कांग्रेसी नेता प्रकाशमानको ब्यंग– मेलम्चीको पानी धारामा ल्याउन नसक्ने सरकारले पानी जहाज ल्याउँछु भन्नु हास्यास्पद

बिएल

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले शान्ति सुरक्षा र सुशासनमा सरकार असफल भएको आरोप लगाएका छन्।

गणेशमान सिंह स्मृति पुस्तकालय सैनामैनाको आयोजनामा शनिबार मुर्गियामा आयोजित ‘लोकतन्त्र, नैतिकता, भ्रष्टाचार र सुशासनका लागि अध्ययनको भूमिका’ विषयक विचारगोष्ठीमा उनले मेलम्चीको पानी धारामा ल्याउन नसक्ने सरकारको पानी जहाज ल्याउने कुरा हास्यास्पद भएको टिप्पणी गरे।

नेता सिंहले सरकारले विधिको शासन लत्याएको उल्लेख गर्दै सरकारले विदेशी लगानी भित्र्याउन नसकेको आरोप लगाए। उनले सरकारले विकास बजेट समयमा खर्च गर्न नसकेको आरोपसमेत लगाउँदै विकास निर्माणदेखि सबै विषयमा सरकार असफल भएको दाबी गरे।

गणेशमान सिंह स्मृति पुस्तकालय सैनामैनाले लोकतन्त्रमा अध्ययनलाई प्रभावकारी बनाउन भन्दै केही समयदेखि पुस्तकालय निर्माणको प्रक्रिया अघि बढाएको छ । सो पुस्तकालयको संरक्षक नेता सिंह हुनुहुन्छ ।

गणेशमान सिंह स्मृति पुस्तकालय सैनामैनाका अध्यक्ष तेजप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं ५ का प्रदेश सदस्य फकरुद्दिन खाँन, नेपाली काङ्ग्रेसका जिल्लास्तरीय नेता रामचन्द्र ढकाल, फडेन्द्र शर्माले काङ्ग्रेसले आफ्नो कमजोरीको समीक्षा गर्नुपर्ने विचार व्यक्त गरे।

प्रकाशित मिति: : 2019-06-29 18:59:13

प्रतिकृया दिनुहोस्