बिएल संवाददाता
काठमाडौं
राष्ट्रियसभाको बैठक बस्दै नबसरी भोलि (सोमबार)सम्मका लागि स्थगित गरिएकाे छ।
आइतबार दिउँसो सवा १ बजेका लागि बोलाइएको बैठक कारणबस बस्न नसकेपछि सवा ३ बजेसम्म सारिएको थियो। सवा ३ बजे पनि बैठक बस्न सकेन। त्यसपछि भोलि सोमबार सवा १ बजेसम्मका लागि स्थगित गरिएको हाे।
संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले सूचना जारी गर्दै विशेष कारणबस राष्ट्रियसभाको बैठक स्थगित गरिएको बताए पनि दलहरुबीचमा संसद चलाउने विषयमा सहमति हुन नसक्दा बैठक स्थगित भएको हो।
सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गरिएको कार्यदलको बैठक यतिबेला कानुन मन्त्रालयमा छलफल भइरहेको छ।
उक्त बैठकमा कार्यदलको कार्यादेश कस्तो हुने भनेर छलफल गरिएको छ। बिहान ८ बजेदेखि कार्यदल कार्यादेश कस्तो बनाउने भन्नेमा सहमतिमा पुग्न नसक्दा संसद बैठक स्थगित गरिएको हाे।
यस्तै प्रतिनिधिसभा बैठक पनि बिहान ११ बजे बस्दै नबसी साँझ २ बजेका लागि सारिएको थियाे। तर हालसम्म पनि बैठक बस्न सकेकाे छैन।
काँग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समितिको माग गर्दै आएकाे छ।
शनिबार दलहरुबीचमा संसदीय छानबिन समिति बनाउने सहमति भएको थियो र कार्यदल गठन भएको थियो।
उक्त कार्यदलको कार्यादेश कस्तो हुने भन्नेमा हालसम्म छलफल भइरहेको छ।