बिएल संवाददाता
काठमाडौं
दुई-तीन सय वर्षअघि आजको ‘भक्तपुर’ कस्तो थियो होला? अनि त्योबेला बनेका घरहरू कस्ता थिए होलान्?
यो पुस्ताको कल्पनामा आउने केही ‘श्यामश्वेत’ तस्बिरहरूबाहेक त्यसको अर्को कुनै चित्र बिरलै भेटिन्छन् इतिहासका पानाहरूमा!
तर भक्तपुरको यो घर हेर्दा तीन सय वर्षअघिका केही झलकहरू देखिन्छन् अहिले पनि उस्तै ताजा, अवयवहरू अलिकति उस्तै उस्तै लाग्छन्, इन्द्रकाजी शिल्पकारका बखानहरूमा।
०००
पुरानो शैलीको छानो, बार्दली, पुरानै शैलीको झ्याल र ढोकाहरू। ठाउँ–ठाउँमा झुन्डाइएको ठड्यौरो र डाली। झट्ट हेर्दा शताब्दीअघि काठमाडौँको बस्तीहरूमा देखिने नेवारी शैलीमा बनाइएको घर।
उहिले जस्तो घरका कुना–कुनामा राखिएका पानीका घैँटा अनि आँगनमा बनाइएको ढुङ्गे धारा। जसले घरको मौलिक स्वरुपलाई दुरुस्तै देखाएको छ।
नेवारी शैलीमा बनाइएको त्यो घर (छेँ) २०० वर्ष पुरानो हो। जसको इतिहास कोट्याउँदै जाँदा भक्तपुरको ‘गेल्डेन गेट’सँग जोडिएको छ।
भक्तपुर दरबार स्क्वायरको केन्द्र हो, गोल्डेन गेट। दरबार स्क्वायर घुम्न आउने पर्यटकको आकर्षणको केन्द्र मात्र होइन, नेपाली वास्तुकलाको अनुपम नमुना पनि हो, गोल्डेन गेट।
तर हेर्दा साधारण देखिने त्यही गोल्डेन गेटको इतिहास भने तीन सय वर्ष पुरानो छ।
राजा जगतप्रकाशको पालामा सुरू भएको थियो, गोल्डेन गेटको इतिहास। उनको सपना थियो, ‘स्वर्णद्वार’ अर्थात् सुनको ढोका बनाउने। तर सुनको अभावको कारण उनको त्यो सपना पूरा हुनै सकेन।
त्यसपछि वि.स. १६७३ सालमा राजा जगतसँगै ढल्यो उनको गोल्डेन गेट बनाउने सपना।
तर राज्यलाई आकर्षक बनाउनका लागि देखिएको त्यो सपना ६ दशकपछि पूरा भयो। राजा रणजित मल्लको पालामा।
सन् १७३२ मा राजा मल्लले तिब्बतसँग सम्बन्ध गाँसे। त्यसपछि उनले दुई राज्यबीच सम्झौता गरे। भक्तपुरले मुद्रा बनाएर तिब्बतमा पठाउने अनि तिब्बतबाट भक्तपुरले मुद्राको सट्टामा सुन ल्याउने। तिब्बतबाट ल्याइएको सुनलाई भक्तपुरले जोहो गर्दै गयो।
त्यही सुनबाट वि.सं १७५४ मा ‘गोल्डेन गेट’ अर्थात् ‘स्वर्णद्वार’ बन्यो।
वर्षैदेखिको सपना पूरा भएपछि राजा रणजितले खुसी भएर ‘स्वर्णद्वार’ (गेल्डेन गेट) बनाउन गर्न श्रम दान गर्नेहरुलाई बक्सिसमा ‘गोल्डेन गेट’ को वरपरका केही जमिन दिए।
श्रमदान गरेवापत राजाले दिएको जमिनमध्ये एक स्थानीयले आफ्नो भागको जमिन इन्द्रकुमार शिल्पकारलाई बेचे। दुई सय वर्षअघि इन्द्रकुमारले त्यहीँ जमिनमा परम्परागत इँटा र काठका पुराना फ्रेमहरु प्रयोग गरी घर बनाए।
‘यो घर भएको ठाउँ पनि पहिले ‘गेल्डेन गेट’को जमिनको भाग थियो रे।’, घरधनी इन्द्रकाजी शिल्पकारले भने, ‘गेल्डेन गेट’ बनाउँदा धेरै मेहनत गरेको भएर राजा खुसी भएर उनीहरुलाई ‘गेट’ वरवरका जमिन दिनुभएको थियो। पछि बुबाको हजुरबुबाले उनीहरुबाट जमिन किनेर दुई सय वर्षअघि घर बनाउनुभएको थियो रे!’
