प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिरता, सुशासन र विकासका लागि सही नीतिका साथ सरकार अघि बढिरहेकाले सत्ता साझेदार दलभित्र कुनै मतान्तर नरहेको स्पष्ट पारेका छन्।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र एमालेबीचको सहमतिबमोजिम अबको १३ महिनापछि कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गरेर एमाले सरकारमा सामेल हुने बताएका हुन्।
‘हाम्रा विरोधीहरूले सत्ता गठबन्धनभित्र खेल्न खोजेका छन्। हामीले हाम्रो लक्ष्य मिसन ०८४ अन्तर्गत आगामी निर्वाचनमा बहुमत ल्याउँछ भनेको छौँ। प्रतिस्पर्धी दल भएकाले कांग्रेसले पनि त्यो भन्न पाउँछ,’ ओलीले भने,‘हामी अहिले सँगै सरकारमा रहेर भोलि निर्वाचनमा आ-आफ्नो प्रतिस्पर्धाका आधारमा निर्वाचन लड्न तयार भएरै अघि बढेका छौं, त्यस अर्थमा मैले भन्दै आएको छु, आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने गरी काम गर्नुपर्छ। यसमा कुनै अन्योलमा रहनुपर्ने अवस्था छैन।’
विद्यार्थी आन्दोलन र खासगरी अनेरास्ववियुको अगुवाइमा ०३६ सालमा जनमत संंग्रहको घोषणा गर्न बाध्य बनाउने यही संगठन भएको र आफूहरूले नै देशमा साँच्चैको लोकतन्त्र र गणतन्त्र ल्याउन बलिदान गरेको स्मरण गरे।
उनले यस गणतन्त्रको रक्षा, सुदृढ र गतिशील तुल्याउन विद्यार्थीका नाममा तोडफोड, कुटपिट, शिक्षालयमा आगजनी र तालाबन्दी गर्ने खालका हिंसात्मक क्रियाकलापका लागि अनेरास्ववियुका लागि छुट नहुने बताउँदै उनले यस संगठनलाई परिवर्तनकारी, सभ्य र जिम्मेवारी संगठनका रुपमा रहन निर्देशन दिए।