सोमबार, ३० जुन २०२५

के अमेरिकाको आक्रमणबाट ‘केही’ भएन? ‘इरानले अझै बनाउनसक्छ परमाणु बम’

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

परमाणु कार्यक्रमको अन्तर्राष्ट्रियरुपमा निगरानी गर्ने संस्था अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए)ले इरानसँग अझै परमाणु बम बनाउने क्षमता रहेको दाबी गरेको छ। अमेरिकी आक्रमणपछि राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी गुप्तचर निकाय सिआईले भने इरानका सबै परमाणु परियोजनाहरू ध्वस्त भइसकेको बताइरहेका छन्। 

संयुक्त राष्ट्रसंघको परमाणु निगरानी निकायका प्रमुख राफाएल ग्रोसीले अमेरिकी सरकारले दाबी गरेजसरी इरानका परमाणु परियोजनाहरू ध्वस्त नभएको बताए। उनका अनुसार इरानले केही महिनाभित्रै फेरि ती परमाणु परियोजनाहरूलाई पुर्नजीवित गर्ने क्षमता अझै गुमाइसकेको छैन। 

‘प्रस्टरुपमा भन्नुपर्दा त्यहाँ केही छैन वा सबै कुरा नष्ट भइसकेको छ भनेर दाबी गर्नै सक्दैन’ उनले भनेका छन् ‘केही महिनाभित्रै फेरि इरानले परमाणु बम बनाउनका लागि युरेनिअम प्रवर्द्धन सुरु गर्नसक्ने क्षमता गुमाइसकेको छैन। यी आक्रमणहरूबाट उसको त्यस्तो क्षमतामा कुनै क्षति भएको छैन।’ 

अमेरिकाले इरानको फोर्दो पहाडमुनि रहेको भूमिगत परमाणु केन्द्र र अरु दुईवटा केन्द्रहरूमा आक्रमण गरेको थियो। त्यसलगत्तै इरानले पनि कतार र इराकमा रहेका अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरिरहँदा ट्रम्पले भने इराजालय-इरान युद्धबिराम भएको घोषणा गरिदिए। यद्यपि अमेरिकाले आक्रमण गर्नभन्दा अघि नै इरानले ती केन्द्रहरू खाली गरिसकेको र अझै पनि सयौं परमाणु बमहरू तयार गर्नसक्ने सामग्रीहरू इरानले जोगाइराखेको समाचारहरू पनि सार्वजनिक भएका थिए। 

यसअघि पेन्टागनले तयार गरेको एउटा गोप्य प्रारम्भिक रिपोर्ट सञ्चारमाध्यमहरूमा चुहिएको थियो। त्यसमा ट्रम्पले भनेजस्तो अमेरिकाले आक्रमण गरेका ती परमाणु केन्द्रहरूमा क्षति नभएको भनिएको थियो। त्यसपछि अमेरिकी गुप्तचर निकायले फेरि त्यसलाई झुटो भन्दै अमेरिकाले चाहेजति लक्ष्य हासिल गरेको र परमाणु कार्यक्रमहरूबाट इरान दशकौं पछि धकेलिएको दाबी गरेको थिए। 

ट्रम्पले पनि पेन्टागनको रिपोर्टबारे समाचार प्रकाशित गर्ने सञ्चारमाध्यमहरूलाई ‘फेक न्यूज’ भन्दै आलोचना गरेका थिए। 

युद्ध सुरु भएलगत्तै सुरक्षित सुरुङमा लुकेर बसेका इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनेईले भने केही दिनअघि एउटा भिडिओ सन्देश जारी गर्ने ‘अमेरिकाले इरानमा आक्रमण गरेर केही पनि हासिल’ नगरेको भन्दै बरु इरानले इजरायलमाथि ‘सानदार’ जित हासिल गरेको बताएका थिए।  

यो बीचमा अमेरिका र इरानबीच हुने भनिएको वार्ताबारे टिप्पणीहरू पनि आएका छन्। इरानले वार्ताका लागि ‘अब फेरि आक्रमण नहुने ग्यारेन्टी’ मागेको छ। 

ट्रम्पले यसै साता इरानसँग कुटनीतिक वार्ता हुनसक्ने भनेका थिए।

इरानका उप-विदेशमन्त्री मजिद तख्त-रवान्चीले आफ्ना दूतहरूमार्फत वार्ताको प्रस्ताव गरेको तर आफ्ना मागहरूबारे प्रस्ट नपारेको बताएका छन्। 

‘वार्ता हुँदै गर्दा फेरि त्यस्ता आक्रमण हुँदैन भन्ने ग्यारेन्टी इरानले चाहन्छ’ उनले भनेका छन् ‘ट्रम्पले यस कुरामा हामीलाई प्रस्ट पारुन् र हामीलाई आत्मविश्वास दिलाउन्।’ 

गत जुन १५ मा अमेरिका र इरानबीच वार्ता हुने भनिएको थियो। तर त्यसको दुई दिनअघि नै इजरायलले इरानमाथि आक्रमण सुरु भयो। त्यसपछि दुबै देश युद्धमा होमिए। ओमनको राजधानी मस्कटमा तय भएको अमेरिका-इरानबीचको छैठौं चरणको उक्त वार्ता त्यसपछि भाँडिएको थियो। अन्तमा अमेरिका पनि युद्धमा सामेल भएपछि त्यसमा ‘बिराम’ लाग्यो। 

युद्धबिराम लगत्तै ट्रम्पले आफूले इरानसँग चाँडै वार्ता गर्ने बताएका थिए। र अहिले पनि उनले आफ्ना दूतहरूमार्फत इरानसँग कुटनीतिक वार्ताको वातावरण तयार गरिरहेका छन्। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?