बिएल संवाददाता
म्यान्मार
गत वर्ष म्यान्मारकाे स्वतन्त्रता दिवसमा कम्बोडिया, रुस, बेलारुस, सर्बिया र उत्तर कोरियाले शासकलाई बधाई तथा शुभकामना दिएका थिए। तर यो वर्ष कम्बोडिया, रुस, बेलारुस, उत्तर कोरिया, साउदी अरेबिया र नेपालले सोही किसिमको सन्देश पठाए। चीन, थाइल्यान्ड र भारत– जसलाई सैन्य जुन्ताले असल छिमेकीको संज्ञा दिन्थ्यो, तिनीहरूले नै जेनरल मिन आङ ह्लाइङलाई शुभकाना दिएनन्। यद्यपि यी देशका कूटनीतिज्ञहरू भने स्वतन्त्रता दिवसको कार्यक्रममा सामेल भएको सैनिक मुखपत्रले जनायाे।
म्यान्मारमा नागरिक सरकार हुँदा स्वतन्त्रता दिवसको भिन्नै रौनक हुन्थ्यो। सन् २०२१ मा प्रजातन्त्रवादी नेता आङ सान सुकी नेतृत्वको नेसनल लिग फर डेमोक्रेसीको सरकार थियो। ऊबेला चीन, थाइल्यान्ड, भारत, सिंगापुर र संयुक्त राज्य अमेरिकासहित २० देशले जनसरकारलाई स्वतन्त्रता दिवसमा शुभकामना सन्देश पठाएका थिए। तर सैन्य ‘कु’ यता दर्जनौं देशले म्यान्मारमाथि प्रतिबन्ध लगाएका छन्। कूटनीतिक सम्बन्ध तोडेका छन्। स्वतन्त्रता दिवसमा बधाई दिनुको साटो निन्दा गरेका छन्।
गत वर्ष स्वतन्त्रता दिवसमा सैन्य शासकलाई पाँच देशले बधाई तथा शुभकामना दिएका थिए। तर यो वर्ष ६ देशले बधाई तथा शुभकामना दिए। सैन्य शासकलाई माया गर्ने देशको सूचीमा नेपाल र साउदी अरेबिया थपिए। त्यसमा सर्बियाले अघिल्लो वर्ष समर्थन जनायो, अहिले फिर्ता लियो। नागरिकले बहिस्कार गरेको सैन्य उत्सवमा ६ देशले बधाई तथा शुभकामना दिँदा जनरल मिन आङ ह्लाइङ खुसीले गद्गद् छन्। सैन्य शासकको खुसीमा एउटा इँटा थप्ने काम नेपालले पनि गरेको छ। कसैले नदिएको बधाई–शुभकामना नेपाली राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले दिए।
म्यान्मारका क्रूर सैनिक शासक जनरल मिन आङ ह्लाइङलाई बधाई तथा शुभकामना दिएको भोलिपल्ट नेपाली राजदूतले म्यान्मारका राज्यमन्त्री ऊ को–कोलाई भेटे। राजदूतले भेटेका पात्र धार्मिक मामिला तथा संस्कृति मन्त्री हुन्। म्यान्मारका निर्दोष जनताको रगतमा सत्ता लम्ब्याइरहेका उनी धर्मको खोल ओढेर पाप गर्दै आइरहेका छन्। ‘स्वतन्त्रता र प्रजातन्त्र देउ’ भन्दा गोली ठोक्छन्। तिनै क्रूर शासकलाई नेपाली राष्ट्रपति र प्रधानमन्त्रीले स्वास्थ्य लाभको कामना गर्दै सन्देश पठाए।
सैनिकको आतंकले संकटको डिलमा उभिएको म्यान्मारलाई नेपालले मान्यता दिनु हुँदैन्थ्यो। जनतालाई गोली हान्दै मारिरहेको तानाशाहको स्वास्थ्य लाभको कामना एकदमै गलत थियो। कूटनीतिका हिसाबले पनि नेपालले म्यान्मारको सैनिकलाई स्वतन्त्रता दिवसको नाममा शुभकामना दिनु सन्देश होइनजस्तो लाग्छ। नेपाली राष्ट्रपति र प्रधानमन्त्रीले म्यान्मारका जनताको मन दुखाएका छन्। सैनिक शासकको पक्षमा खुलेर लागेको भान भएको छ।