भक्तपुर दरबार स्क्वायर पुगेपछि नजिकै पर्छ खौमा टोल। सानो गल्ली हुँदै अलि पर पुगेपछि सानो ढोकाबाट छिरेपछि पुगिन्छ युनेस्को अवाडेर्ड सिँ कःमि छेँ। जसले टाढैबाट जो कोहीलाई पनि सजिलै आकर्षित गर्छ। परम्परात पुरानो शौलीमा बनाइएको घर जसको प्रवेशद्धारमै लेखिएको छ, सिँ कःमि छेँ अर्थात् ‘सिकर्मीको घर।’
८० वर्षअघिसम्म उपत्यकामा घरहरु ढुङगा, ईँटा, माटो, काठ, झिंगटी, सिलेट आदिबाट बनेका घरहरु हुन्थे। तर अहिले सिमेन्ट, बालुवा, गिट्टी इँटा, रड सिसा, प्लास्टिक आदिबाट घर निर्माण गर्नु असम्भव जस्तै भएको छ। त्यसमाथि २०७२ सालको भूकम्पपछि ढलान गरिएका आरसीसी घरले पुराना शैलीका घरहरुका ठाउँमा नयाँ शैलीका घरहरुले लिएका छन्।
तर, यो घरले त्यहीँ पुरानो समयलाई सम्झाइरहेको छ। जुन पछिल्लो समय युनेस्कोले सांस्कृतिक सम्पदा संरक्षण २०२३ मा प्यासिफिक अवार्ड घोषणा गरेपछि सामजिक सञ्जालमा खुब छाएको छ।
०००
भक्तपुरका इन्द्रकाजी शिल्पकारको पुर्ख्यौली पेसा नै सिकर्मी (काष्ठकला) हो। पुर्खादेखि नै दरबार बनाउने काममा संलग्न रहेका शिल्पकार परिवारको परम्परागत शैलीमा घर बनाउने चाहना थियो।
भनिन्छ नि घर त्यो हो, जँहा मन बस्छ। ‘मन बस्ने घर कस्तो हुन्छ? यसको उत्तर भने व्यक्तिअनुसार भर पर्छ।
वर्षौंदेखि बाबुबाजेले भोगचलन गर्दै आएको पुर्खाको त्यही नासोमा इन्द्रकाजी लडिबुडी गर्दै हुर्के, आफ्नो प्राणभन्दा प्यारो घरलाई २०७२ को भूकम्पले पुरानो र जीर्ण बनाएको थियो। वरिपरि छरछिमेकले पुराना घर भत्काएर आधुनिक बनाउँदै थिए। तर, इन्द्रकाजी पुरानो शैलीको घरलाई जोगाइ राखेर भोलिका पुस्तालाई देखाउ चाहन्थे। त्यसैले शिल्पकार परिवार घर बनाउन २०७९ मंसिरदेखि सिँ कः मिको निर्माणमा दिनरात जुट्यो।
बुबाको परम्परागत रुपमा घर बनाउने सपना अनि छोराछोरीको मेहनतले घर बन्दै गयो। छोरी रविताले घरको आर्किटेक्ट गरिन्। बुबा इन्द्रमान र छोरा इन्द्रप्रसादले आफ्ना शिप र काैशलले काष्ठकलाले घर सजाए। सिँ कः मिले रुप लिँदै गयो। घर निर्माणमा पश्चिममा प्रभाव बढिरहेको र बुबाको परम्परागत शैलीका घरहरु आगामी पुस्तालाई देखाउने चाहना भएकाले सिँ कःमिको निर्माण भएको इन्द्रप्रसाद बताउँछन्।
