बंगलादेशमा ‘हसिना’ युगको अन्त्य

Photo: EPA
Photo: EPA

जब एक शासक ‘तानाशाह’को बाटोमा कुद्न थाल्छ अनि नागरिक शक्तिले उसलाई कसरी त्यो बाटोबाट हटाउनसक्छ भन्ने ताजा उदाहरण बंगलादेशको राजनीतिक अवस्थालाई लिन सकिन्छ।

करिब महिनादिनमै सयौँ जना मारिएको विद्यार्थी आन्दोलनले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई असिनपसिन बनायो। यत्तिमात्रै होइन, देशै छोड्न बाध्य हुनुपर्‍यो। यसरी बंगलादेशमा राजनीतिक विरासतको अन्त्यमात्रै भएको छैन, बरु शासनसत्तामा एउटा वंश निरन्तरता नै टुटेको छ।

देशमा राजनीतिक संकट बढेपछि आज बंगलादेशमा सेनाले प्रधानमन्त्री शेख हसिना वाजेदलाई राजीनामा दिन करिब ४५ मिनेटको समय दिएको थियो। प्रधानमन्त्री हसिनाले राजीनामा दिइन् र सत्ता त्याग्दै निर्वासनमा पुगिन्।

गत जुन महिनादेखि बंगलादेशमा सरकारले उपलब्ध गराउने आरक्षणका विषयमा विद्यार्थीहरूले देशव्यापी आन्दोलन सुरु गरेका थिए।

सोमबार सरकारविरुद्ध 'ढाकामा ठूलो संख्यामा मार्च पासको आह्वान गरिएको थियो। सरकारले कर्फ्यूको घोषणा गरे पनि त्यसको उल्लङ्घन गर्दै हजारौँ सर्वसाधारणले प्रधानमन्त्री निवास घेराउ गरेका थिए। उनले छोडेपछि आन्दोलनकारीहरू निवासभित्रै छिरे अनि सरकारी निवासमा भएका हसिनाका सारा निजी सामग्रीहरू लुटेर लगे

राजनीतिक संकटको हवाला दिँदै सेनाले प्रधानमन्त्री हसिनालाई सत्ताच्यूत गरिदियो। सैनिक हेलिकप्टरबाट हसिना परिवार नजिकैको भारतीय सहर पुगेर शरण लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाइहेका छन्। अपदस्त प्रधानमन्त्री हसिना हेलिकप्टरमा सवार भएर देश छाडेको र निवासमा आन्दोलनकारीले उत्सव मनाउँदै लुटपाट गरेका दृश्यहरू अहिले सामाजिक सञ्जालमा छरिएका छन्।

लगत्तै बंगलादेशका सेना प्रमुख जनरल वाकार उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गर्दै राष्ट्रका नाममा सम्बोधन गरेका थिए।

अपदस्त प्रधानमन्त्री शेख हसिनाको जीवनका केही महत्वपूर्ण यात्राहरुलाई फर्केर यसरी हेर्न सकिन्छ।

बाबुसहित परिवारको हत्या हुनुभन्दा १५ दिनअघि हसिना जर्मनी थिइन्।

बंगलादेशका संस्थापक नेता शेख मुजीबुर रहमान र बेगम फजिलतुन्नेस मुजीबकी जेठी छोरी शेख हसिना वाजेदको जन्म सन् १९४७ सेप्टेम्बर २८ मा पूर्वी पाकिस्तानमा भएको थियो। पाकिस्तानबाट छुट्टिएर स्वतन्त्र राष्ट्र भएपछि उनका बाबु मुजीबुर देशको पहिलो कार्यकारी भएका थिए।

शेर-ए-बंगला गर्ल्स विद्यालयबाट विद्यालय शिक्षा लिइन्। सन् १९६७ मा राजधानी ढाकास्थित इडन कलेबाट हसिनाले उच्च शिक्षा हासिल गरिन्।