म्यान्मार र नेपालको सम्बन्ध जनजनको सम्बन्ध हो। म्यान्मारको स्वतन्त्रता आन्दोलनका नायक राष्ट्रपिता जनरल आङ सान र नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक बीपी कोइरालाबीच ऊबेला ऐतिहासिक जनसम्बन्ध रहेको बर्मेली–नेपालीहरू बताउँछन्। तीन लाखको हाराहारीमा रहेका हामी नेपालीभाषीहरूले म्यान्मारलाई जन्मभूमि मान्दै आएका छौं। जसलाई यहाँका रैथानेहरू गोर्खा जाति भनेर चिन्छन्। म्यान्मारमा नेपालीहरूको बैग्लै शान र मान छ।
म्यान्मार अहिले गृहयुद्धमा छ। देशभर लडाइँ जारी छ। जनता अभावै–अभावमा बाँचेका छन्। म्यान्मारभन्दा टाढाको देश नेपालले आन्दोलित जनतालाई सहयोग गर्न सक्दैन भन्ने थाहा नै छ। अनि म्यान्मारका जनातले पनि नेपालबाट ठूलै सहयोगको अपेक्षा गरेका छैनाैं। तर शासकलाई खुसी पार्ने नाममा सेनाको शासनबाट पेलिएका जनतालाई चोट नथपेको भए धेरै राम्राे हुन्थ्यो। म्यान्मारका लागि नेपाली दूतावासले यसमा गल्ती गरेकाे छ। अघिल्ला वर्षहरूमा नगरेकाे कार्य राजदूतले गर्नु हुँदैन्थ्याे।
फेरि भन्छु– म्यान्मार र नेपालको सम्बन्ध जनता–जनताकाे सम्बन्ध हो। नेपालमा युद्ध हुँदा हाम्रा बा-आमाहरू रुन्थे रे। नेपाली मठ–मन्दिरमा गएर शान्तिको कामना गर्थे रे। नेपालमा भूकम्प जाँदा हामीहरू पनि रोएका छौं। मन्दिरमा गएर प्राथाना गरेका छौं। थाइल्यान्डमा गएका दाजुभाइ-दिदीबहिनीहरूले एकएक पैसा जम्मा गरेर नेपाली आमाबुबा, दाजुभाइ र दिदीबहिनीहरूलाई विपतमा सहयोग पुर्याएका छन्।
त्यो विपत्तिको समय थियो, त्यो मानवीय सहायता थियो। त्यो गर्नैपर्ने कर्त्तव्य थियो। अहिले नेपालमा शान्ति छाएको सामाजिक सञ्जालबाट पत्तो पाउँछौं। नेपाली–नेपाली मिलेर बसेका छन्। हामीलाई खुसी लाग्छ। र त, म्यान्मारका रैथानेहरूलाई नेपाल हाम्रो भावनाको देश हो भन्छौं। गोर्खालीहरूको पूर्खाको देश हो, नेपाल भन्दै धाक लगाउँछौं।
नेपाली शासकले म्यान्मारको सैन्य शासकलाई तथाकथित स्वतन्त्रता दिवसमा बधाई तथा शुभकामना दिएर सैनिकलाई मान्यता दिनु कुनै अर्थमा पनि अर्थपूर्ण छैनजस्तो लाग्छ। किनभने हामी नेपाली पुस्तक पढ्छौं। नेपालीपनमा बाँचेका छौं। नेपाली भाषा, कला, साहित्य वा संस्कृति भुलेका छैनौं। भान्सा कोठादेखि सिरानीसम्म नेपाली पुस्तक छन्। पुस्तकभित्र नेपाली कथा–व्यथा छन्। ती पुस्तकमा उल्लेख गरेका धेरै पाठ बिर्सेपनि थोरै लाइन ताजै छन्– नेपालीहरू स्वतन्त्रता र प्रजातन्त्रका लागि लडे। शासकको गोलीबाट हजारौं नेपाली मारिए। कैयन् नेपालीहरूले परिवारका सदस्य गुमाए, आफ्ना दाजुभाइ–दिदीबहिनी युद्धमैदानमै छोडे। नेपाली जनताले गरेको लामो संघर्षले अन्ततः दलीय व्यवस्था ल्यायो, जनताको सत्ता आयो। तर नेपाली जनताको व्यवस्थाका मालिकले नै म्यान्मारको सबैभन्दा डरलाग्दो पात्रलाई कसरी, कुन मुखले बधाई, शुभकामना वा प्रिय मित्र भन्न सके ?
