बिएल संवाददाता
काठमाडौं
खप्तड इन्डोर स्पोर्ट्स ट्रेनिंग सेन्टरलाई ६७ रनले पराजित गर्दै धनगढी स्पोर्ट्स क्लब लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को सेमिफाइनलमा प्रवेश गरेको छ।
बिहिबार फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको धनगढीले २० ओभरमा ५ विकेट गुमाउँदै १६३ रन बनाएको थियो। धनगढी स्पोर्ट्सको लागि ओपनर सुनिल धमलाले अर्धशतकीय योगदान दिए। उनले ५० बलमा ५ चौका र २ छक्का प्रहार गरेका थिए।
त्यस्तै,कप्तान भुवन कार्कीले ३६, प्रनित थापाले २६ तथा अमर सिंह रौटेलाले अविजित १२ रन योगदान दिए। धमलाले दोश्रो विकेटको लागि भुवन कार्कीसंग ८४ रनको तथा तेश्रो विकेटको लागि प्रनित थापासंग ५४ रनको साझेदारी गरेका थिए।
उता, खप्तड इन्डोर स्पोर्ट्सका रवी विष्ट र आर्यन बिस्टले २-२ विकेट तथा बिरेन्द्र बमले १ विकेट लिए।
धनगढीले दिएको १६४ रनको लक्ष्य पछ्याएको खप्तड इन्डोर ले १९.३ ओभरमा ९६ रन बनाउदा सबै विकेट गुमाउन पुग्यो। लक्ष्य पछ्याउने क्रममा ७९ रनमा १ विकेट गुमाएको अवस्थाबाट थप १७ रन जोड्दा खप्तड स्पोर्ट्सले सम्पूर्ण विकेट गुमाएको थियो।
खप्तड इन्डोर स्पोर्ट्सको ब्याटिंगमा अभिषेक थापाले सर्वाधिक ४२ रन तथा प्रकाश पाण्डेले ३० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा जोडन सकेनन्।
यता, धनगढीका लागि देब्रे हाते स्पिनर भुवन कार्कीले ८ विकेट लिए। ८ विकेट लिने क्रममा उनले ४ ओभरमा १८ रन खर्चिएका थिए। त्यस क्रममा कार्कीले इनिंग्सको पन्ध्रौँ ओभरमा ३ विकेट तथा सत्रौं ओभरमा ४ विकेट लिएका थिए।
कार्कीले तीन पटक लगातार २-२ विकेट लिएता पनि ह्याट्रिक विकेट भने पुरा गर्न सकेनन्। उनले तीन ब्याटरलाई बोल्ड आउट गरेल भने पाँच ब्याटरलाई क्याच आउट गराए। टिमका अर्का स्पिनर सुनिल धमलाले २ विकेट लिए।
यस अघि समुह ‘बि’ बाट युथ अफ टिकापुर, समुह ‘सी’ बाट घोडाघोडी क्रिकेट एकेडमी र समुह ‘डी’ बाट सत्यवती एकेडेमी सेमीफाइनल प्रवेश गरिसकेका छन्।
शुक्रबार प्रतियोगिताको दुईवटा सेमीफाइनल खेलहरु हुनेछन्। पहिलो सेमीफाइनल विहान ९ बजे धनगढी स्पोर्ट्स क्लब र घोडाघोडी क्रिकेट एकेडेमीबीच हुनेछ भने दिउँसो १ बजे सत्यवती एकेडेमी र युथ अफ टिकापुर प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल शनिवार हुनेछ।
लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो। प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ।