शनिबार, १६ नोभेम्बर २०२४

‘जनताले प्राथमिक स्वास्थ्य सुविधासमेत प्राप्त गर्न सकेका छैनन्’

News Image
• • •

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले विशिष्टकृत स्वास्थ्य सुविधालाई सरलीकरण गर्ने भनेपनि व्यवहारमा प्राथमिक स्वास्थ्य सुविधासमेत प्रवाह हुन नसकेको स्विकारेका छन्।

बुधबार भक्तपुर क्यान्सर अस्पतालमा बाभाटन रेडियोथेरापी विथ सिमुल्याटर मेसिनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा रहेका समस्याहरु पहिचान गर्न जरुरी रहेको उल्लेख गर्दै सरकार यसमा काम गरिरहेको बताए।

उनले भने, ‘हाम्रो स्वास्थ्य क्षेत्रमा समस्याहरु छन्। रोग पत्ता लगाएपछि मात्र उपचार गर्न सकिन्छ भनेजस्तै स्वास्थ्य क्षेत्रमा रहेका समस्या पहिचान गरेमात्रै हामी समाधानको बाटो खोज्न सक्छौँ। संविधानले आधारभूत स्वास्थ्य निःशुल्क भनेर भनेको छ। त्यसपछि हामीले विभिन्न निर्णयहरुमार्फत पटक पटक विशिष्टकृत स्वास्थ्य सुविधालाई सरलीकरण गर्ने, सस्तो र सर्वसुलभ ढंगबाट उपलब्ध गराउने भनेर भन्दै आएको स्थिति छ। तर व्यवहारमा हामीले प्राथमिक स्वास्थ्य सुविधा निःशुल्क प्राप्त गर्न सकेको स्थिति पनि छैन र विशिष्टकृत सेवा सरलीकरण ढंगबाट प्रवाह गर्न सकिरहेका छैनौँ। यसमा हामीले काम गर्न जरुरी छ।’

त्यस्तै, स्वास्थ्य सेवाअन्तर्गत सबैभन्दा सस्तोमा पाउने बीमा सुविधा मात्र भएपनि बीमा सेवा समेत व्यवस्थित हुन नसकेको उनको भनाइ छ।

बीमाको सिमा एक लाखबाट बढाएर पाँच लाख पुर्याउने स्वास्थ्य मन्त्रालयको घोषणालाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको उल्लेख गर्दै स्वास्थ्यमन्त्री पौडेलले स्रोतको खोजिमा सरकार हिँडिरहेको दाबी गरे।

‘बीमाको सिमालाई बढाएर पाँच लाख पुर्याउने स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ। हामी यसलाई सरकारको नीति बनाउन चाहान्छौँ। स्रोत नभएको कारण ले एक लाखसमेत व्यवस्थित हुन नसकेको यो अवस्थामा पाँच लाख कसरी उपलब्ध हुनसक्छ भनेर हामीलाई प्रश्न गरिरहनुभएको छ। स्रोत उपलब्ध हुने माध्यम पनि सँगसँगै प्रस्तुत गरेका छौँ,’ उनको भनाइ छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?