बिएल संवाददाता
वासिङ्टन डीसी
नेपालमा आयोजित सांगीतिक रियालीटी शोको पाँचौं संस्करणमा इलामका विनोद राई भ्वाइस अफ नेपाल भएका छन्। उनको जितसँगै भ्वाइस अफ नेपाल नेपालकै नेपाली हुने सही मार्गमा भ्वाइस अफ नेपाल फर्किएको छ।
भ्वाइस अफ नेपाल भनेपछि यो नामले नै नेपालको भ्वाइस हो। नेपालको भ्वाइस अमेरिकाको कुनै भिलमा बसेको भुटानी जो अब अमेरिकी नागरिक भैसकेको छ, हुनुनपर्ने हो । किनकि, यो भ्वाइस अफ नेपाली हैन, भ्वाइस अफ नेपाल हो।
भ्वाइस अफ नेपाली भएको भए यसमा संसारभरकै कोही नेपालीभाषी बनाए पनि हुन्छ तर भ्वाइस अफ नेपाल भनेपछि नेपालकै भ्वाइस हुनुपर्छ ।
हुनुपर्ने यही हो तर पैसाका लागि जे पनि गर्ने र नेपाल र नेपालीका नाममा इमोसनल ब्लाकमेलिङ गर्ने भ्वाइस अफ नेपालका आयोजकहरूफे न आँखामा नेपाल देखे, न कानमा नेपाल सुने। उनीहरूले अमेरिकी डलर, भुटानी नेगुल्ट्रम र भारतीय रूपैयाँ मात्र देखे। त्यसमा पनि खासगरी अमेरिकामा पुनर्बास भएका भुटानी शरणार्थीहरूको अमेरिकी डलर नै बढी देखे ।
त्यसैको बलले सुरूदेखि नै भ्वाइस अफ नेपालको टाइटल प्रभावित भयो। पहिलो सिजनका विजयी सीडी विजय अघिकारी भुटानीका प्रिय गायक तथा संगीतकार हुन्। उनलाई नेपालीले भन्दा बढी भुटानीले नै चिन्छन्। अहिले त अमेरिकामा रहेका भुटानी संगीतको क्षेत्रमा आफ्नै खुट्टामा उभिन सक्ने भए तर सुरूवाति दिनमा उनीहरूलाई स्वर र संगीत दिएर सघाउनेमध्येमा सीडी एक हुन् । उनी भ्वाइस अफ नेपालको सिजन १ का लागि सही पात्र भए पनि उनलाई जिताउन अमेरिकामा रहेका भुटानीहरूको अमेरिकी डलर निर्णायक रह्यो ।
दोस्रो सिजनमा झापाका राम लिम्बूले बाजी मारे। यस सिजनमा सहभागी भुटानीहरू भोटिङ राउण्डमै नपुगेकाले उनीहरूको पैसाले खासै काम गरेन।
तेस्रो सिजनमा अमेरिकामा कोलम्बस राज्यमा बस्दै आएका भुटानी किरण गजमेर भ्वाइस अफ नेपाल बने। अमेरिकी नागरिक भैसकेको एक भुटानी भ्वाइस अफ नेपाल हुनु आफैंमा एक विडम्बना थियो। जो नेपाल जान पनि भिसा लिएर जानुपर्छ, त्यो भ्वाइस अफ नेपाल हुने यो अचम्मको प्रथा नेपाल भित्र्याउन जति आयोजक जिम्मेवार थिए, त्यतिकै जिम्मेवार थिए कोच प्रमोद खरेल। उनले केही चरणमा किरणलाई देखिनेगरी पक्षपोषण गरेर नै भोटिङ राउण्डसम्म पुर्याइदिएका थिए। त्यसवापत उनलाई अमेरिकामा हुने भुटानीको मेरो भ्वाइसमा जज बनाइदिने लगायतका आश्वासन बाँडिएको सुन्नमा आए पनि त्यो कार्यान्वयनमा आएको देखिदैन।
एक भुटानी अमेरिकी भ्वाइस अफ नेपाल हुनु हाँस्यास्पद भए पनि किरण आफैंमा एक प्रतिभाशाली गायक हुन्। उनले गलत टाइटल लिए भन्ने मात्र हो।
चौथो सिजनमा आएर अर्का भुटानी करण राई भ्वाइस अफ नेपाल भए। अमेरिकामा रहेका भुटानीका भाषामा 'फेरि पनि बस्तीकालाई देखाइयो' मात्रै भयो, उनी वास्तवमै त्यो टाइटलका लागि योग्य थिएनन्।औसत मात्र रहेका उनी अमेरिकामा रहेका खासगरी मंगोलयन मुलका भुटानीहरूले खनाएको पैसाकै कारण उनी भ्वाइस अफ नेपाल भए।
एकपछि अर्को भुटानी भ्याइस अफ नेपाल भएकोेमा नेपालमा यसको आलोचना भयो। नाम भ्वाइस अफ नेपाल तर पैसाकै बलमा लगातार भुटानीले टाइटल जित्ने भएपछि धेरै नेपाली प्रतिभाहरूमा किन सहभागी हुने भन्ने प्रश्न उठ्यो। यसले भ्वाइस अफ नेपालको ब्राण्ड इमेजमा पनि धक्का लाग्यो।
