बिएल संवाददाता
सप्तरी
सप्तरीमा आँप बोकेको ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ।
कञ्चनपुर राजविराज हुलाकी सडक खण्डमा पर्ने सुब्बाटोलमा शनिबार साँझ स १ त ६२९५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा २ जनाकाे मृत्यु र २२ जना घाइते भएकाे हाे।
मृत्यु हुनेमा लाहान नगरपालिका-१९ घर भएका ३२ वर्षीय मोहम्मद इसाद र सप्तरीको कञ्चनरुप नगरपालिका–७ का २१ वर्षीय सुशिल राम रहेकाे प्रहरीले जनाएकाे छ।
हुलाकी सडक भएर राजविराजबाट आँप लिए कञ्चनपुरतर्फ आउँदै गरेको अवस्थामा ट्याक्टर सडकबाट झण्डै १० मिटर तल खसेर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डुन्डीराज न्यौपानेले बताए। उनका अनुसार ट्याक्टर अनियन्त्रित भएर पल्टिएकाे हाे।
घाइतेमध्ये १४ जनाको विराटनगरको गोल्डेन सिटी अस्पतालमा उपचार भइरहेको छ ८ जना स्थानीय अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन्।