सन् १९७५ मा शेख मुजीबुर रहमान बंगलादेशमा राष्ट्रपति थिए। त्यही वर्ष अगस्त १५ मा सेनाले 'कू' गर्दा उनका बाबु आमा र ३ भाईको हत्या गरेको थियो। परिवारका सदस्यहरुको हत्या हुँदा हसिना आफ्ना श्रीमानका साथ जर्मनीमा थिइन्। उनका श्रीमान जर्मनीमा परमाणु वैज्ञानिकका रुपमा कार्यरत थिए र उतै बस्दथे। साथमा उनकी बहिनी शेख रेहना पनि थिइन्।

परिवारका सदस्यहरूको हत्यापछि त्योबेला पनि हसिनालाई भारतले शरण दिएको थियो। भारतमा प्रधानमन्त्री इन्दिरा गान्धीले हसिना परिवारका बाँकी सदस्यलाई शरण दिएको थियो।

६ वर्ष भारतमा शरण लिएर बसेकी हसिना सन् १९८१ मा देश फर्किएकी थिइन्। स्वदेश फर्किँदा उनलाई बंगलादशमा भव्य स्वागत भएको थियो। देश फर्केकी हसिनाले आफ्ना बाबुले स्थापना गरेको दल अवामी लिगलाई सम्हालेकी थिइन्।

सन् १९८६ मा हसिना पहिलो पटक आम निर्वाचन लडेकी थिइन्। उनको दलले १ सय सिट मात्रै जित्यो। सहिना विपक्षमा थिइन्। 

सन् १९८८ मा हसिना चुनावी र्‍याली र सभा गर्दै हिँड्ने गर्थिन्। हसिना सवार गाडी चटगाउँ पुग्दा उनको गाडीमा बम राखिएको थियो तर उनी बाँच्न सफल भएकी थिइन्।

सन् १९९१ मा लोकतन्त्र वहाली भएको मानिने बंगलादेशमा पछिल्लो पटक भएको चुनाव विवादित थियो। सन् १९९१ मा बेगम खालिदाजिया वेग पहिलो महिला प्रधानमन्त्री भएकी थिइन्। तर सन् १९९६ मा हसिनाले आफ्नो नेतृत्वमा अवामी लिगको सरकार बनाएर प्रधानमन्त्रीसमेत भइन्।

सन् २००१ मा चुनाव भयो हसिनाको दलले चुनाव हार्‍यो। बंगलादेश नेशनलिस्ट पार्टी सत्तामा पुग्यो।

सन् २००७ मा हसिना त्यसबखत आफ्नो अमेरिका यात्रामा थिइन्। यता बंगलादेश नेशनलिस्ट पार्टी नेतृत्वको सरकारले उनलाई देश फर्किन नपाउने भन्दै रोक लगायो। तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबावका कारण हसिना १५ दिनमा बंगलादेश फर्किइन्।

सन् २००९ देखि सत्तामा रहँदै आएकी हसिना र उनको दलले चौथो पटक समेत चुनाव जितेकी थिइन्।

बांग्लादेश नेशनलिस्ट पार्टी (बीएनपी) सहितका दलहरुले बहिष्कार गरेको चुनावमा हसिना जित दर्ज गर्दै पाँचौपटक प्रधानमन्त्री भएकी थिइन्।

हसिनाको पार्टीले यसै वर्ष भएको चुनावमा विजयी हासिल गरेको थियो। ३ सय सिटमध्ये २ सय ९९ सिटका लागि भएको पछिल्लो चुनावमा २ सय २३ सिट जितेकी थिइन्। तर चुनाव एकतर्फी भएको भन्ने आरोप हसिनामाथि थियो।

सन् १९७१ मा पाकिस्तानबाट टुक्रिएर बंगलादेशको जन्म भएको थियो। अवामी लिग पार्टी बंगलादेशमा १५ वर्षदेखि सत्तामा थियो। त्यसको नेतृत्व हसिनाले गर्दै आएकी थिइन्।

प्रकाशित मिति: : 2024-08-05 18:35:00

प्रतिकृया दिनुहोस्