सोमबार, १८ नोभेम्बर २०२४

बङ्गलादेशको गहिरो राजनीतिक संकटमा भारत कहाँ छ?

News Image
• • •

बङ्गलादेशको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री भएकी शेख हसिना देश छोडेर सिधै भारत गएपछि दुई राष्ट्रबीचको सम्बन्धको गहिराईबारे टिप्पणीहरू आउन थालेका छन्। हसिना र उनको परिवारलाई भारतले ‘शरण’ दिएको यो दोस्रोपटक हो।

यसअघि हसिनाका पिता, माता र उनका दाजुभाइहरूको हत्या हुँदा पनि भारतले नै शरण दिएको थियो। पहिलो राष्ट्रप्रमुखका रुपमा शासन गरिरहेका बेला १९७५मा हसिनाका परिवारको हत्या भएको थियो। त्यसपछि सेनाले बङ्गलादेशको शासनसत्ता हातमा लिएको थियो। त्यसपछि राजनीतिमा उदाएकी हसिनाले १७ करोड जनसंख्या भएको बङ्गलादेशमा लगभग १५ वर्ष सरकार चलाइन्।

केही महिनादेखि सरकारी जागिरमा आरक्षणको विरुद्ध भड्किएको विद्यार्थी आन्दोलन हिंस्रक हुन थालेपछि हसिना प्रधानमन्त्रीबाट राजीनामा घोषणा गरेर सोमबार सिधै भारत गएकी हुन्। अहिलेसम्म त्यो आन्दोलनमा लगभग ३ सयभन्दा धेरैले ज्यान गुमाइसकेका छन्। उनले देश छोडेपछि आन्दोलनकारीले निवास कब्जा गरेर व्यक्तिगत सरसामानसमेत लुटेर लगेका छन्।

केही समय पहिला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहणमा पनि हसिना सरकार प्रमुखका हैसियतले पुगेकी थिइन्। त्यसपछि पनि उनले दुई दिने भारत भ्रमण गरेकी थिइन्। मोदीले तेस्रो कार्यकाल सम्हालेपछि भारत भ्रमण गर्ने उनी पहिले विदेशी सरकार प्रमुख थिइन्।

त्यो भ्रमणका बेला संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले भनेका थिए थिए ‘बितेको एक वर्षमै हामीले दश पटक भेटवार्ता गरिसकेका छौं। यो भेटघाट यसकारण पनि खास छ कि हाम्रो सरकारको तेस्रो कार्यकालमा हसिना पहिलो पाहुना हुनुभएको छ।’

त्यसपछि हसिनाले भनेकी थिइन्, ‘बङ्गलादेशका लागि भारतसँगको सम्बन्ध निकै महत्वपूर्ण छ। हामीले के गरेका छौँ र के गर्ने योजना बनाइरहेका छौँ भन्ने हेर्नका लागि तपाईंहरूलाई बङ्गलादेशमा निम्तो छ।’

करिब ४ हजार ९६ किलोमिटर टाढा रहेका यी दुई देशबीच समन्धका कैयौँ आयामहरू छन्। भाषा, संस्कृति, आर्थिक तथा सामाजिक संस्कार सम्बन्धमा गाँसिएको भारतले भने अहिलेसम्म बङ्गलादेशको राजनीतिक अवस्थाबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

कुनैबेला पूर्वी पाकिस्तानको नामले चिनिने यो क्षेत्र सन् १९७१ मा विश्व मानचित्रमा बङ्गदेशको नामले चिनिन थाल्यो। त्योबेला पाकिस्तानमा भएको विद्रोहमा भारतले बङ्गलादेशलाई नै साथ दिएको थियो।

एसियामा भारतले सबैभन्दा धेरै सामान निर्यात गर्ने बङ्गलादेशसँग उसको लगभग १६ अर्ब डलर बराबरको कारोबार हुन्छ। तर केही समययता चीन पनि बङ्गलादेशसँग नजिकिन थालेपछि भारतसँगको सम्बन्धमा चिसोपना आएको थियो।

शेख हसिनाले देश छोडेपछि त्यहाँका सैन्य प्रमुखले देशमा सर्वमान्य अन्तरिम सरकार बनाउने भन्दै राष्ट्रका नाममा सम्बोधन गरेका थिए। आन्दोलनकारीले भने नोबेल पुरस्कार प्राप्त मोहम्मद युनुसलाई सरकारको नेतृत्व गर्न सुझाएका छन् र उनले पनि त्यो प्रस्तावलाई स्वीकार गर्ने बताएका छन्।