नाम भ्वाइस अफ नेपाल हुने तर अर्कै देशकाले त्यो टाइटल लिएर जाने नेपाली प्रतिभाका लागि अन्याय नै थियो। तर, यसपटक भने त्यस्तो भएन। एकजना भुटानी सहभागी भए पनि उनी भोटिङ राउण्डसम्म उक्लिनै सकेनन् जसले गर्दा यसपटक चाहेर पनि अमेरिकाका भुटानीको डलरले काम गरेन।
यसरी यसअघि लगातार दुईपटक भुटानीलाई भ्वाइस अफ नेपाल बनाएर अल्मलिएको भ्वाइस अफ नेपालको टाइटल फेरि एकपटक टाइटल अनुसारकै नेपाली प्रतिभाको हातमा फर्केको छ। यसमा आयोजकको भन्दा पनि नेपाली प्रतिभा र नेपाली मनकारी मतदाताको योगदान छ। उम्दा प्रतिभा हुनु र नेपाली मनकारी मतदाताले आफ्नो खल्ती रित्याउनाले यो टाइटलको लाज बचेको हो।
भ्वाइस अफ नेपालका न्यायाधीश रहेका गायक गायिकाले संगीतको सिमा हुदैन भन्ने सनातनी भनाइको रटान लगाउनुभन्दा पनि यो टाइटल के हो भन्नेतिर सोच्न जरूरी छ। टाइटल भ्वाइस अफ नेपाल भएपछि त्यो भ्वाइस सम्पूर्ण रूपमा नपालकै हुनुपर्छ। यदि नेपाली भाषीलाई सहभागी बनाउने हो भने त्यसका लागि या त फ्रेन्चाइससँग नेपाली विशिष्ठताको बारेमा कुरा गरेर भिन्नै क्याटागोरीमा प्रतिस्पर्धा गराउनुपर्छ या त रियालिटी शोको नाम नै भ्वाइस अफ नेपाली भाषी गरे हुन्छ।
उनीहरूले के पनि बुझ्नुपर्छ भने भ्वाइस अफ नेपाल टाइटलमा विदेशीलाई टाइटल दिनु नेपालको अपमान र नेपाली प्रतिभामाथिको अन्याय हो। आफूलाई नेपाली हुँ भन्ने र सधैं नेपालको नाम जप्नेले काम र व्यवहार पनि नेपाल र नेपाली नै भएर गर्नुपर्छ।
आयोजकले पनि पैसा नै सबै हो भन्ने सोच त्याग्नुपर्छ। पैसाकै लागि हो भने अरू व्यापार पनि गरे हुनछ। तर, संगीतको कलेबरमा नेपाल र नेपालीलाई इमोसनल ब्लाकमेलिङ गर्ने हो भने त्यसैअनुसारको व्यवहार पनि गर्नुपर्छ।
अमेरिकामा रहेका नेपालीभाषी भुटानीलाई यसो भनेकोमा दु:ख लाग्ला तर आग्रह/पूर्वाग्रह नराखी ठण्डा दिमादफे सोच्नुहोस् एकजना भुटानी अहिले अमेरिकी भैसकेको मान्छेले नेपाली भाषा बोल्छ भन्दैमा ऊ कसरी 'भ्वाइस अफ नेपाल' हुन सक्छ र ? भ्वाइस अफ नेपाल त नामले नै नेपालको भ्वाइस हो नि, नेपाली भ्वाइस त हैन।
यसरी सोचियो भने छर्लङ्गै हुन्छ। नत्र शिविरकाले बस्तीकालाई देखाउने नाममा यो उनीहरूको इख साँध्ने कुरा त होला, त्योभन्दा बढी केही पनि हुँदैन।
स्मरणीय रहोस्, भुटानीले नेपाल जाँदा, नेपाली भेट्दा र नेपाली सञ्चारमाध्यमममा जतिसुकै आफूलाई नेपाल र नेपालको शुभचिन्तक देखाए पनि अपवादबाहेक धेरैले नेपालका लाई बस्तीका भन्छन् र उनीहरूले आफूलाई भोटाङे भनेर हेला गरेको र नेपाली नागरिकता नदिएको भनेर रोष प्रकट गर्छन्। आजसम्म उनीहरूले पुनर्बास गरिएका अमेरिकालगायतका देशमा सयौंको संख्यामा संघसंस्था बनाएका होलान्, ती संस्थाका नाममा कतै पनि नेपाली शव्द सम्म भेटिदैन। सबैमा भुटानी मात्रै हुन्छ जस्तो कि भुट्निज अमेरिकन म्युजिक एशोसियसन अमेरिकामा रहेका नेपाली भाषी भुटानीहरूको सांगीतिक संस्था हो भने ग्लोबल भुट्निज लिटरेरी अर्गनाइजेसन (जीबीएलओ) संसारभर पुनर्बास भएका भुटनिजहरूको साहित्यिक संस्था हो। यी दुबैका कही पनि नेपाली छैन, यद्यपि उनीहरूको साहीतय पनि नेपाली भाषामै हुन्छ, संगीत पनि।
नेपाली शव्द विनाका यी दुई संस्थाका नाम नै उनीहरू नेपाली शव्दप्रति कति पूर्वाग्रही छन् भन्ने प्रतिनिधि उदाहरण हुन्।