‘बुबाको परम्परागत शैलीमा घर बनाउने सोचेका थियाैँ। तर कसरी बनाउने भन्ने भएको थियो। भूकम्पले घर जीर्ण बनाएको घर बनाउनु पनि थियो। त्यसैलाई बुबाको सपना पनि पूरा हुने, घर पनि सुन्दर बन्ने हुँदा हामीले आधुनिक घरको सट्टामा परम्परागत रुपमा घर बनाएका हौँ।’
२०७९ मंसिरदेखि निर्माण थालिएको घर २०८० मंसिरमा मात्रै सकियो। वर्षदिनमा सिँ कः मिले पूर्णरुप लियो। प्राचीन शैलीको घर, बलियो जग, त्यसको शैली, मिलेको इन्टेरियर डिजाइनिङ, उपयुक्त रङरोगन, फर्निचर व्यवस्थापन, आधुनिक सुविधा, बाहिर र भित्री भागमा मौलिकपन सिँ कःमिको मुख्य विशेषता यही हो।
२०७२ सालको भूकम्पले भत्काएको यो घरलाई दुई सय वर्षअघिको स्वरुप दिन कम्ता गाह्रो त थिएन। त्यसमा दुई सय वर्षअघि त्यो घरमा भएका केही चिजहरू छन्, जसलाई यसमा प्रयोग गरिएको छ। अर्थात् दुई सय वर्षअघिको जगमा बनेको नयाँ घर।
०००
हुन त सिँ कःमि छेँ कुनै व्यावसायिक प्रयोजनको लागि नभई आफैँ बस्न बनाइएको घर हो। यसरी युनेस्कोले अवार्ड दिन्छ भनेर शिल्पकार परिवारले सोचेको समेत थिएन।
‘हामीले कुनै पुरस्कार पाउने पाउँछौँ भनेर प्राचीन शैलीमा घर बनाएका होइनाैँ। हामीलाई बस परम्परागत रुपमा घर बनाउने चाहना थियो,’ इन्द्रकाजी भन्छन्, ‘पछि छोरीले कताबाट युनेस्कोले पुरस्कृत गर्ने थाहा पाएपछि एकदिन रविताले युनेस्कोले यस्ता विधामा पुरस्कार दिने थाहा पाइन्। घरको माैलिकता र विशेषता रविताले सबै युनेस्काेको इमेलमा पठाइन्। पछि सात महिनापछि पुरस्कृत गर्न छनोट गरेको मेल प्राप्त भयो।’
सिमेन्ट गगनचुम्बी महलहरूले ढाकिएको यो सहरमा सिँ कः मि छेँ भने आफ्नै माैलिकतामा चम्किरहेको छ।
इन्द्रप्रसाद युनेस्कोले पुरस्कृत गर्न छनोट गरेकोमा खुसी भएको बताउँछन्। ‘हामीले त यसरी पुरस्कार प्राप्त गछौँ भनेर सोचेको थिएनाैँ। पछि छनोट भएको भन्दा खुसी लागेको छ। उही पुरस्कारका लागि छनोट भारतका ५ र चीनका ६ ठाउँहरू समेटिँदा हाम्रो छेँ पनि समेटिएको हुँदा खुसी छौँ।’
२०७२ को भूकम्पले ध्वस्त बनाएको छेँ भत्काइएपछि इँटा र काठका फ्रेम वास्तुकलाको पुरातन संरचनात्मक स्थिरताको नविन रुप हो। जसले एतिहासिक क्षेत्रमा आधुनिक निर्माणको लागि थप लचिलो र सांस्कृतिक रुपमा समृद्ध भूमिका खेलेको छ।