बिएल संवाददाता
काठमाडौं
सीमान्तकृत महिलाहरूलाई उद्यमी बनाउनका लागि ‘सानो पाइला’ले एउटा रचानात्मक र दीगो परियोजना थालेको छ।
सीप सिकाउने अनि उद्यम र रोजगारीका कुनै बाटो नपहिल्याएर छोडिदिने तालिम र कार्यक्रमहरूभन्दा यो अलि भिन्न र दीगो छ। सानो पाइलाले सुरु गरेको यो ‘स्कुल अफ वुमेन्स अन्टरप्रेनरसीप’ परियोजना हो।
करिब दुई दशकदेखि सामाजिक क्षेत्रमा काम गरिरहेको सानो पाइलाले देशभरिका महिलाहरूबाट आवेदन आह्वान गरेको छ। आवेदनका आधारमा छनोट भएका महिलाहरूलाई यो परियोजनाअन्तर्गत हस्तकलाको तालिम दिइने सानो पाइलाका हेड अफ अपरेसन्स विवेक कर्णले जानकारी दिए।
यो तालिमअन्तर्गत ललितपुरमा हस्तनिर्मित गरगहना बनाउने र पर्सामा डलिया-ढकिया बनाउने तालिम दिनेछ। परियोजनालाई गीभ टु एसियामार्फत आर्थिक सहयोग उपलब्ध भएको छ।
‘यो परियोजना ललितपुर र पर्सामा सञ्चालन हुँदैछ। ललितपुरमा हामी करिब ४०-४५ जना महिलालाई हस्तनिर्मित गरगहना बनाउने सीप सिकाउँछौँ। जसका लागि हामीले ललितपुरमै चार महिने आवासीय तालिम सञ्चालन गर्दैछौँ। यो तालिम निशुल्क हुनेछ’, स्कुल अफ वुमेन्स अन्टरप्रेनरसीप परियोजनाकी प्रोजेक्ट म्यानेजर साधना पोखरेल भन्छिन्, ‘सकेसम्म हामीले यो तालिममा जातीय-क्षेत्रीय विविधतासहित हरप्रकारका जोखिममा परेका विपन्न महिलाहरूलाई समेट्नेगरी काम गरिरहेका छौँ।’
पर्सामा हुने तालिम भने १ महिनाको हुनेछ र यसमा कम्तीमा २० प्रशिक्षार्थी सहभागी हुनेछन्।
ललितपुरमा ललितपुर महानगरपालिका र पर्सामा पटेर्वा सुगौली गाउँपालिकासँग मिलेर यो परियोजनाअन्तर्गतका तालिम सञ्चालन हुँदैछन्।
प्रोजेक्ट म्यानेजर पोखरेलका अनुसार ललितपुर महानगरपालिकामा सञ्चालन हुने गरगहना बनाउने तालिमका लागि दुई प्रक्रियाबाट प्रशिक्षार्थी छनोट गरिनेछन्।
परियोजना सञ्चालन गरिरहेको संस्था सानो पाइलाका डिजिटल प्लेटफर्ममार्फत देशका सबै ठाउँबाट अनलाइन फाराम भर्न सकिनेछ। त्यस्तै सानो पाइलाले तालिममा सीप सिकेर आत्मनिर्भर बन्न इच्छुक महिलाहरूको नाम सिफारिस गरी पठाउन देशभरिका पालिकाहरूसँग समन्वय पनि गरिरहेको छ।
‘विभिन्न पालिकाहरूबाट आएका सिफारिसहरूलाई संस्था र परियोजनाको मापदण्डअनुसार हामीले प्रमाणित गर्नेछौँ र तय गरेका आधारहरूभित्र समेटिनुहुने महिलाहरूमध्येबाटै हामी प्रशिक्षार्थी छनौट गर्नेछौँ’, पोखरेलले भनिन्, ‘पर्साको पटेर्वा सुगौलीमा भने त्यही पालिकाभित्रका महिलाहरूलाई तालिममा सहभागी गराउने कार्यक्रम छ। त्यहाँ भने हामी पटेर्वा सुगौली गाउँपालिकासँगको मात्र समन्वयमा प्रशिक्षार्थी छनौटको काम गरिरहेका छौँ।’
