आम निर्वाचन

दाङ क्षेत्र नम्बर ३ : चुनाव जित्न कसलाई कति सजिलो?   

आगामी मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन तोकिएसँगै निर्वाचन केन्द्रित चहलपल सुरू भइसकेको छ।

सम्भावित उम्मेदवारहरू आ-आफ्नै ढंगले कार्यक्रम गर्दै गइरहेका छन्। पाँच दलीय गठबन्धन र एमालेका सम्भावित उम्मेदवाहरू टिकट पाउनका लागि लविङ गरिरहेका छन्। 

दाङमा पनि सम्भावित उम्मेदवारहरू गाउँ केन्द्रित कार्यक्रममा सहभागी हुन थालेका छन्। यससँगै प्रदेश र प्रतिनिधिसभामा कसले टिकट पाउने भन्नेमा नेताहरूको आ-आफ्नै दाबी छ। दाङ क्षेत्र नम्बर ३ मा गठबन्धन भए कांग्रेसले टिकट पाउने नेताहरू आँकलन गर्छन्।

कांग्रेसले टिकट पाएमा कांग्रेसभित्र आकांक्षीहरू धेरै देखिन्छन्। धेरै आकांक्षीहरूमध्ये एक पटक मन्त्रीसमेत भइसकेका दिपक गिरी र तुलसीपुरको मेयरमा पराजित भएका गेहेन्द्र गिरीको नाम चर्चामा आउन थालेको छ। उनीहरू दाजुभाइका छोराहरू हुन्। तर यी दुई भाइहरू दुई गुटमा छन्।

जसको कारण गेहेन्द्र गिरीले स्थानीय तह निर्वाचनमा गठबन्धन हुँदा पनि तुलसीपुरको मेयरमा हार बेहोरेका थिए। उनको पक्षका नेताहरूले स्थानीय निर्वाचनमा दिपक गिरी पक्षले घात गरेकाले निर्वाचन हारिएको आरोप लगाउँदै आएको छ।

यस्तै क्षेत्र नम्बर ३ बाट एमालेमा तुलसीपुरका पूर्वमेयर घनश्याम पाण्डे र पूर्व राष्ट्रियसभा सदस्य कोमल वलीको नाम अहिले चर्चामा छ। उनीहरूले टिकट पाउन आ-आफ्नै तरिकाले नेताहरूसँग लविङ गरिरहेका छन्। दुबै नेताहरू केपी शर्मा ओली निकट मानिन्छन्। तर टिकट पाउनेमा कसले बाजी मार्ने हुन् भन्नेमा नेताहरूको दाबी फरक-फरक छ।

एमाले र गठबन्धनकाबीच प्रतिस्पर्धा भएमा निर्वाचन जित्नमा गठबन्धनका उम्मेदवारलाई सहज देखिन्छ। पश्चिम दाङ पहिलेको कांग्रेसको बलियो आधार इलाका पनि हो। तर पछिल्लो समय एमालेले पश्चिम दाङमा राम्रै प्रभाव पार्दै गइरहेको छ।

स्वर्गीय उत्तरकुमार वलीले तुलसीपुरदेखि पश्चिममा एमालेको प्रभाव राम्रो बनाएका थिए। जसको प्रभाव स्वरूप अहिले पनि बबई गाउँपालिका आफ्नो बलियो क्षेत्रका रूपमा एमालेले दाबी गर्ने गर्छ।

स्थानीय तहको निर्वाचनमा पार्टीभित्रको अन्तरघातका कारण बबई गाउँपालिका गुमाएको एमालेका नेताहरूले दाबी गर्दै अहिले पनि जनता एमालेकै पक्षमा रहेको बताउँछन्। गाउँपालिका अध्यक्ष र उपाध्यक्ष गुमाए पनि एमालेले ३ वडा जित्दै कार्यपालिकामा भने बहुमत कायम गरेको छ।

शान्तिनगरमा एमाले कमजोर पालिकाका रूपमा हेरिन्छ। यहाँ कांग्रेसको राम्रै प्रभाव भएको क्षेत्र हो। स्थानीय तहको निर्वाचनमा कांग्रेसले यहाँ जितेको छ। शान्तिनगरमा एमालेले मात्र २ वटा वडामा जितेको छ। यस्तै दंगीशरण गाउँपालिकामा पनि कांग्रेसले नै जितेको छ। यसमा एमालेले ९ वटामा ४ वटा वडामा जितेको थियो।

तुलसीपुर उपमहानगरपालिकामा भने गठबन्धनलाई हराउँदै एमालेले जितेको छ। यस पालिकामा क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने १५ वटा वडाहरूमध्ये एमालेले ८ वटा र गठबन्धनले ७ वटा जितेको छ। एमालेका नेताहरू तुलसीपुर जितेको र बबई, दंगीशरणमा आफ्नो प्रभाव रहेको आँकलसहित प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जित्नेमा दाबी गर्छन्।

यसरी स्थानीय तहको निर्वाचनलाई हेर्ने हो भने गठबन्धन र एमालेकाबीचमा प्रतिस्पर्धा देखिन्छ। गठबन्धनमा अन्तरघात हुने सम्भावना बढी र आकांक्षीहरू धेरै हुने हुँदा बागी उम्मेदवार उठ्ने सभावना पनि छ। यसअघि नै कांग्रेसका नेता हेमन्त मल्लले प्रतिनिधिसभा उठ्ने घोषणा गरिसकेका छन्।

यस अर्थमा पनि एमालेले प्रतिनिधि र प्रदेशसभामा जित्नेमा दाबी गर्छ। तर कांग्रेसका नेताहरू आफ्नो बलियो क्षेत्रसँगै गठबधन्न भएमा स्वतः जितिनेमा ढुक्क देखिन्छन्।

प्रकाशित मिति: : 2022-08-22 22:00:00

प्रतिकृया दिनुहोस्