बिएल संवाददाता
काठमाडाैं
जीवन रोका मगर ‘प्रादेशिक नवप्रतिभा पुरस्कार- २०८०’बाट पुरस्कृत भएका छन।
बिहीबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयबाट स्थापित राष्ट्रिय तथा प्रादेशिक नवप्रतिभा पुरस्कार वितरण समारोहमा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै संस्कृति विधातर्फ नवप्रतिभा पुरस्कार- २०८० द्वारा उनी पुरस्कृत भएका हुन्। रोका मगरले नगद रु. ५० हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन।
कार्यक्रममा नेपाली कला साहित्य, भाषा र इतिहास क्षेत्रमा अतुलनीय योगदान दिएका अन्य ९ वटा विभिन्न शीर्षकमा राष्ट्रिय र प्रादेशिक पुरस्कार गरी जम्मा ४७ जनालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेका हुन।
‘नेपाल सरकारबाट अमुल्य पुरस्कार ग्रहण गर्न पाउँदा निकै गर्वको महसुस गरेको छु’, सम्मानपत्र ग्रहण गर्दै रोका मगरले भने, ‘यस प्रकारको सम्मानले हाम्रो आदिवासीय मौलिक परम्परागत संस्कार, संस्कृति, भाषा साहित्य, भेषभुषाको उन्न्यनतिर निरन्तर लागिरहन थप हौसला प्रदान गरेको छ।’
रोल्पाको थबाङ गाउँपालिका- ३, मिरूलमा जन्मे हुर्केका जीवन रोका मगरले त्रिभुवन विश्वविद्यालयबाट कानुन विषयमा स्नातकसहित शिक्षा शास्त्र र राजनितिशास्त्रमा स्नाकोत्तर तह पूरा गरेका छन्।
विभिन्न साहित्यक तथा सामाजिक संघ संस्था र राजनीतिमा सक्रिय रहँदै आएका उनी करिब एक दशकसम्म शिक्षण पेशामासमेत अनुभव बटुलिसकेका छन्।
नेपाल मगर लेखक संघमार्पत विगत १५ वर्षदेखि मगर खाम भाषा साहित्य र संस्कृतिमा निरन्तर रोका मगरले योगदान दिँदै आएको छ। साथै उनले विगत १८ वर्षदेखि मगर खाममा लेखन प्रकाशन तथा अनुसन्धानात्मक कार्यहरुमा संलग्न छन। उनले विगत ३ वर्षदेखि मगर आदिवासी प्राज्ञिक प्रतिष्ठानमार्फत् अध्ययन, अनुसन्धान तथा स्थानीय मातृभाषा मगर खामको पाठ्क्रम तथा पाठ्यपुस्तक लेखन गर्दै आएको छ।
मगर भाषा र साहित्यमा करिब दुई दशकदेखि निरन्तर कलम चलाउँदै आएका उनले मगर खामबाट कविता संग्रह ‘गीन्मी ङाता कोस्याली-२०६२’, उपन्यास ‘आछिम-का सिल-२०६८’, कथा संग्रह ‘आछिम चेतैक- २०७१, निबन्ध संग्रह’ गे-मगराँत खै?- २०७३’ र नेपाल भाषामा उपन्यास ‘परेलीमा सजिएको आँसु-२०७१’, रोल्पा, रुकुम र बाग्लुङका मगरहरुको भाषा, साहित्य र संस्कृति- २०७७ लगायतका दर्जनौँ कृतिहरु प्रकाशन गरेका छन्।
हाल उनी नेपाल मगर लेखक संघ, केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष, नेपाल मगर संघ, केन्द्रीय समितिका भाषिक उपाध्यक्ष, मगर आदिवासी प्रज्ञिक प्रतिष्ठान, काठमाडौँका उपाध्यक्ष, भूम्या पर्व प्रतिष्ठान, नेपालका महासचिव राप्ती साहित्य परिषद्, रोल्पा, आजीवन सदस्य र लुम्बिनी वाङमय साहित्य परिषद्का सदस्य सदस्य हुन्।
लेखकसमेत रहेका उनले विभिन्न साहित्यिक लेखन तथा पत्र पत्रिकाको सम्पादन कार्यमा संलग्न तथा अनुसन्धानात्मक लेखहरु प्रकाशित गरेका छन।