आइतबार, १७ नोभेम्बर २०२४

सन् २०२३ मा साउदी अरबले १७० जनालाई दियो मृत्युदण्ड

News Image
• • •

साउदी अधिकारीहरूको घोषणामा आधारित एएफपीको तथ्याङ्कअनुसार साउदी अरबले सन् २०२३ मा एक सय ७० जनालाई मृत्युदण्ड दिएको छ। यसमा नयाँ वर्षको पूर्वसन्ध्यामा चार जना समावेश थिए। 

खाडी राज्य साउदी अरबमा सन् २०२२ मा कूल एक सय ४७ दोषीलाई मृत्युदण्ड दिइएको थियो। मृत्युदण्डको व्यापक प्रयोगको निन्दा गर्ने मानवअधिकार कार्यकर्ताहरूले साउदी अरबको आलोचना गरेका छन्। सन् २०१९ मा उक्त मुलुकले एक सय ८७ जनालाई मृत्युदण्ड दिएर रेकर्ड बनाएको थियो।  

आधिकारिक साउदी प्रेस एजेन्सीले आन्तरिक मन्त्रालयको विज्ञप्ति उद्धृत गर्दै आइतबार मृत्युदण्ड दिइएका चार जनालाई हत्याको अभियोगमा दोषी ठहर गरिएको बताएको छ। तीमध्ये दुई जनालाई उत्तरपश्चिमी सहर ताबुक, एक जनालाई राजधानी रियाद र अर्का एक जनालाई दक्षिणपश्चिमी जाजानमा मृत्युदण्ड दिइएको हो।

सन् २०२३ मा मृत्युदण्ड दिइएका मध्ये आतङ्कवादसँग सम्बन्धित अपराधको आरोपमा ३३ जना र देशद्रोहको आरोपमा दोषी ठहरिएका दुई सैनिक रहेका छन्। सबैभन्दा घातक महिना डिसेम्बरमा ३८ जनालाई मृत्युदण्ड दिइएको थियो।

एमनेस्टी इन्टरनेसनलले सन् २०२२ मा साउदी अरबले चीन र इरानबाहेक कुनै पनि मुलुकको तुलनामा सबैभन्दा धेरै व्यक्तिलाई मृत्युदण्ड दिएको बताएको छ। 

टाउको काटेर मृत्युदण्ड दिन कुख्यात यो मुलुकले सन् २०२२ मार्चमा एकै दिनमा ८१ जनालाई मृत्युदण्ड दिएर विश्वभरमा निन्दाको लहर उत्पन्न गरेको थियो। 

अधिकारीहरूका अनुसार शरिया कानुन, कुरानको शिक्षामा आधारित इस्लामिक कानुन संहिता र ‘सार्वजनिक व्यवस्था कायम राख्न’ का लागि मृत्युदण्ड आवश्यक छ। 

वास्तविक शासक क्राउन प्रिन्स मोहम्मद बिन सलमान विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातक मुलुक साउदी अरबलाई व्यवसाय र पर्यटन केन्द्रमा रूपान्तरण गर्न चाहन्छन्। यद्यपि कार्यकर्ताहरूका अनुसार मृत्युदण्ड जारी राख्दा प्रिन्स मोहम्मदको भिजन २०३० सुधार एजेन्डाको केन्द्रमा रहेको अझ खुला, सहिष्णु समाजको छविलाई कमजोर बनाउँछ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?