कार्यशैलीमा सुधार नगरेसम्म अध्यादेशले पनि केही हुनेवाला छैनः मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालयहरूबीच बाँझिने कानुन र नियमहरूका कारण सुशासन कायम हुन नसकेको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित विज्ञापन प्रवर्द्धनमा विज्ञापन एजेन्सीको भूमिकासम्बन्धी क्षमता विकास कार्यक्रममा बोल्दै उनले समयअनुकुल नीतिहरू संशोधन र परिमार्जन नगर्दा हरेक काममा समस्या देखिएको बताए।

उनले भने, ‘समयअनुकुल नीतिहरू संशोधन नगर्दा परिमार्जन नगर्दा त्यसको आधारमा बन्ने कानुनहरू, नियमहरूले पनि समस्या पारेको छ। एउटा मन्त्रालय र अर्को मन्त्रालयमा समस्या पैदा गर्ने खालको कानुन निर्माण गर्दा सुशासन कायम गर्न नसकेको र राजस्व संकलनको लागि पनि समस्या भएको छ। अहिले विद्यमान जुन अस्पष्ट नीति नियम र कानुनहरू छन् त्यसले पनि समस्या ल्याएको छ।’

अहिले पनि कार्यशैलीमा समस्या रहेको भन्दै उनले कार्यशैलीमा सुधार नगरेसम्म जस्तोसुकै अध्यादेश ल्याए पनि काममा सुधार नहुने दाबी गरे।

उनले भने, ‘समस्याहरू भनेको अहिलेपनि हाम्रो कार्यशैलीमा छ। त्यसैले कार्यशैलीमा सुधार गरेन भने जस्तोसुकै अध्यादेश ल्याए पनि, जति कानुनहरू बनाए पनि सुधार हुँदैन।’

प्रकाशित मिति: : 2025-03-16 19:23:00

प्रतिकृया दिनुहोस्