यो तालिममा सहभागी हुनका लागि खासगरी परियोजनाले विपन्न र सीमान्तकृत वर्गका महिलालाई प्राथमिकता दिनेछ। त्यस्तै पिछडिएका जातजाति, अपाङ्गता भएका, सुन्न र बोल्न नसक्ने, बेचबिखनमा परेका, घरेलु वा अन्य किसिमका हिँसामा परेका, प्राकृतिक विपत्तिमा परेका, द्वन्द्वपीडित वा अन्य कुनै प्रकारले जोखिममा परेको बर्गका महिलालाई पनि उच्च प्राथमिकता साथ तालिममा समेट्ने पोखरेलले जानकारी दिइन्।
‘सीप सिकेरमात्रै भएन, त्यसपछि उद्यममै लाग्न चाहने र सीप सिक्न आवश्यक भएका महिलालाई हामीले इच्छाशक्तिका आधारमा प्रशिक्षार्थी छनोट गर्छौं’, उनी भन्छन्, ‘ताकि सिकेको सीप कुनै पनि बाहानामा खेर नजाओस् र त्यसबाट महिलाको आर्थिकस्तर पनि माथि उठोस् भन्ने हाम्रो मुख्य लक्ष्य हो।’
उनका अनुसार यो तालिमपछि आफै उद्यम गर्न चाहने महिलाहरूलाई आवश्यकताका आधारमा आर्थिक तथा अरु प्रकारका सहजीकरण र सहयोग पनि संस्थाले उपलब्ध गराउनेछ।
‘हामी प्रशिक्षण मात्र दिएर महिलाहरूलाई झनै अलमलमा पारेर छाडिदिँदैनौँ। प्रशिक्षणमा सहभागीहरूमध्ये राम्रो गर्नेहरूलाई हामीले माइक्रो फाइनान्सको पनि व्यवस्था गरेका छौँ’, उनी भन्छिन्, ‘ताकि उहाँहरूले आर्थिक अभावले गर्दा उत्पादनका लागि उपकरणहरू, कच्चा पदार्थहरू खरिद गर्न नसक्ने अवस्था नआओस्। माइक्रो फाइनान्स हामी सम्भवत शून्य ब्याजमा उपलब्ध गराउँछौँ।’
यसरी सिकेको सीपलाई बजारसम्मको पहुँच बनाउन सानो पाइलाले सामाजिक उद्यम कार्यक्रम पनि सञ्चालन गरेको छ। जसमा सीप सिकेका र उद्यमी महिलाहरू नै साझेदार पनि हुनसक्छन्। कम्पनी अन्तर्गत नै सञ्चालनमा रहेको यो कार्यक्रमले सीप सिकेका महिला उद्यमीका उत्पादनहरूलाई बजारीकरणका लागि पनि सहजीकरण गर्छ।
‘सामाजिक उद्यमलाई प्रवर्द्धन गर्नका लागि हामीले ‘कास्य’ कम्पनी पनि सञ्चालन गरिरहेका छौँ। त्यसमा हामीले नै प्रशिक्षित गरेका महिलाहरू सेयरहोल्डर समेत भइ काम गर्दै राम्रो आर्जन गरिरहनुभएको छ’, पोखरेलले भनिन्। उनका अनुसार ‘कास्य’मा आबद्ध भएर काम गर्न चाहनेहरूलाई त्यो अवसर पनि प्राप्त हुनेछ।
‘त्यसमा आवद्ध नभएर आफै उत्पादन गर्ने चाहना भएका उद्यमी महिलाका उत्पादनहरूलाई पनि हामीले राम्रो बजारीकरणका लागि सहजीकरण गर्छौं’, पोखरेल भन्छिन्, ‘समग्रमा हामीले महिलाको दीगो आर्थिक सवलीकरण र उहाँहरूको आत्मनिर्भताका लागि यो परियोजना सुरु गरेका हौँ। यसबाट महिलाहरूले सीप सिकेर बीचैमा छोड्ने नभइ दीगो रुपमा उद्यम र आर्थिकोपार्जनमा लागिरहन सक्नुहुनेछ।’