आइतबार, १७ नोभेम्बर २०२४

मधेस सरकारले चासो नदिएपछि मौलापुरले थाल्यो सडककाे स्तरोन्नति

News Image
• • •

मधेस प्रदेश सरकार मातहत रहेको रौतहटको ‘औरैया–बंकुल–सोनरनिया–सितलपुर–हिमालीबास सडक’ मौलापुर नगरपालिकाले सडक स्तरोन्नति गरिरहेको छ।

मधेस प्रदेश सरकारले सो सडक मर्मत गरेर स्तरोन्नति गर्न चासो नदिएपछि सर्वसाधारण यात्रुलाई आवातजावतमा कठिनाई भोग्दै आएका छन्।

मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहलाई स्थानीयले सडक मर्मतका लागि गुनासो गरेपछि उनले सो सडक मर्मत गरेर स्तरोन्नति गर्न लागेकी छन्।

मधेस प्रदेश सरकार मातहत रहेको सो सडक ममर्त गर्नका लागि पटक पटक आग्रह गर्दासमेत कुनै सुनुवाइ नभएपछि मौलापुर नगरपालिकाले रोलर, ग्रेडर, पानीट्यांकी प्रयोग गरेर ममर्त गर्न थालेकोमा स्थानीय खुशी भएका छन्।

दिपावली, छठ पर्व नजिकिँदै गइरहेको बेला सो पर्व आउनुभन्दा अघि गाउँघर सफा गर्ने, सडक सरसफाइ, ममर्त एवं सिंगारिने काम मधेसमा हुने गरेको छ।

‘औरैया–बंकुल–सोनरनिया–सितलपुर–हिमालीबास सडक’ बिँग्रदै गइरहेकाले र ठाउँठाउँमा भत्केकाले निर्माण गर्नुपर्ने आवश्यकता रहेको थियो। सर्वसाधारण यात्रुका साथै स्थानीयले समेत यसबारेमा गुनासो गर्दै आएका थिए।

सर्वसाधारण यात्रुका साथै स्थानीयले गरेको गुनासो सम्बोधन भएकोमा मौलापुर नगरपालिकाका मेयर साहलाई उनीहरुले धन्यवाद दिए छन्।

जनताको दैनिक दुःखदर्दलाई आत्मबोध गर्दै बाध्य भएर मौलापुर नगरपालिकाले सडक मर्मत गर्न थालेपछि स्थानीयका साथै सर्वसधारणलाई आवतजावतमा सहज हुने देखिन्छ।

मधेस प्रदेशका अर्थमन्त्री जितेन्द्र यादवको आफ्नै निर्वाचन क्षेत्रमा सो सडकको अवस्था यस्तो दुर्दशापूर्ण रहनु र यति दिन बितिसक्दासमेत केही वास्ता नगरिएकोमा स्थानीय आक्रोशित बनेका छन्।

चाडपर्वको समयमा आवतजावत गर्न निकै कठिनाइ भएकाले सो सडक मर्मतका लागि पहल गरिदिन सर्वसाधारणले आग्रह गर्दै आएका थिए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?