आइतबार, १७ नोभेम्बर २०२४

एनएसजेएफ पल्सर स्पाेर्ट्स अवार्ड आज प्रदान गरिँदै

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

२०औँ संस्करणकाे एनएसजेएफ पल्सर स्पाेर्ट्स अवार्ड आज प्रदान गरिँदैछ। नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ)ले काठमाडाैँकाे दरबारमार्गस्थित याक एण्ड यति हाेटलमा कार्यक्रम आयाेजना गरी खेलाडीहरुलाई अवार्ड प्रदान गर्न गर्दैछ।

यस वर्षकाे उत्कृष्ट युवा खेलाडीकाे लागि क्रिकेटका देव खनाल, एथलेटिक्सका राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ शीर्ष तीनकाे सूचीमा रहेका छन्।

देव खनालको कप्तानीमा नेपाल यू- १९ क्रिकेटमा ८ वर्षपछि छनोट भएको थियो। त्यस्तै उनकाे कप्तानीमा युएईलाई पराजित गरेर नेपाल एसियन कपमा छनोट भएको थियो।

एथेलेटिक्सकी राममाया बुढाले १६औँ एसियन क्रसकन्ट्री च्याम्पनसिपमा जुनियर व्यक्तिगत र टिम इभेन्टमा रजत पदक प्राप्त गरेकी थिइन्।

त्यस्तै बक्सिङकी सुष्मा तामाङले एएबिसी यु- २२ एसियन महिला तथा पुरुष बक्सिङ च्याम्पनसिपमा रजत पदक प्राप्त गरेकी थिइन्।

यस वर्षकाे वर्ष उत्कृष्ट प्रशिक्षका लागि यु- १९ पुरुष क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा, एथेलेटिक्सका चन्द्र गुरुङ र बक्सिङका दीपक महर्जन शीर्ष तीनमा परेका छन्।

एथेलेटिक्सका चन्द्र गुरुङ १६औँ एसियन क्रसकन्ट्री च्याम्पनसिपमा नेपाललाई २ स्वर्णसहित ऐतिहासिक पदक दिलाउने प्रशिक्षक हुन्।

क्रिकेटका टमाटा आइसिसी यु- १९ विश्वकप क्रिकेटमा नेपाललाई ८ वर्षपछि छनोट गराउने सफल प्रशिक्षक हुन्।

त्यस्तै बक्सिङका दीपक महर्जन एएबिसी यु- २२ एसियाली महिला तथा पुरुष च्याम्पनसिपमा १ रजत र ३ कांस्य पदक दिलाउने प्रशिक्षक हुन्।

बास्केटबलकी अनुषा मल्ल, एथेलेटिक्सकी पुष्पा भण्डारी र एथलेटिक्सकै राजपुरा पछाई वर्ष उत्कृष्ट महिला खेलाडीकाे शीर्ष तीनमा परेका छन्।

अनुषा मल्लले माल्दिभ्समा भएको साबा वुमेन्स च्याम्पनसिपमा रजत जितेकी थिइन्। एथेलेटिक्सकी पुष्पा भण्डारी बंगबन्धु शोख मुजिब ढाका म्याराथनमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी थिइन्।

त्यस्तै एथेलेटिक्सकी राजपुरा पछाई १६औँ एसियन क्रसकन्ट्री च्याम्पनसिप १० किमीमा रजत पदक जितेकी थिइन्।

यस वर्षकाे उत्कृष्ट पुरुष खेलाडीका लागि नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान राेहितकुमार पाैडेल र आशिफ शेख तथा एथेलेटिक्समा दीपक अधिकारी शीर्ष तीन सूचीमा रहेका छन्।

रोहित पौडेलको कप्तानीका नेपालले विश्वकप लिग २ को १२ मध्ये ११ खेल जितेकाे थियाे। त्यस्तै उनकै कप्तानीमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआइ)को मान्यता पाएको थियो।

त्यस्तै आशिफ शेख एकदिवसीय अन्तर्राष्ट्रियमा ७ अर्धशतक बनाउने खेलाडी हुन्।

एथेलेटिक्सका दीपक अधिकारीले नवौँ राष्ट्रिय खेलकुदमा पुरुष १० कि.मि.मा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका थिए।

त्यस्तै यस वर्ष पिपल्स च्वाइसको विधाका लागि फुटबलका अनन्त तामाङ, कराँतेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनाेनयनमा परेका छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?