नेपाली राष्ट्रपति र प्रधानमन्त्रीलाई भन्न मन छ, पीडा भोगेका जनता एकै होइनन् र? बन्दुकको बलमा शासन गर्नेहरू एउटै चरित्रका हुँदैनन् र ? युद्ध बखतको समय सबैको दयालाग्दो नै हुँदैन र ? युद्धमैदानबाट एउटा बर्मेली नागरिकको नेपाली सरकारलाई प्रश्न छ– तपाईं दुःखमा हुँदा, तपाईंको देशमा युद्ध हुँदा या व्यवस्था परिवर्तनको आन्दोलनमा हुँदा प्रदर्शनकारीको मनमा के खेल्थ्यो ? त्यो बखतका शासकलाई समर्थन गर्नेहरूबारे के सोच्नुहुन्थ्यो, के भन्नुहुन्थ्यो ? आज म्यान्मारका नागरिकहरूले तपाईंबारे त्यस्तै सोचिरहेका छन्। यो एउटा नेपालीभाषीले गरेको प्रश्न होइन, आम बर्मेलीको साझा प्रश्न हो।
हामीहरूले भुलेका छैनौं, ती मानवअधिकारवादीहरू, प्याराप्यारा विद्यार्थी मित्रहरू र मिडियाकर्मी मित्रहरूलाई ज–जसले सैन्य क्रूरताको खुलेर विरोध गर्नुभयो। यूएनको कार्यालय र म्यान्मार दूतावासअघि प्रदर्शन गर्नुभयो। एउटा देशको व्यक्तिले अर्को देशको प्रजातन्त्रवादी आन्दोलनको समर्थन गर्दा पक्राउ खानुभयो। तपाईंहरूलाई म्यान्मारको तर्फबाट धेरैधेरै माया छ। धेरैधेरै शुभकामना छ। हामी बर्मेलीहरूले सामाजिक सञ्जाल र समाचारबाट थाहा पाइरहेका छौं। हाम्रो आन्दोलन सफल भएपछि एकपटक नेपालमै गएर धन्यवाद दिन मन छ। त्यो दिन एकदिन आउने नै छ। तर मेरो प्यारो देशका घिनलाग्दा शासकलाई बधाई र शुभकामना व्यक्त गरेर हामी नागरिकहरूको चिक्त दुखाउने नेपाली शासकलाई पनि धन्यवाद नै छ।
खैर, नेपालप्रति कुनै गुनासो छैन। नेपालीहरू हाम्रा दाजुभाइ हुन्। म्यान्मार डरलाग्दो अवस्थामा छ। देशभित्र सैन्य तानाशाहीविरूद्धको क्रान्तिले फराकिलो रुप लिँदै गएको छ। युद्धमैदानमा नेपाली अर्थात् गोर्खाली पनि सामेल छन्। नेपालीहरू राष्ट्रिय एकता सरकारको पक्षमा छन्। एउटा बर्मा अर्थात् म्यान्मारभित्र कैयन् चरित्र छन्। हिटरलजस्तै क्रूर शासक छन्। गान्धीजस्तै शान्तिप्रेमी छन्। अनि नेपाली रगतकाे सहारा लिएर बाँचिरहेका नेपाली पूर्खाका सन्तानहरू पनि छाैं।