आइतबार, १७ नोभेम्बर २०२४

एकेडेमीका खेलाडी लिएर मैत्रीपूर्ण फुटबल खेल्न भारत जाँदै जुम्लाको योङ स्टार

News Image
• • •

जुम्लाको योङ्ग स्टार फुटबल क्लब भारतको उत्कृष्ट फुटबल एकेडेमीसँग मैत्रीपूर्ण खेल खेल्नका लागि भारत जाने भएको छ।

क्लबले पोखरामा रहेको शिशु निकेतन सेकेन्डरी स्कुल खेलकुद विकाससँग सहकार्य गरेर नयाँ पुस्तालाई खेल क्षेत्रमा उत्साहित गराइरहेको छ।

जुम्ला जिल्ला लिग विजेता (राईको) योङ्ग स्टार फुटबल क्लबले पोखरामा नयाँ खेलाडी उत्पादन गर्ने योजनालाई प्राथमिकता दिएको छ।

नेपाली फुटबल विकासमा टेवा पुर्‍याउने उदेश्यले योङ्ग स्टार ग्रासरुट फुटबलमा लागिरहेकाे क्लबका अध्यक्ष मदन बुढथापाले बताए।

'पोखरामा क्लबले विगत दुई वर्षदेखि शिशु निकेतन स्कुलमा फुटबल एकेडेमी सञ्चालन गरिरहेको छ,' उनले भने, 'त्याे हाम्रो ग्रासरुटको सफलताले फेरि योङ्ग स्टारलाई अर्को महत्त्वपूर्ण मौका मिलेको छ। यसलाई हामीले अवसरको रुपमा लिएका छौँ।'

उनका अनुसार योङ्ग स्टार फुटबल क्लब र शिशु निकेतन सेकेन्डरी स्कुलले १० वर्षको सम्झौता गरेका छन्। स्कुलको खेलकुद थप उचाइमा पुर्‍याउन उक्त सम्झौता गरिएको हो।

शिशु निकेतन सेकेन्डरी स्कुल शिक्षा क्षेत्रमा गण्डकी प्रदेशको उत्कृष्ट विद्यालय रहेको प्रधानाध्यापक नरेन थापाले बताए।

'हामीले जुम्ला जिल्लाको लिग विजेता योङ्ग स्टार फुटबल क्लबलाई विश्वास गरेर विद्यालयले सम्झौता गरेका छौँ,' उनले भने, 'एकेडेमी सुरु भएको दुई वर्षमा क्लबले राम्रो काम गरिरहेको छ। हामी एकदम विश्वस्त छौँ, चाँडै नै थप सफलता मिल्नेछ।'

विद्यालयका खेलाडीलाई स्वस्थ रहन मात्रै होइन, उनीहरूको व्यक्तिगत जीवन पनि केही फरक होस्। शिक्षा  र खेलकुद दुबै क्षेत्रमा फाइदा हुने गरी सोचिरहेको प्रधानाध्यापक थापाको भनाइ छ।

'अब झन् सशक्त रूपमा फुटबल विकासमा लाग्नेछौँ,' उनले थपे, 'यसैको उपलब्धि हो भारतमा मैत्रीपूर्ण फुटबल खेल्ने मौका जुरेको।'

क्लबले जनावरी १३ मा पोखराबाट भारतको यात्रा गर्नेछ। योङ्ग स्टार फुटबल एकेडेमीले भारतको प्रतिष्ठित फुटबल क्लब अल्टिअस अन्तर्राष्ट्रिय फुटबल एकेडेमीसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने क्लबका अध्यक्ष बुढथापाले बताए।

'हामीले जित्नभन्दा पनि त्यहाँबाट खेलकुदको विकास, भौतिक संरचनालगायत विभिन्न किसिमका गतिविधि सिकेर आउनेछौँ,' उनले भने, 'जसले पछि क्लब र विद्यालय तथा खेलाडीलाई भविष्यको तयारीका लागि फाइदा हुनेछ।'

उनका अनुसार यो क्लबको पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो। यसले क्लब, क्लबसँग सहकार्य गरिरहेको विद्यालय र खेलाडीलाई हौसला प्रदान गरेको छ। यसले स्कुलको खेलकुदको विकास गर्ने जिम्मेवारी लिएको क्लबका सामु थप चुनौती थपेको छ।

'हामी हरेक चुनौती सामना गर्न तयार छौँ। हाम्रा सम्पूर्ण खेलाडीका अभिभावकहरु सकारात्मक सोच राख्नुहुन्छ,' अध्यक्ष बुढथापाले भने, 'अभिभावकले हामीलाई जुन खालको विश्वास गर्नुभयो, त्यसलाई म सदैव उच्च सम्मान गर्छु।'

क्लबको पहिलो अन्तर्राष्ट्रिय भ्रमण भएकोले टिमका सम्पूर्ण खेलाडी र अफिसियलहरूको ताम्रापत्रमा नाम राख्ने क्लबका म्यानेजर रबिन्द्र शाहीले बताए। उनले भने, 'यो हाम्रो पहिलो अन्तर्राष्ट्रिय भ्रमण सुरुवात भएको हो। अब हाम्रा खेलाडीहरु डेनमार्क र भुटान पनि जाँदैछन्।'

डेनमार्कको प्रतिष्ठित दाना कप फुटबल प्रतियोगितामा सहभागिताका लागि दूतावासमा भिसाको लागि फाइल गइसकेको क्लबका संरक्षक अजय बुढथापाले बताए। उनले भने, 'क्लबले हाल चार वटा फुटबल एकेडेमी, एउटा मार्सल-आर्ट एकेडेमी र योङ्ग स्टार मल्टी एग्रो फार्म सञ्चालन गरिरहेको छ।'

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?