सेना प्रमुखसँगको सल्लाहपछि बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्धिनले अन्तरिम सरकार गठनका लागि मंगलबार संसद भंग गरेका छन्।

राष्ट्रपतिले तीनवटै सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका शीर्ष नेता, नागरिक समाजका प्रतिनिधि र आन्दोलनकारी विद्यार्थी नेतासँगको बैठकपछि १२औँ संसद विघटन गरेका हुन्।

राष्ट्रपतिको कार्यालयले मंगलबार एउटा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शेख हसिना बंगलादेशबाट पलायन भएपछि संसद विघटन गरेको जनाएका छन्। आन्दोलनकारी विद्यार्थी नेताहरू संसद विघटनको स्वागत गरेका छन्।

त्यस्तै, विद्यार्थी नेताहरूले यदि सेनाले सरकार बनाए त्यो अमान्य हुने घोषणा गरेका छन्। आन्दोलनका संयोजकहरूले फेसबुकमा एउटा भिडियो सार्वजनिक गर्दै सैन्य शासन अस्वीकार गर्ने र नयाँ अन्तरिम सरकारको नेतृत्व मोहम्मद युनुसले गर्नुपर्ने बताएका हुन्।

ग्रामीण बैंक स्थापना र लघुवित्त अवधारणाको थालनी गरेकाले युनुसलाई सन् २००६ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो। उनी ८४ वर्षका छन्। उनको अवधारणाले दशौँ लाख मानिसलाई गरिबीबाट निस्किन सहयोग पुगेको बताइन्छ।

बङ्गलादेशमा भारतीय ‘फ्याक्टर’

‘केही छैन। अहिलेसम्म केही पनि छैन। अहिलेसम्म पर्दा खुलेको छैन। यो भारतको बारेमा केही होइन, यो त बङ्गलादेशको राजनीति हो। त्यसैले बङ्गलादेशीलाई नै यो मामला सुल्झाउन दिनुपर्छ’, भारतीय विदेश नीतिका जानकार ह्यापिम्यान जैकब ज्याकबले भनेका छन्।

त्यस्तै अमेरिकी थिङ्कट्याङ्क विल्सन सेन्टरका माइकल कुगलम्यानका अनुसार हसिनाको यो बहिर्गमन भारतका लागि ठूलै ‘झट्का’ हो। उनले अब पनि भारतीय हितका लागि त्यहाँ बन्ने अन्तरिम सरकारका बारेमा बङ्गलादेशका सेना प्रमुखसँग भारतले सम्पर्क बढाउनुपर्ने सुझाव पनि दिएका छन्।

अर्थ व्यवस्थालाई ‘मजवुत’ बनाउँदै लगेकी हसिनाको शासनकालमा विपक्षीमाथि दमन भएको, विरोधी आवाजलाई नियन्त्रण गरिएकोलगायत आरोपहरू लाग्दै आएको थियो। गैर-न्यायिक हत्या र विस्तारै हसिना सत्ता ‘तानाशाह’ बन्दै जान थालेको भन्दै आलोचना पनि भइरहेको थियो।

२०२४ को जनवरीमा भएको आम चुनाव जितेर हसिना लगातार चौथोपटक प्रधानमन्त्री भएकी थिइन्। तर यो चुनावमा सत्तारुढ हसिनाको पार्टी आवामी लिगले धाँधली गरेको आरोप लागेको थियो। अन्तर्राष्ट्रिय समुदायले पनि यो चुनाव निष्पक्ष नभएको भन्दै प्रतिक्रिया दिएका थिए।

बङ्गलादेशमा विस्तारै भारतविरोधी आवाज पनि बढिरहेको थियो। आलोचकहरूले त्यसलाई हसिनाकै कारण भनेका थिए। र भारतले बङ्गलादेशको घरेलु राजनीतिमा सिधै हात हाल्नुको परिणाम थियो। १५ वर्षदेखि निरन्तर हसिना शासनलाई समर्थन गरिरहेको भारत अहिले भने चुप लागेर बस्नुलाई धेरैले आलोचना पनि गरिरहेका छन्। आलोचकहरू बङ्गलादेशको लोकतन्त्र कमजोर पार्न भारतकै हात रहेको पनि टिप्पणी गर्छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?