बिएल संवाददाता
काठमाडौं
म सानो छँदा राजनीतिक घटना र चर्चा गाउँघरतिर कम हुन्थे।बाजे गाउँको मुखिया हुनाले विभिन्न समस्याहरूको समाधान लिन मानिसहरू हाम्रो घरमा आउँथे। बाजेको निर्णय गर्ने क्षमताले मलाई सानैदेखि प्रभावित बनाएको छ।
औपचारिक शिक्षाविना जुन कोटीको विवेक र ज्ञान उहाँमा थियो, त्यो असाध्यै अनौठो थियो। मुखियाले न्याय–निसाफदेखि अभिभावकसम्मको कार्य गर्नुपर्दथ्यो। घर र मावलीघरमा यस्तै उर्बर वातावरण थियो। यसले पनि मलाई समाज सेवा र राजनीतितर्फ आकर्षित गरायो।
घरमा राजनीति, धर्मशास्त्र, मुद्दा मामिला आदिका बारेमा प्रशस्त चर्चा हुन्थे। घरमा बसेरै मैले धेरै विषयमा सुन्न, बुझ्न पाएँ। यी विषयले मलाई समाजसेवातर्फ विशेष रुचि जगायो।
राणा शासनकालतिर राजनीतितर्फ मानिसहरू खासै आकर्षित थिएनन्। २००७ सालतिर विजारोपण भएको राजनीतिक जागरण २०१५ सालमा अंकुरण हुँदै थियो। यसबीच २०१७ साल आइपुग्यो। पुष १ गतेपछि पनि अन्य क्षेत्रमा राजनीतिक गतिविधिको पनि खासै चर्चा थिएन।
कोइलाबासतिरबाट आउने मानिसहरूले बेलाबेलामा नेपाल शहर (काठमाडौँ) तिर भएका घटनाहरू बाजेलाई सुनाउन आउँथे। हुलाकमार्फत चिठ्ठी पत्रको आदानप्रदान हुन्थ्यो। भरपर्दो सञ्चार भनेकै हुलाक थियो। शिक्षा, प्रविधिको त मिर्मिरसम्म हाम्रो क्षेत्रमा पुगेको थिएन।
हाम्रा पुर्खाहरूले पहिलो र दोस्रो विश्वयुद्धमा भाग लिएका थिए। उनीहरूले युद्धका क्रममा विभिन्न देशका शहर देखेका हुनाले त्यसको वर्णन गर्थे। शहरमा यति अग्ला घर हुन्छन्, हवाईजहाज यस्तो हुन्छ, राइफलले यति टाढासम्म हान्न मिल्छलगायतका चर्चा सुनाउँथे। हाम्रा लागि ती दन्ते कथा जस्तै थिए।
राणाकालको अन्त्यतिर गाउँघरतिर पनि राणाविरुद्धका गतिविधिहरूको विशेष चर्चा आइरहन्थे। ‘श्री ३ सरकारका हुकुमले यस्तो हुँदैछ’ भन्ने आदेश सुन्न पाइन्थ्यो। राणाकालमा गौडामा बडाहाकिम बस्दथे। उनको अधिकार क्षेत्र कानुनी रूपमै उच्च हुन्थ्यो। गढीमा चौकी अर्थात् सुरक्षा निकाय बस्दथ्यो। गोश्वाराले त्यस क्षेत्रमा हुने प्रशासनिक क्रियाकलापको अभिलेख राख्थ्यो। मालअड्डा, वनअड्डा, हुलाक आदि सरकारी कार्यालयहरू भएकाे स्थानलाई गाेश्वरा भनिन्थ्यो।
जनचेतनाको कमी, सोझासाझा जनता, आर्थिक–राजनीतिक चहलपलको कमीले गर्दा सरकारी निकायको उपस्थिति निकै पातलो थियो। सरकारको मानिस भनेपछि छुट्टै मान, शान हुन्थ्यो। जिल्लामा रहेका सरकारी कार्यालयको नियन्त्रण गर्ने प्रत्यक्ष वा अधिकार बडाहाकिममा नै केन्द्रित हुन्थ्यो। बडाहाकिमलाई राजधानीबाट खबर गराएपछि मात्र उनले आफ्नो मातहतलाई जानकारी गराउँदथे। मानिसहरूलाई आफ्नै गोठ, पँधेरो, मेलापातभन्दा बाहिर जाने ध्यान, फुर्सद र ज्ञान थिएन।
वि.सं. २००७ साल मंसिरतिरको कुरा हो, त्रिभुवन सरकार सपरिवार भारतीय राजदूतावासमा गएको खबर प्युठानका बडाहाकिमले गाउँका मुखिया आदिलाई पत्रमार्फत जानकारी दिएका थिए। देशका महत्वपूर्ण घटना सीमित मानिसहरूलाई मात्र थाहा हुन्थ्यो। त्यस्ता खबर सबैलाई सुनाउन हुँदैन भन्ने मान्यता थियो। राजाले देश छोडेको विषयले खुब चर्चा पायो। बुढापाकाहरूले ‘के आश्चर्य र अनर्थ हुन लाग्यो’ भन्दै अचम्म मानेका थिए।
