बिएल संवाददाता
काठमाडाैं
नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका लागि दिल्लीस्थित पोल्याण्डका आवासीय कार्यवहाक राजदूत डा. सेवास्टीयन डोमजाल्स्कीबीच भेटवार्ता भएको छ।
दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा दुई मुलुकबीच आर्थिक सम्बन्ध बिस्तार एवम् लगानी प्रर्वद्धनबारे छलफल भएको हो।
डा. डोमजाल्स्कीसंगको भेटका क्रममा चेम्बर अध्यक्ष कमलेश अग्रवालले नेपालको ग्रिन हाईड्रोजनमा लगानीका लागि आग्रह गरे। अध्यक्ष अग्रवालले भने, ‘नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको सम्भावना उच्च छ, विश्वमै ग्रिन हाइड्रोजनको माग उच्च छ। पोल्याण्ड नेपालको पुरानो कूटनीतिक सम्बन्ध भएको मुलुक भएकाले पनि नेपाल लगानीका लागि आर्कषक गन्तव्य भएको जानकारी गराउँछु।’
नेपालमा अन्तर्राष्ट्रिय लगानी लगानीका लागि नीतिगत तवरमै सहजीकरण गरिने र लगानीको प्रतिफलको सुनिश्चितता गरिएको अध्यक्ष अग्रवालले बताए। उनले नेपालको जलविद्युत, पर्यटन, खानीलगायतका क्षेत्रमा लगानीका लागि डा. सवेस्टियन समक्ष आग्रह गरे।
उनले पर्यटकीय आर्कषक गन्तव्यहरुसमेत धेरै भएकाले पोल्याण्का नागरिकलाई नेपाल भ्रमणमा आउने वातावरण बनाउन समेत डा सवेस्टिएन समक्ष आग्रह गरे।
चेम्बर पदाधिकारीसँगको भेटका क्रममा आवसीय कार्यवहाक राजदूत डा. सेवेस्टियनले नेपालको चिया र कफीको बजार सम्भावना खोज्न सकिने बताए। दुई देशबीचको कूटनीतिक सम्बन्ध निकै पुरानो भएकाले आर्थिक दृष्टिकोणले पनि फाइदा खोज्नुपर्ने उनको भनाइ थियाे।
आवासीय राजदूत डा. सेवस्टियनसँगको भेटमा अध्यक्ष अग्रवाल, वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रा, उपाध्यक्षहरु उर्मिला श्रेष्ठ, दिपक श्रेष्ठ, निलकण्ठ चौलागाई एवम् सन्तोष पाण्डे सहभागी थिए।
यस्तै पोल्याण्डका लागि नेपालका कन्सोल जेनेरल लोकमान्य गोल्छाले नेपालको राम्रो कूटनीतिक सम्बन्ध भएको पोल्याण्डमा निर्यातको प्रचुर सम्भावना रहेको बताए।