछि मात्रै हामीले जलजलालाई भेट्न सक्थ्यौं। यात्रामा हामी पूर्णबहादुर बुढामगर, राजन बुढामगर, रसमन बुढामगर र सुशील बुढामगर थियौं।
उकालो, ओरालो। पाखा अनि भिराला बाटाहरू हुँदै हामी पाटनका बुकी अंगाल्दै अघि बढिरह्यौं। बाटामा अरु यात्रीहरू पनि भेटिए। हाँस्दै रमाउँदै हिँड्दाहिँड्दै कतिबेला धरमपानीको चुचुरोमा पुगिएछ पत्तै भएन। यो रोल्पा जिल्लाको सबैभन्दा अग्लो ठाउँ हो।
दश वर्षे जनयुद्धको सम्झनामा यहाँ ‘सिस्ने जलजला स्तम्भ’ (सिज) बनिरहो छ। यो समुद्र सतहदेखि करिब ३ हजार ५४० मिटर उचाइमा छ।
पारि क्षितितमा सेताम्ये सिस्ने हिमाल, अन्नपूर्ण, धौलागिरी, माछापुच्छ्रे अनि पाथिभराका हिमश्रृङ्खलाहरूले जलजलाको निकटताको आभाष गराउँछन्। अलिबेरपछि भेटिने नारायणढोकाबाट देखिने थवाङका सुन्दर दृश्यहरू माथिबाट नियाल्दै हामी जलजलाको आँगन टेक्न आतुर भइरहेका थियौं।
ढकमक्क घाँसहरूमा लतमन्न मुस्कुराइरहेको जलजलामा एउटा गुफा पनि छ। यसलाई भामा गुफा पनि भनिन्छ। किंबदन्तीअनुसार यसका कहानीहरू कहालिलाग्दा छन्। यही गुफामा १२ भाई बराह र २२ बहिनी बज्यू बराह उत्पत्ति भएको मान्यताहरू छन्। जलजलाको बीचमा एउटा मन्दिर छ। यही गुफाबाट छुट्टिएर ठाउँ-ठाउँमा राज गरेर बसिरहेका सतदेव बराह, कैलु बराह, बजु बराह र रानिबजु जस्ता मन्दिरहरूमा गएर पुजा गर्नाले आफुले चाहेको र सोचेको कुरा पाइन्छ भन्ने जनविश्वास पनि छ। हामीले पनि साउन कृष्णऔंशीका दिन पारेर मन्दिरमा फूल चढायौं।
करिब साढे ५ मिटर गहिरो यो गुफामा छिर्दा मुटु नै ढुकढुक गरिरहेको हुन्छ। गुफाको माथिबाट तपतप् चुहिने पानीका थोपाहरूले शरिर नै सिरिङ्ग बनाउँछ। छेउँछाउमा अविरल झरनाहरूले जलजलाको सुन्दरतामा अझ उज्यालो थपेका छन्।
मानवनिर्मित भ्यूटावरको अन्तिम उचाइबाट जलजलाको सुन्दरता ‘ड्रोन भ्यू’मा देख्न पाइन्छ। यात्राका अनुभवहरू अझ धेरै छन्। यी याद र ती मिठा पलका स्मरणहरू किस्ता-किस्तामा…
मीठो सम्झना, प्रिय जलजला…!