हावाको बेगमा सपनाको ठूलो भारी बोकेर खाडीको यात्रामा निस्किन्छन्, हजारौं उर्जाशील तन्नेरी। र, ओर्लिन्छन् उखरमाउलो उष्णता थेग्न मरूभूमिको कर्कसभित्र।
बेरोजगार नेपाली युवा–युवतीहरू आर्कषक तलबको प्रलोभनमा पर्छन्। दिनदिनै ‘टोले दलाल’ बाट लुटिन्छन्, ठगिन्छन् र मध्य–पूर्वको खाडीमा धकेलिन्छन्। जीवनको स्वप्न बोकेर जब कार्यस्थलमा पुग्छन्, तब भोग्छन् शोषणको पहाड।
मरूभूमिले युवा उर्जा चिन्दैन। चर्काे घामले पनि खलखल बगेको पसिना सोस्दैन। मानिसले मानिसको बेदना बुझ्दैनन्। दलालले इमान्दारको मर्म देख्दैनन्। अनि एउटा तन्नेरी तनक्क तन्केर बोल्छ, खाडीको कथा।
साउदी अरबको २२ तले भवनमाथि ४४ गुणा ठूला काल्पनिक सपनाले पोल्दो रहेछ, मन। आखिर खाडीको कथा न पर्याे। न पूरा हुन्छ, न त कहिल्यै सकिन्छ, सपनाको एउटा थुँगा।
बेलाबेला राजधानी रियादको गगनचुम्बी महलबाट एकोहोरो कल्पिन्छ, एउटा साेच। फुट्न थाल्छ, बोली। र, भन्छ, ‘दुई पैसा जम्मा गरेर जन्मभूमितिरै जा...!’ तर छिटोछिटो पैसा कमाएर गाउँ फर्किने सोच प्रवासको हावाले एकैचोटी उडाइदिँदो रैछ।
परिवारको यादले बिथोल्छन्, कैयौं सपना। न छिट्टै परिवार भेट्न कर्मभूमि छोड्न नै सकिन्छ। न त खाडीको बसाइँले ठूलो खुसी नै दिइरहेको छ। तर पनि बस्नैपर्ने बाध्यता छ।
हरपल गाँउको यादले छट्पटाइरहँदा उडौं–उडौंजस्तो लाग्छ, काठमाडौं। कहिलेकाहीँ त तुफानी बेगमा गाउँ पुगेको सपना पनि देख्छु। आखिर मनभित्रको कल्पना मनबाटै बल्झिँदो रहेछ।
बर्खा लाग्यो, घर–आँगनमा झर्याे कि भेल–बाढी। बाटो–घाटो, खानेपानी र पुल–पुलेसा बने कि बनेनन्? गाउँ–समाजमा आयाे कि आएन विकास र समृद्धि? कति फड्को मारे होला हितैसीहरूले? आमा कस्ती हुनुभयो होला? काका–काकी के गर्दै होलान्? पल्लाघरे दाइ–भाइ, उपल्लो घरकी दिदी–बहिनीहरू कति कक्षामा पढ्दै होलान्? कहिलेकाहीँ यस्तै–यस्तै कुराले तर्साउँछ, मेरो मन–मस्तिष्क।
गाँउको नयाँ–नयाँ प्रगति देख्न हतारिरहेका छन्, यी नयन। सुख–दुःखको भारी बिसाउँदा–बिसाउँदै खाडीको तातो घाममा जसोतसो कटिरहेका छन्, आखिरी दिनहरू। जब देखिन्छन्, बेदनाका पहाडै–पहाड। बेलामौकामा एकोहोरिरहन्छ, मन, मन अनि मन।
साउदी अरबको मरूभूमिमा भेटिएका कतिपय प्रवासी मित्रहरू घतलाग्दो प्रश्न सोध्छन्, ‘सबैभन्दा अग्लो सपना त सगरमाथाबाट देखिन्छ, होला। किन आएको संगम समुन्द्र छेउको खाडीमा।’
अनि उनीहरू तत्कालै जवाफ पाउँछन्, ‘कथाभित्र ठूलो कथा छ। मलाई अग्लो स्थानबाट सपना देख्नु छैन। चिसो वा तातोसँग पनि मतलब छैन। बस्, परिवारको सपना पूरा होउन्। चाहे त्यो सगरमाथाबाट होस् या मरूभूमिबाट।’
यी साथीहरू भारतीय, बंगाली र पाकिस्तानी हुन्। उनीहरूका पनि मेराभन्दा कम छैनन्, कथा–व्यथा। र, कहिल्यै सोधिनँ तिम्रा सपनाहरू उड्छन्, हिँड्छन् या दौडिन्छन्।
जे भएपनि, जहाँ भएपनि काम त गर्नैपर्याे नि। दुःख नगरी कहाँ पेट भर्न पाइन्छ र? पैसाबिना मानव संसार अपूर्ण छ। दामका लागि काम गर्नैपर्छ। भोक, प्यास र थकाइ कहिँकतै देख्दैनन्, खाडीका साहुजन। झन् लामा–लामा कहानी छन्, पीडाका। उत्तिकै कहालीलाग्दा र यातनाले भरिएका छन्, श्रम–कोठी।
खाडीका थुप्रै समस्याहरू उजागर भए। तर समाधान भएनन्। कम्पनीदेखि भेडी गोठसम्म शोषणका अनेकौं छन्, नेपाली कथा। यो सुनौलाे युगमा पनि कामदारहरू बन्धकजस्तै छन्। चेलीहरूका व्यथा पनि उस्तै छन्। हा...य! कहिलेकाहीँ मनमा गाँठो परेर आउँछ।
भविष्य, वास्तविकता र घरपरिवारको सम्झनाले कैयौंपटक म आफैँ पनि रोएका थुप्रै पलहरू छन्। तर सुनिदिने कसले? आँखाको आँसु आँखामै सुकाउनु पर्दोरहेछ। कामको थकानमा चेपिएका बेला ‘आमा’ भनेर बोलाउन मन लाग्दा नमिल्दोरहेछ, खाडीमा। परिवारको काखमा रमाउने मन कसलाई छैन र? तरपनि दुनियाँ स्वार्थी छ।
अमेरिका–यूरोप छिरेका कमै नेपालीहरू गाउँ–समाज भुल्न सक्छन्। मोज मस्तीमा हराउन सक्छन्। तर बाध्यताले खाडी छिरेकाहरू दुःखमा हराउन सक्छन्, देश भुल्न सक्दैनन्। पैसाको लागि उर्जाशील जवानी खाडीलाई सुम्पिन तयार हुन्छौं। यो सबै–सबै नेपालीहरूको वास्तविक कथा हो। भलै, मैले भोगेँ वा भोगिनँ, त्यो दोस्रो पाटो रह्यो।
पिँजडाको ‘सुगा’ र ‘परदेशी’ को जीवन उस्तै–उस्तै रहेछ। बाहिरबाट निकै सुन्दर देखिन्छ। तर भित्री पीडा अनि वेदना समुन्द्रभन्दा गहिरो, सगरमाथाभन्दा अग्लो, ‘नाइल’भन्दा लामो छ। भोग्नेलाई मात्र थाहा हुँदोरहेछ दुःखको कथा।
सुन्दर भविष्यको ठूलो सपना देखेर परदेश पसेका तन्नेरीहरू परिवारका लागि आहुती दिएर मरूभूमिमा बाँचिरहेका छन्। यो एउटा युवाको कथा हो, जहाँ हजारौं युवाहरूले भोगिरहेका छन्। यो नेपाली युवाहरूले भोगिरहेकाे खाडीको कहरलाग्दो व्यथा हो।
अति राम्रो छ
Dherai ramro xa Ajhai ramro gardai janu. Best of luck