सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) को कार्यकारी अध्यक्ष पदमा जेपी (जगत प्रकाश) नड्डा नियुक्त भएका छन्।
नरेन्द्र मोदीको पहिलो कार्यकालमा स्वास्थ्य मन्त्री रहेका नड्डा हिमाचल प्रदेशका लोकप्रिय नेता मानिन्छन्।
उनी यो क्षेत्रबाट राष्ट्रियस्तरको पार्टीमा अध्यक्ष पदको जिम्मेवारी सम्हाल्ने पहिलो व्यक्ति पनि हुन्। पार्टी अध्यक्ष अमित शाहलाई मोदीको दोस्रो कार्यकालमा गृह मन्त्रालयको पद सुम्पिएपछि नड्डालाई कार्यकारी अध्यक्षमा नियुक्त गरिएको हो।
भारतको लोकसभा निर्वाचनमा बिजेपीको उत्कृष्ट प्रदर्शनसँगै अध्यक्ष शाहलाई सरकारमा समावेश गर्ने र नड्डालाई पार्टीको जिम्मेवारी सुम्पिने अनुमान गरिएको थियो।
नड्डालाई यो वर्षको अन्त्यसम्म पार्टी अध्यक्षको जिम्मेवारी सुम्पिसक्ने सम्भावना रहेको छ। सन् १९७७ मा भारतको बिहारमा भएको जेपी आन्दोलनपछि उनी राजनीतिमा प्रवेश गरेका थिए।
नड्डाले सन् १९९३ मा पहिलो पल्ट हिमाचलको बिलासपुर सिटबाट चुनाव जितेका थिए। उनी प्रेमकुमार धुमलको सरकारमा वन–पर्यावरण, विज्ञान तथा टेक्नोलोजी विभाग मन्त्री बने।
सन् २०१२ मा उनी हिमाचल प्रदेशबाट राज्यसभामा प्रवेश गरेका थिए।