शनिबार, १६ नोभेम्बर २०२४

रौतहटको १८ मध्ये १५ स्थानीय तहले ल्याए बजेट

News Image
• • •

रौतहटकाे १६ नगरपालिका र २ गाउँपालिका गरी १८ स्थानीय तहमध्ये १५ ले असार १० अर्थात नेपाल सरकारद्वारा निर्धारण गरिएको मितिभित्रै बजेट ल्याउन सफल भएको छ। विभिन्न कारणले १५ मध्ये ३ नगरपालिकाले भने असार १० भित्र बजेट ल्याउन सकेन।

निर्धारित मिति असार १० गते सोमबार जिल्लाको ७ स्थानीय तहले एकैदिन नगर अधिवेशन सम्पन्न गरेको थियो। मौलापुरको अधिवेशनले शून्य कर नीतिसहित ३९ करोडको बजेट पारित गरेको थियो भने कार्यक्रमका प्रमुख अतिथिले संघ र प्रदेशले जिम्मा लिएको काम नगर्दा नगरमाथि आर्थिक भारको आरोप लगाएका थिए।

आम जनता पार्टीका अध्यक्ष संघीय सांसद प्रभु साहको प्रमुख आतिथ्यमा मौलापुर नगरपालिकाको आठौँ बजेट अधिवेशन सम्पन्न भएको थियो। मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले संयुक्त रूपमा ३९ करोडको बजेटको बाचन गरेका थिए।

परोहा नगरपालिकाका मेयर शेख वकीलले नगरसभामा ४८ करोड ४४ लाख १९ हजार १ रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। दोस्रो पटक निर्वाचित भएका मेयर वकीलले नगरवासीको प्रत्यक्ष लाभ हुने गरी योजना ल्याएका हुन्।

नगरपालिकाको प्रत्येक वडाका कम्तिमा ५० जना गरिब असहायलाई प्रतिमहिना १० किलो चामल उपलब्ध गराउने, आश्रय नभएका व्यक्तिलाई संघ, प्रदेश र पालिकाको सहयोगमा आवास टहराको व्यवस्थापन गरिने, नगरपालिकाभित्रका सबै घरपरिवारलाई निःशुल्क रुपमा ग्याससहित चुलो वितरण गरी कार्तिक मसान्तमा धुवामुक्त नगरपालिका घोषणा गर्ने प्रतिबद्धता जनाएको प्रमुख प्रशासकीय अधिकृत महमद महफुज अहमदले बताएका छन्।

त्यस्तै गुजारा नगरपालिकाको नगरसभा सोमबार सम्पन्न भएको छ। मेयर सन्तलाल चौधरी र उपमेयर रत्ना लामाले आर्थिक वर्ष २०८१/०८२ को लागि ५७ करोड ६८ लाख, ६३ हजारको बजेट प्रस्तुत गरेका थिए।

माधवनरायण नगरपालिकाका नगर प्रमुख वैधनाथ प्रसाद यादवको अध्यक्षतामा भएको नगरसभाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ।

कार्यक्रममा नगर उपप्रमुख निर्मला रमणले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र ४९ करोड ७४ लाख ७२ हजार बजेट ल्याउँदै ९औँ अधिवेशन भव्ययाताका साथ सम्पन्न भएको छ।

दुर्गा भगवती गाउँपालिकाका गाउँसभाका अध्यक्ष शम्भुकुमार सिंहले आगामी आ.व. २०८१/०८२ को लागि नीति तथा कार्यक्रमसहित जम्मा  ३७ करोड ६५ लाख ५६ हजारको बजेट प्रस्तुत गरेका थिए।

अधिवेशनले शिक्षा, स्वास्थ भौतिक पूर्वाधारसंगै प्रत्यक्ष रूपमा नागरिक लाभान्वित हुने योजनाहरू प्राथमिकतामा राखेको प्रमुख प्रशासकिय अधिकृत परमानन्द पाठकले बताएका छन्।

जिल्लाको पूर्वी भेग राजदेवी नगरपालिकाको १२औँ नगर अधिवेशन सोमबार सम्पन्न भएको छ। जिल्ला समन्वय समितिका अध्यक्ष राम अयोध्या राय यादवको प्रमुख आतिथ्यमा भएको नगर अधिवेशनमा नगरप्रमुख भिखारीप्रसाद यादवले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ४८ करोड १० लाख ९६ हजारको बजेट प्रस्तुत गरेका छन्।

त्यस्तै गढीमाई नगरपालिकाको ११औँ नगरसभा सम्पन्न भएको छ। नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा मेयर श्यामप्रसाद यादवले आर्थिक वर्ष २०८१/०८२ को लागि ५९ करोड ५० लाख, एक हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए।

कटहरिया, गौर, चन्द्रनिगाहुर, वृन्दावन, गुजरा, राजपुर, गरुडा, ईशनाथ नगरपालिका र यमुना माई गाउँपालिकाले यसअघि नै बजेट ल्याइसकेको छ।

१८ मध्ये ३ वटा पालिकाले असार १० गतेसम्म बजेट ल्याउन सकेको छैन। बौधिमाई नगरपालिकाका मेयर प्रदीपकुमार यादवले एकलौटी गर्न खोजेको भन्दै उपमेयर प्रमिला कुमारी जैसवालसहित बहुमतले असार १० गते आयोजित नगरसभा बिथोलेको थियो।

मेयर यादवले असार १० गते राति १२ बजे बिना बहुमतको नगरसभा गरेको खबर प्राप्त भएको छ। तर त्यस्तो नगरसभाको कुनै औचित्य नहुने उपमेयर जैसवालको दाबी रहेको छ। देवाही गोनाही नगरपालिका र फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधिबीच बजेटको भागबण्डा नमिलेको कारण नगर अधिवेशन आयोजना हुन सकेको छैन।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?