नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनअन्तर्गत आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय वनस्थलीमा धर्ना दिएको छ।
शुक्रबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय, पेरिस डाँडामा धर्ना दिएका शिक्षकहरूले आज रास्वपा पार्टी कार्यालयमा धर्ना दिएका हुन्।
शिक्षकहरूले मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपा, बुधबार एमाले कार्यालयमा धर्ना दिएका थिए।
दोस्रो चरणको आन्दोलनअन्तर्गत उनीहरूले चैत ५ गतेसम्म विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरेका छन्।
विद्यालय शिक्षा ऐन यही हिउँदे अधिवेशनबाट जारी गर्नुपर्ने शिक्षक महासंघको माग छ।
शिक्षकहरूको स्थायित्व, सेवा सुविधा, बालविकास कार्यक्रम, विशेष शिक्षा र सरकारी तथा निजी विद्यालयबीचको भेदभाव हटाउनुपर्ने मागसहित महासंघ दोस्रो चरणको आन्दोलनमा छ।
महासंघले पहिलो चरणको आन्दोलनपछि पनि ठोस पहल नभएको भन्दै अब संघर्षलाई अझ सशक्त बनाउने चेतावनी दिएको छ।
पार्टी कार्यालयहरूमा धर्नाको कार्यक्रमपछि सांसदहरूसँग भेटघाट तथा चैत २० बाट पक्षीकरण, काठमाडौंमा रिले अनसन र काठमाडौं केन्द्रीत अनिश्चितकालीन सडक आन्दोलन गर्ने महासंघको तयारी छ।