बिएल संवाददाता
जुम्ला
जुम्लामा चार दिनसम्म चलेको १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगितामा २० स्वर्ण जित्दै हिमा गाउँपालिका प्रथम भएको छ। प्रतियोगितामा जुम्लाका आठ पालिका मध्ये पातारासी र गुठिचौर गाउँपालिका बाहेक ६ पालिका सहभागी थिए।
सहभागी पालिका मध्ये हिमा गाउँपालिकाले सञ्चालित विभिन्न विद्याका खेलमा २० वटा स्वर्ण पदक जितेर प्रथम स्थान हासिल गरेको हो। जसमा हिमाले कराते तर्फ १२ वटा, १५ सय मिटर दौडमा छात्रा/छात्र तर्फ २ वटा, ३ हजार मिटर दौड छात्रतर्फ १ वटा, हाईजम्प, लम्जम्प र त्रिपलम्जम्प तर्फ १/१ सहित जम्मा २० वटा स्वर्ण पदक जितेको हिमा गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमख दन्तराज रावतले बताए।
उनका अनुसार हिमाले १५ सय मिटर दौडमा छात्रा/छात्रा तर्फ गरी २ वटा, त्रिपलम्जम २ वटा, ज्याब्लिङ थ्रोमा १ गरी जम्मा ८ रजत पद हासिल गरेको छ भने विभिन्न खेलमा ६ वटा काँस्य पदक जितेको छ।
विभिन्न विद्याका खेलमा उत्कृष्ट प्रर्दशन गर्दै हिमा प्रथम भएपछि हर्षउल्लासका साथ बाजागाजा गरेर खेलाडीलाई पालिकामा स्वागत गरिएको छ। चन्दननाथ नगरपालिकाको असहमतीकै बीच आयोजकले हिमालाई प्रथम घोषणा गरेको हो।
त्यस्तै आयोजकका अनुसार समग्र प्रतियोगिताको दद्वितीय चन्दननाथ नगरपालिका भएको छ। चन्दननाथले १२ वटा स्वर्ण पदक सहित दोस्रो स्थानमा भएको आयोजकले जनाएको छ। यदपी, तेकान्दो र उस्सु तर्फको खेलमा आयोजकले नम्बर नदिने निर्णय गरेपछि चन्दननाथ नगरपालिकाले अन्य पुरस्कार समेत लिन मानेन। चन्दननाथ छात्रतर्फको भलिबलमा उपविजेता बनेको छ। चन्दननाथले अन्य कुनकुन विद्यामा (स्वर्ण,कास्य र रजत)पदक ल्याएको भन्ने बारे एकिन विवरण आएको छैन।
उता सिञ्जा गाउँपालिका २ वटा स्वर्ण पदक सहित तेस्रो भएको छ। सिञ्जाले लम्जम्प छात्रा तर्फ १ वटा, दुई सय मिटर दौड छात्रा तर्फ १ वटा गरी दुई वटा स्वर्ण पदक जितेको सिञ्जा गाउँपालिका खेल प्रशिक्षक शक्तिसिंह खत्रीले बताए।
साथै सिंजाले २ सय दुई मिटर दौड छात्र तर्फ १ वटा,एक सय मिटर दौड छात्रा तर्फ १, त्रिपलम्जम्प छात्रा तर्फ १ गरी जम्मा ३ वटा रजत र २ वटा हाँस्य पद सहित तेस्रो भएको हो। प्रतियोगितामा छात्रा भलिबलको बिजेता बनेको कनकासुन्दरी समग्र प्रतियोगिताको चौथो भएको छ। छात्र तर्फको भलिबल बिजेता बनेको तिला गाउँपालिका समग्र प्रतियोगितामा पाँचौ स्थानमा छ। तर आयोजक पालिकाले भने कुनै पनि पदक नजितेर अन्तिम स्थान रहेको छ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने पालिकाहरुले शिल्ट, प्रमाणपत्र, मेडल, लगायतका पुरस्कार पाएका छन्। विभिन्न चुनौतीका बीच १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरी शान्त र मर्यादित रुपमा सम्पन्न गर्न तातोपानी गाउँपालिका सफल भएको ६ नम्बर वडाका अध्यक्ष विशाल खड्काले बताए। यसैबीच आगामी वर्ष १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हिमा गाउँपालिकाले आयोजना गर्ने छ।