बिएल संवाददाता
काठमाडौं
‘तेक्वान्दोन्दो नै छोड्छु होला। न यसमा भविष्य छ, न कुनै आम्दानी’ तेक्वान्दो खेलाडी सागर गुभाजुको मनमा केही वर्ष अगाडि आएको सोचाइ हो यो।
तेक्वान्दोमा नै सुन्दर भविष्य देखेका उनलाई बीचमा केही डर उत्पन्न भएर खेलदेखि नै टाढा भए। तर, अहिले यही खेलबाट नै भविष्य खोज्ने उनको योजना छ।
नेपाली तेक्वान्दोमा लागि धेरै मेडल जितेका उनको अबको लक्ष्य भनेको आफू जस्तै खेलाडी उत्पादन गर्नु हो। त्यसका लागि अहिले उनी एउटा सुन्दर योजना कोर्दै छन्।
‘खेलाडी हुँदा मैले देशका लागि धेरै मेडल जितेको छु। धेरै प्रतियोगिता जितेको छु। यो अनुभवलाई म खेर जान दिने छैन। मेरो सबै अनुभव लगानी गरेर जति सक्यो धेरै खेलाडी उत्पादन गर्ने छु,’ सगरले भने।
सागर अहिले अमेरिकामा तेक्वान्दो एकेडेमी खोल्ने योजनामा छन्। आफू तेक्वान्दोमै रमाउने योजना बुनेका उनी नेपाली खेलाडीलाई पनि सहयोग गर्ने बताउँछन्। सानैदेखि आफूले गरेको दुख र नेपाली खेलकुदमा खेलाडीले गर्नुपर्ने मेहनतको बारेमा राम्रो जानकार छन्।
‘मेरो खेल जीवनमा जति दु:ख गर्नु परेकाको थियो, अब आउने खेलाडीलाई त्यो दु:ख गर्न नपरोस् भन्ने मेरो चाहना हो। मैले केही खेलाडीलाई मात्र सहयोग गरेर देशले पदक जित्छ भने मेरो लागि ठूलो कुरा हुनेछ,’ सागरले भन्छन्।
हाल अमेरिकामा बस्ने सागर अहिले नेपाल आएर तेक्वान्दोमा रहेका आफ्ना साथीहरूसँग भेटमा व्यस्त छन्। जुनियर खेलाडीलाई आफ्नो अनुभव र संघर्षका पाटाहरु साट्दै छन्। न साटुन् पनि कसरी? जुन संघर्षले उनलाई आज सफल बनाएको छ। त्यही सफलताको कथाले कुनै एक खेलाडीको आत्मबल बलियो बन्यो भने देशले सफलता पाउने नै हो। अझ सागरको देशले अवसर दिएमा केही गर्ने योजना पनि त छ।
‘मैले नेपालमा धेरै खेलाडीले दिनरात मेहनत गरेको देखेको छु। उनीहरुले राज्यबाट जुन सेवा सुविधा राम्रो नपाएर पदक दिलाउँछन्, सायदै कमै देशमा यस्तो हुन्छ। मेरो कुराले कुनै खेलाडीको जीवनमा हौसला आउँछ भने मेरो अनुभव सुनाउन केही नराम्रो लाग्दैन। उसै पनि मेरो चाहना देशले मौका दिएमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने भन्ने छ,’ उनी भन्छन्।
सागर सानैदेखि तेक्वान्दोको माहोलमा हुर्केका हुन्। उनका बुबा पनि तेक्वान्दो खेलाडी थिए। सानोमा उनलाई तेक्वान्दो खेल्ने हौसला बुवाबाट नै मिलेको थियो। तर, बुवाको भने खासै छोरा खेलकुदमा लागोस् भन्ने चाहना थिएन। किनकी नेपाली खेलकुदको भविष्यदेखि उनी राम्रो जानकार थिए।
‘उसो त कुन बुवाको चाहना हुन्न आफू लागेको खेलकुदमा छाेराको रुचि होस् भन्ने। मेरो बुवाको पनि थियो होला तर, उहाँले बाहिर देखाउनु भएन। किनकी उहाँलाई थाहा थियो खेलकुदमा लागेर भविष्य छैन भन्ने। पछि केही प्रतियोगिताको जित-हारको कथाले नै उहाँको साथ पनि पाएँ। बुवा नै हो मेरो सफलताको मुख्य पात्र,’ सागरले भने।
सागरले राष्ट्रियस्तरका प्रतियोगिताहरुमा १२ स्वर्ण र ३ कास्य पदक जितेका छन्। उनले नेपालमा रहँदासम्म १६ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए। जसमा उनले ३ स्वर्ण, २ रजत र १ कास्य पदक जितेका छन्।
सागरले सातौँ राष्ट्रिय खेलकुदमा आर्मी क्लबका लागि स्वर्ण पदक जित्दा राष्ट्रियस्तरको सबभन्दा ठूलो पदक उनको नाममा राह्यो। १८औँ एसियाडअन्तर्गत तेक्वान्दोमा अन्तिम १६ मा पुग्नु पनि सगरका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा पाएको ठुलो सफलता थियो।
‘मैले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गरेँ। जसमा केही सफलता मिल्यो भने केहीमा सिक्ने अवसर। तर, समग्र रुपमा आफूलाई अब्बल खेलाडी सवित गर्ने मौका मैले पाएँ,’ सगरले भने।