बिएल संवाददाता
पोखरा
‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’ मा लिग चरणका आफ्ना दुबै खेलमा पराजित हुँदै गण्डकी प्रदेश भलिबल संघको महिला टोली प्रतियोगिताबाट बाहिरिएको छ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी तेस्राे दिनको पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबसँग ३–० काे सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।
डिफेन्डिङ च्याम्पियन एपिएफले पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पार्न सफल भयो भने दोस्राे सेट २५–०९ र तेस्राे सेट २५–१७ ले गुमाउन पुग्यो।
खेलमा यो जितसँगै एपिएफ ग्रुप बीबाट ५ अंकका साथ शीर्ष स्थानमा रहेको छ। एपिएफले आफ्ना दुबै खेल जितेको छ। एपिएफले नेपाल पुलिससँग ३–२ ले जितेको थियो। यता सोही समूहमा ४ अंकका साथ नेपाल पुलिस क्लब दोस्राे स्थानमा रहेको छ।
प्रतियोगिताअन्तर्गत बुधबार पनि लिग चरणका खेलहरु जारी रहनेछन्। खेल तालिकाअनुसार आजको दोस्राे खेलमा चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड क्लबले पाहुना टोली हरियाणा पुलिस क्लबको सामना गर्नेछ।
यस्तै पुरुषतर्फ नेपाल पुलिस क्लब र श्रीलंका आर्मी टिमका बीच तथा दोस्राे खेल हेल्प नेपाल स्पोर्टस क्लब र गण्डकी प्रदेश भलिबल संघका बीच हुने टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले जनाएका छन्।
लिग कम नक आउटका आधारमा जारी प्रतियोगिताको महिलातर्फ समूह ‘ए’ मा एपिएफ, गण्डकी र पुलिस रहेका छन्।
यस्तै समूह ‘बी’ मा त्रिभुवन आर्मी, चन्द्रगिरी नगरपालिका न्यू डायमण्ड र हरियाणा टिम भारत रहेका छन्। पुरुषतर्फको समूह ‘ए’ मा गण्डकी प्रदेश, त्रिभुवन आर्मी र हेल्प नेपाल स्पोर्टस क्लब तथा समूह ‘बी’ मा एपिएफ, नेपाल पुलिस र श्रीलंका आर्मी टिम रहेका छन्।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्राे हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन्।
उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५–१५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ।