नेपाली राजनीतिमा छोटो समयमा चर्चामा आउन सफल पात्र हुन्, रवीन्द्र मिश्र। सदियौंदेखि नेपालको राजनीतिमा हालिमुहाली गर्दै आएका पुराना पार्टीलाई हराएर बिल्कुलै नयाँ वैकल्पिक राजनीतिक दल खोल्ने र सुसंस्कृत राजनीतिको जग बसाल्ने भन्दै पत्रकारिता छाडेर २०७३ बाट नेपाली राजनीतिमा होमिएका हुन् उनी।
राजनीतिमा लाग्नुभन्दा अगाडि आफू जीवनमा कुनै पनि पार्टीमा आवद्ध नभएको दाबी गर्ने उनले लण्डन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिमा स्नातकोत्तर गरेका छन् भने उनको मुख्य पेसा पत्रकारिता थियो।
सुरुमा साझा पार्टी खोलेर भारतको आम आदमी पार्टी जस्तो वैकल्पिक शक्ति बन्ने सपना थियो उनको। तर, उनको राजनीतिक यात्रामा निकै उतारचढावहरु आए। उनको राजनीतिक यात्रा सँधै अस्थिर रह्यो। कहिले स्थिर हुन सकेनन्। उज्वल थापाको विवेकशील दलसँग एकता गरेको उनको पार्टी ५ वर्षको अन्तरमा फुट्ने र जुट्ने श्रृङ्खला चलिनै रह्यो।
हाल उनले आफ्नो वैकल्पिक दल बनाउने योजनालाई पुरातनवादी सोच भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को वरिष्ठ उपाध्यक्ष पदसँग साटेका छन्।
०७४ सालको संघीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट विवेकशील दलसँग जोडिएर संसद छिर्ने भूत सवार भयो उनमा। तर, उनको त्यो सपना पनि तुहियो जब उनी गणेशमान पुत्र प्रकाशमान सिंहसँग झिनो मतान्तरले पराजित भए।
नमिठाे हार व्यहोरेका मिश्रले अधैर्यता र असंयमता प्रदर्शन गरे। हार खाने बित्तिकै जनतामासु र रक्सीमा बिकेको आशय व्यक्त गर्दै जनमतको अपमान गरे उनले। लोकतन्त्रमा जनताको मत निर्णायक हो। आफूले जिते जनता जनार्दन, अरुले जिते बिकाउ ? फेरि उनी सोही क्षेत्रबाट निर्वाचन लड्दैछन्। यदि हारे भने फेरि जनमतको अपमान पो गर्ने हुन् कि ?
साझा पार्टीबाट पार नलाग्ने भएपछि विवेकशील पार्टीसँग एकता गरे। तर, विवेकशील दलको बुई चढ्दा पनि संसद छिर्न सकेनन्। उनको विवेकशील साझाले वैकल्पिक राजनीतिक शक्तिको कुनै विकल्प दिन सकेन। अब उनी संसद छिर्ने दाउमा राष्ट्रिय प्रजातन्त्र पार्टीको बुई चढेका छन्।
उनले राजनीतिमा आदर्श भनेको सिद्धान्तमा र जनता छक्याउने साधन मात्र रहेछ, व्यवहारमा त सबै एउटै ड्याङका मुला रहेछन् भन्ने कुरालाई यथार्थमा प्रमाणित गराइदिएका छन्।
उनी राजनीतिमा जतिजति असफल हुँदै गएका छन्, त्यतित्यति पुरातनवादी लाइन लिंदै गएका छन्।
राजतन्त्र, संघीयता र धर्म निरपेक्षताको मुद्दा निकालेर राजनीतिक वृत्तमा चर्चामा रहिराख्न खोज्छन्। जनमत संग्रहका कुरा गरिरहन्छन्।
राजनीतिमा लागेदेखि रवीन्द्र मिश्रको दिन वर्तमानका सत्ता पक्ष र प्रतिपक्षको आलोचना गर्दैमा बित्ने गरेको छ। मिश्रको मुद्दा वर्तमान राज्य सत्ताको विरोध गर्नु मात्रै हो कि भन्ने पनि भान पर्न थालेको छ।
चर्चामा आउनका लागि जे पनि फण्डा गर्न सक्छन् उनी। उनी जे बिक्छ, राजनीतिक वृत्तमा जुन मुद्दा चर्चाको केन्द्रमा हुन्छ त्यही मुद्दाबाट जनताको ‘सेन्टिमेन्ट’सँग खेल्न माहिर छन्। उनका अन्य मुद्धामा जनताको खासै चासो पनि छैन जति उनी अरुलाई गाली गर्छन्।
हो, उनमा देशप्रेमको भावना पनि होला। तर, गालीको राजनीति कहिलेसम्म गर्ने ? के विचारको राजनीति सम्भव छैन नेपालमा ?
तर, उनी यस कुरालाई नर्काछन। बिएल नेपाली सेवासँग बोल्दै उनले भनेका छन्,‘चुनावमा मात्र नभई अरु समयमा पनि सत्तामा धेरै पटक बसिसकेका नेताहरु प्रतिपक्षबाट आलोचित हुन्छन्। त्यो आलोचना मैले पनि गरेको छु। तर, मेरो आलोचना सबै भद्र हुन्छन्। मैले तथानाम गाली गर्दिनँ।’