के माओवादी सरकारमा जाँदैछ? लेखनाथ भन्छन्- छलफल सुरु भइसक्यो

Break n Links
Break n Links

नेकपा माओवादी (केन्द्र)का सांसद लेखनाथ दाहालले गणतन्त्र पक्षधरको सरकार बनाउन छलफल सुरु भइसकेको दाबी गरेका छन्।

आइतबार संसद भवन परिसर बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले गणतन्त्रवादीहरूको सरकार बन्ने सम्भावनाको ढोका खुलेको र प्रारम्भिक छलफलसमेत सुरु भइसकेको दाबी गरेका हुन्।

दाहालले अहिले सडकभन्दा पनि सरकारमा समस्या देखिएको र जनतामा निराशा पैदा भएकाले प्रतिगामीलाई फाइदा पुगेको जिकिर गरे। त्यसलाई निरुत्साहित गर्नका लागि एमालेभन्दा कांग्रेससँग बढी छलफल हुने जिकिर गरे।

सांसद दाहालले एमालेतर्फ इंगित गर्दै अबको सहकार्य गणतन्त्र विरोधीसँग नहुने र गणतन्त्र पक्षधर एकठाउँमा उभिएर सहकार्य हुने दाबी गरे।

उनले भने, ‘गणतन्त्र पक्षधरहरूको सरकार बन्ने सम्भावनाको ढोका खुलेको छ। प्रारम्भिक छलफल सुरु गरिसकेका छौं। यसले आकार ग्रहण गरिसकेको छैन।’

केहीदिनदेखि माओवादी केन्द्र पनि सरकारमा सहभागी हुन लागेको चर्चा सुरु भएको थियो। तर, ती चर्चामा सत्यता नभएको भन्दै अध्यक्ष प्रचण्डपुत्री गंगा दाहालले खण्डन गरेकी थिइन्।

हिजोमात्र प्रचण्डपुत्री गंगा दाहालले माओवादीको अभियानबाट आत्तिएर पार्टी र नेतृत्वलाई कमजोर पार्ने उद्देश्यले ‘माओवादी केन्द्र पनि सरकारमा जाँदैछ’ भन्ने एउटा बेतुकको हल्ला बजारमा चलाईएको र यसमा बिल्कुलै सत्यता नभएको दाबी गरेकी थिइन्।

उनले भनेकी थिइन्, ‘हाम्रो पार्टी र नेतृत्वको अहिले सरकारमा जाने भन्ने कुरा निरर्थक हल्लामात्रै भएको जानकारी गराँउछौं।’ 

राजन दाहालको अभिव्यक्तिले राजनीतिक वृतमा तरंग ल्याएको छ। उनको अभिव्यक्तिपछि प्रचण्डपुत्रीको खण्डनलाई खण्डनकै रुपमा मात्र बुझिएको छ।

यता माओवादीका केही शीर्ष नेताहरूले भने सरकारमा जाने माओवादीको तयारीको आलोचना गरेका छन्। उनीहरूले प्रतिगामी तत्वहरूसँग सरकारमा जानुभन्दा माओवादीले जनताको घरदैलो अभियानलाई निरन्तरता दिनुपर्ने बताएका छन्।

माओवादीका एक शीर्ष नेताले भने, ‘यो कुनै आधिकारिक नेताबाट आएको होइन। पत्याउनुपर्ने आधार पनि छैन। निराधार हल्ला फैलाएकोमा उहाँलाई पार्टीले स्पष्टीकरण सोध्नुपर्छ।’

प्रकाशित मिति: : 2025-03-16 13:47:00

प्रतिकृया दिनुहोस्