बिएल संवाददाता
काठमाडौं
आज बस्ने भनिएको नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ।
कांग्रेसले संसदीय कार्यसमितिको बैठक आज अपराहन्न १ बजे संसदीय दलको बैठक अपरान्ह २ बजे बस्ने बताइएको थियो। तर अब बैठक मंगलबार संसदीय कार्यसमिति बिहान ८ बजे र संसदीय दलको बैठक बिहान ९ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको छ।
बैठकबाट कांग्रेसले मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेस गर्ने सरकारको नीति तथा कार्यक्रम अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ।
पछिल्लो समय सहकारी ठगीका बारेमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ।
संसद्को बजेट अधिवेशन सुरु भएको र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेकाले अब पार्टी कसरी अगाडि बढ्ने भन्नेबारेमा बैठकमा छलफल हुने बताइएको छ। कांग्रेसले सहकारी ठगीका बारेमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने अडान लिँदै आएको छ।