राजालाई विष्णुको अवतार मान्ने हाम्रो परम्परामा राजाले दरबार छोड्नुलाई अशुभको संकेत मानियो। केही बुढापाकाहरू 'रामले वनबास जानुपर्यो’ भनेर चित्त बुझाउँथे।
‘कलियुग भनेको यस्तै हो’ भनेर अर्काथरीले समयलाई दोष दिन्थे। ‘अनर्थ पो हुने भयो’ भनी अर्काथरीले भविष्यको चिन्ता गर्दथे। मानिसहरूको जमघट हुँदा यस्ता चर्चा परिचर्चा निकै हुन्थे। यो समयमा म कहिले गोठमा, कहिले बाजेसँग गाउँमा, कहिले आमा र बुबासँग बेँसीमा हुन्थेँ। घरमा हुँदा यस्ता विषय खुब सुन्न पाइन्थ्यो।
कोइलाबासतिरबाट आउने मानिसहरूले एकपछि अर्को हल्ला ल्याउँथे। हाम्रा लागि ती वास्तवमै रामायण र महाभारतका कथाजस्तै लाग्थे। राजाका सपरिवार दिल्लीतिर लाग्नुभएको रहेछ। शिकारको बहाना गरी भारतको दूतावासमा त्रिभुवन सरकार जाँदा उहाँका नाति ज्ञानेन्द्र मामा घरमा छुट्नुभएको रहेछ। ज्ञानेन्द्र सरकारलाई श्री ५ महाराजाधिराज बनाएको जानकारी बडाहाकिमले पत्रमार्फत मेरा बाजेलाई दिनुभएको थियो।
राणाविरुद्धको क्रान्तिले त्यसपछि उग्र रूप लिएको जस्तो लाग्छ। राणाको विरोधमा लागेको नेपाली कांग्रेसले बडाहाकिम आदिलाई कब्जामा लिएर उक्त पदमा आफ्ना मान्छे नियुक्त गरेका घटना सुन्नमा आइरहन्थ्यो।
फाल्गुन महिनाको ४ गते बिहान झण्डै १० बजेतिर हाम्रै क्षेत्रमाथि ठूलो र अनौठो आवाज आयो। म बाबुबाङको भैँसी गोठमा थिएँ। आकाशमा एकैचोटी ठूलो आवाज आयो। ‘ए जहाज आयो! जहाज आयो!’ भनेर मानिसहरू होहल्ला गर्न थाले। मैले पनि खुब नियालेर हेरेँ। पहिलोपटक मैले हवाईजहाज आफ्नै गाउँमाथि देखेँ। जहाजको विषयलाई लिएर पँधेरा, मेलापात, चौतारीमा निकै चर्चा चल्यो। कतिले पुच्छर देखेँ, कतिले मान्छे देखेँ, कतिले के देखेँ भन्ने कुरा प्रशस्तै सुन्न पाइन्थ्यो।
नेपालको इतिहास अनौठो छ, जनताको जित भएपछि पनि पुनः मोहनशम्शेर नै प्रधानमन्त्री बने। त्यस मन्त्रीमण्डलमा राणा पक्षबाट पाँच र जनतातर्फबाट पाँच गरी दश सदस्यीय मन्त्रीमण्डल बन्यो। एक वर्ष पुग्दा–नपुग्दै मोहनशम्शेर पदबाट हटेर जनताका छोराछोरी नै प्रधानमन्त्री हुने पद्धति बस्यो।
दिल्ली सम्झौताअन्तर्गत १० जना (५ नेपाली काङ्ग्रेस र ५ राणाहरू) सदस्य रहेका अन्तरिम मन्त्रीमण्डल गठन गर्ने सहमति बनेको थियो। जसअनुसार वि.सं. २००७ फागुन ७ मा निम्नअनुसार मन्त्री मण्डल बन्यो:
राणा-काङ्ग्रेस मन्त्रीमण्डल (२००७ साल फागुन ७ गते)
१. श्री ३ महाराज मोहनसम्शेर ज.ब.रा.- प्रधानमन्न्री तथा परराष्ट्र
२. मिनिष्टर बबरसम्शेर ज.ब.रा.- रक्षामन्त्री
३. विश्वेश्वरप्रसाद कोइराला- गृहमन्त्री
४. सुर्वणशम्शेर ज.ब.रा.- अर्थमन्त्री
५. चूडाराज शम्शेर- वन विभागको मन्त्री
६. गणेशमान सिंह- उद्योग वाणिज्यमन्त्री
७. नृपजङ्ग राणा- शिक्षामन्त्री
८. भद्रकाली मिश्र- यातायातमन्त्री
९. यज्ञबहादुर बस्न्यात- स्वास्थ्य र स्थानीय स्वायत्तशासन मन्त्री
१०. भरतमणि शर्मा- खाद्य र कृषिमन्त्री