बिएल संवाददाता
काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले सभापति रवि लामिछानेको पक्राउमा अवरोध नगर्ने जानकारी दिएका छन्।
शुक्रबार साँझ पार्टी कार्यालयमा मिडियालाई सम्बोधन गर्दै झाले सभापति लामिछानेलाई पक्राउ गर्न प्रहरी आएको बताउँदै पक्राउको क्रममा अवरोध नगर्न कार्यकर्तालाई आग्रह गरे।
उनले कुनै अमुक व्यक्तिको राजनीतिक कुण्ठा पूरा गर्न प्रहरी परिचालन गरेर सभापतिलाई पक्राउ गर्न लागिएको समेत आरोप लगाए।
उनले केहीबेरमा लामिछानेले मिडियालाई सम्बोधन गरेपछि प्रहरीसँग जाने र प्रहरीले उनलाई आजै पोखरा लैजाने जानकारी दिएको बताए।
शुक्रबार नै जिल्ला अदालत कास्कीले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली रास्वपा कार्यालय पुगेको छ।