आइतबार, १७ नोभेम्बर २०२४

‘उपहार अभिनेत्रीको चलचित्र’

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

चलचित्र ‘उपहार’मा मोफसलबाट काठमाडौँ आएर सङ्घर्ष गर्नेको कथालाई महिला पात्रमार्फत चित्रण गरिएको निर्देशक ज्ञानेन्द्र देउजाले बताएका छन्। आउँदो शुक्रबार (फागुन २५ गते)देखि प्रदर्शन गरिने उपहारको विषयमा जानकारी दिँदै उनले तीन महिला पात्रले चलचित्रलाई अगाडि बढाउने जानकारी दिए।

‘मैले आफ्नो कथालाई महिला पात्रमार्फत भन्ने कोशिस गरेको छु। यो नारीप्रधान चलचित्र हो। हामीले पुरुष पात्रमार्फत कथा भन्ने एकै किसिमका चलचित्र दर्शकमाझ ल्याउनु हुन्न् भन्ने लागेर नयाँ धार र सङ्घर्षको कथा ल्याएको हो’, निर्देशक देउजाले भने, ‘यो चलचित्र हेर्दा दर्शकले आफ्नै कथा महसुस गर्नु हुन्छ। उहाँहरूकै दुःख, भोगाइ र जीवनलाई चलचित्रमा ल्याउने प्रयास गरेको छु।’

उनले चलचित्रमार्फत नयाँ प्रतिभालाई अवसर दिएको जानकारी दिए। देउजाका अनुसार अभिनेता, गायक, गायिकाले पहिलोपटक चलचित्रमा काम गरेका छन्। उनले भने, ‘मैले अघिल्ला चलचित्रमा पनि नयाँ प्रतिभालाई दर्शकसम्म ल्याउने गरेको थिएँ। हामीले नयाँ र पुराना कलाकारलाई साथमा ल्याउनुपर्छ। यसले गर्दा चलचित्रलाई नयाँ अनुहार पनि प्राप्त हुन्छ।’

उनले अभिनेत्री रेखा थापासँग सात बढी चलचित्रमा काम गरेकाले सहकार्य सम्भव भएको बताए। अभिनेत्री थापाको निर्माण र अभिनय रहेको चलचित्र भएकाले पनि यसमा महिलाका मुद्दालाई उठाइएको देउजाको भनाइ छ।

‘चलचित्रमा सामाजिक विषयवस्तुलाई मनोरञ्जनपूर्ण हिसाबले प्रस्तुत गरेका छौँ। यहाँ समाज रुपान्तरणका कुरादेखि समाजमा भइरहने घटनाक्रम पनि उठान गरेका छौँ’, अभिनेत्री थापाले भने, ‘मेरो चलचित्रले दर्शकलाई मनोरञ्जनसँगै सन्देश दिने गरेको छ। त्यही शैलीलाई निरन्तरता दिएकी छु।’

‘उपहार’ चलचित्रमा अभिनेत्री थापासँगै पूजा शर्मा, बेनिषा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पणजङ्ग कार्की, शिशिर राणा, सुष्मा कार्की, विनोदकुमार पौडेललगायत कलाकारले अभिनय गरेका छन्।

रेखा फिल्मस् र कपनगढी सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र वितरण काठमाडौँ उपत्यकामा करण श्रेष्ठ र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?