शनिबार, १६ नोभेम्बर २०२४

आजपाले सरकारविरुद्ध मधेसमा जागरण अभियान र काठमाडौँमा विरोध प्रदर्शन गर्ने

News Image
• • •

पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले आउदो १ मंसिरमा एकै दिन काठमाडौँमा विरोध प्रदर्शनका साथै मधेसमा भ्रष्टाचार बिरोधी विशेष जागरण अभियान सुरु गर्ने भएकाे छ। 

मुलुकमा बढदै गइरहेको भ्रष्टाचार, अनियमितता, कुशासनका साथै सरकारको अनावश्यक कर एवं महंगी विरुद्ध आजपाले आन्दोलन गर्दै आएको छ। सोही विषयलाई लिएर आजपाले काठमाडौँमा विरोध प्रदर्शन गर्नुका साथै मधेस प्रदेशमा विशेष जागरण अभियान सञ्चालन गर्न लागेको हो।

आजपाका वरिष्ठ उपाध्यक्ष तिलक थापामगरले सरकार कुम्भकरण जस्तै सुतिरहेको अवस्थामा आम जनताको समस्याको बारेमा जानकारी गराउनका लागि पार्टीले काठमाडौँसहित मधेसमा एकै दिन विरोध प्रदर्शनका साथै विशेष अभियान सञ्चालन गर्न लागेको बताए।

‘सरकारलाई आम जनताको समस्या, चाहना के हो भन्ने बारेमा कनै चासो देखिएन्। कुम्भकरण जस्तो सुतेको सरकारलाई आम जनताको समस्या र सरकारको मनपरी कार्यशैलीका विरोधमा अब जनता सडकमा आउँन बाध्य भएका छन्’ आजपा वरिष्ठ उपाध्यक्ष थापाले भने, ‘मुलुकमा भ्रष्टाचार बढदै गईरहेको छ, कुशासन, अनियमितता बढदैछ। सोझासाझा जनतामाथि अनावश्यक करमाथि कर थुपार्ने काम सरकारले गरेको छ। यस्तो अवस्थामा सरकारलाई सचेत गराउन सडक संघर्षको विकल्प नै भएन।’

आइतबार काठमाडौँस्थित आजपाको केन्द्रीय कार्यालयमा बसेको पार्टीको काठमाडौँ उपत्यका विशेष कमिटीको बैठकले देशको अर्थतन्त्र बचाउन यही १ मंसिरमा 'सरकारको अनावश्यक कर हटाउ, देशको व्यापार व्यवसाय बचाउ' भन्ने मुल नाराका साथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।

काठमाडौँको शान्तिवाटिकामा बृहत् प्रदर्शन गर्ने निर्णय गरेको आजपाले सरकार पिच्छे सरकारको अनावश्यक करले देशको व्यापार व्यवसाय बर्वाद भईरहेको, देशको अर्थतन्त्र बचाउन युवाहरु उठन आवश्यक रहेको आजपा सचिव नारायण पाण्डेले जनाकारी दिए।

‘हामीले मंसिर १ गते काठमाडौँको शान्तिवाटिमा बृहत विरोध प्रदर्शन गर्ने निर्णय गरेका छौँ। सरकारको मनपरी करमाथिको कर हटाउनुपर्ने, युवालाई रोजगार दिनुपर्ने, भ्रष्टाचार, कुशासन, अनियमितता लगायतको विरोधमा हामी शान्तिपूर्ण प्रदर्शन गर्न लागेको हो’ आजपा सचिव पाण्डेले भने।

यस्तै छठपर्वअघि वीरगंजमा बसेको आजपाको प्रदेश कमिटीको पदाधिकारी बैठकले भ्रष्टाचारको विरोधमा मधेसमा विशेष जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। आजपा मधेस प्रदेशका प्रवक्ता एवं केन्द्रीय सदस्य डा. हेमप्रसाद साहले यो अभियान मधेस प्रदेशका आठवटै जिल्लामा हुने बताए।

मधेस प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा सञ्चालन हुने जागरण अभियान एक हप्तासम्म चल्ने उनले बताए। पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहसहित पार्टीका नेताकार्यकर्ताहरुको विशेष सहभागिता अभियानमा हुने प्रवक्ता साहले जनाएका छन्।

सप्तरीबाट सुरु हुने सो अभियान पर्सामा आएर सम्पन्न हुनेछ। मधेसका प्रमुख शहरहरुमा सभा, प्रदर्शन, बैठक, भेलालगायतका गतिविधि हुने अभियानले पार्टीले पहिलो चोटी गर्न लागेको छ।

यसअघि आजपाले काठमाडौँ सहित बिभिन्न शहर एवं जिल्लाहरुमा विशेष प्रदर्शन गर्दै आएको छ। भ्रष्टाचार, अनियमितता, कुशासन, मनपरी कर, महंगी, बेरोजगारी, बैदेशिक रोजगारको ठगी, भन्सारको मनोमानी करलगायतका विषयमा आजपाले आवाज उठाउँदै आएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?