नेकपा (एमाले) सांसद रघुजी पन्तले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई आफूसँग बहस गर्ने भए इतिहास पढेर आउन भनेका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा सांसद पन्तले आफ्नो धारणा राख्ने क्रममा राप्रपाका सांसद शाही उठेर विरोध जनाउन खोजेपछि जवाफमा पन्तले आफूसँग बहस गर्ने भए इतिहास पढेर आउन भनेका हुन्।
आफूले बोल्लाबोल्दै शाहीले नियमापत्ति गरेपछि सांसद पन्त आक्रोशित भए। उनले शाहीलाई डिस्टर्ब नगर्न पन्तले आग्रह गरे तर शाही चुप नलागेपछि पन्तले आफूसँग बहस गर्ने भए इतिहास पढेर आउन सुझाव दिए।
पन्तले भने, ‘म इतिहासबाट सावित गरेर देखाइदिन्छु। इतिहासका अंश पढेर आउनुस्। मसँग बहस गर्ने हो भने इतिहास पढेर आउने। जुम्लामा हाहु गरेर आएको जस्तो होइन। इतिहास पढेर आउ।’
सांसद शाहीले भने, ‘जे पायो त्यही बोल्न पाइन्छ?’ जवाफमा पन्तले भने, ‘के बोल्न पाइन्छ मलाई थाहा छ ।’
पन्तले भने, ‘नेपाल दक्षिण एशियामा गरिब छ। राजाको पालामा पनि त झन गरिब थियो। तपाईंहरू जुलुश निकाल्नुहुन्छ, राजावादीहरूको भनेर। त्यहाँ हेर्दाखेरी सबभन्दा तल देश, देशभन्दा माथि नरेश, नरेशभन्दा माथि योगी र उत्तरप्रदेश, यही हो देशभक्ति? देशभक्तिको नमूना यही हो? मैले पढेको इतिहास गलत हो भने पुष्टि गर्न आउनुहोस्।’
साथै उनले राजा महेन्द्रको पालामा (सक्रिय राजतन्त्र) कै पालामा नेपालको चुच्चे नक्शा हराएको आरोप लगाए। राजा महेन्द्रको पालामा नेपालको चुच्चे नक्शामात्रै नभएर लोकतन्त्र पनि हराएको पन्तको टिप्पणी छ।
उनले ज्ञानेन्द्र शाहको सक्रिय राजतन्त्रको पालामा भएका काण्ड पनि याद गराए। उनले भने, ‘सभामुखज्यूको पनि गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु, अहिलेको संविधानले राजतन्त्र चिन्दैन। त्यस विषयमा यो संसदभित्र छलफल गर्न पाईँदैन। राजतन्त्र भनेको विशेषाधिकार हो, संसारको प्रवाह भनेको गणतन्त्र हो।’
यसैगरी उनले तथ्यमा, तर्कमा र यर्थाथमा उभिएर गर्यो भने मात्र राजनीति टिकाउ हुने बताए।
उनले भने, ‘भ्रमको खेतीले केही समय मानिसलाई झुक्याउन सकिएला, निराशाको खेतीले केही समय मानिसलाई अलमलमा पार्न सकिएला। तर सँधै अलमलमा पार्न सकिँदैन। अहिले देशमा भ्रम र निराशाको खेती व्यापक रुपमा चलेको छ।’