व्यंग

डाम

Breaknlinks
Breaknlinks

१.
हिजो टोलमा दुई कुकुरको बीचमा निकै चर्का चर्कि भयो, टोल नै हल्लाउने गरी। एउटा कुकुर बाटोमा थियो अर्को कुकुर घरको झ्यालभित्र ग्रीलको पछाडि।

हामी रमिता हेरिरहेका थियौं। जसले जति भने पनि कुकुरको दुई मात्र वर्ग हुन्छ रे- ‘आची चाट्ने र मुख चाट्ने’। हिजोको कुकुरहरूको बीचको त्यो चर्को भनाभन यही वर्गभेदले गर्दा उत्पन्न भएको हो कि! बाटोको कुकुरले झ्यालको कुकुरलाई सँधै भन्ने भनेको ‘तेरो घाँटीको सिक्रीको डाम हेर्’, अनि झ्यालको कुकुरले तल बाटोको कुकुरलाई हप्काउने भनेको ‘तेरो जीउको लुतोको डाम हेर्’।

आखिर, जुन वर्गमा बसेर जीवन बिताए पनि जीवनले एउटा ‘डाम’ त छोड्दो नै रहेछ। र ति डाम ‘घाउ’ ले बनेका हुँदा रहेछन्।

२.
वास्तवमा त्यो 'डाम' भनेकै उसको ‘पहिचान’ हो रे। उ त्यही डामबाट छुट्टिन्छ, आची चाट्ने हो कि मुख चाट्ने हो भनेर। त्यसैले कुकुरको त्यो लडाइ भनेको वर्गको लडाइ होइन ‘पहिचान’ को लडाइ हो। आखिर हरेक पहिचानले लडाइ निम्त्याउने त हो नि, किन भने पहिचान भनेकै फरकपनाको आडम्बरी खोजी हो। अनि अरूको लागि यो लडाइ एउटा फगत रमिता हो।

मान्छेको सम्पूर्ण इतिहास भनेकै ‘डाम’ को कथाहरूको शृङ्खला हो। समयले डाम छोडेर गएको हुन्छ, कति डामहरू सजिलै पढ्न सकिन्छ, कति सकिन्न। मान्छेमा भएको घाउको डामले त्यो मान्छे कुन वेदनाबाट गुज्रिएछ र उ कति खारिएको छ भन्ने थाह हुन्छ रे। सायद उसको पहिचान यसैले बन्ने हो कि?

त्यस्तै, डार्विनले फोसिलहरुको अध्ययनबाट इभोलुशनको सिद्धान्त प्रतिपादन गरे, वास्तवमा फोसिल भनेक त्यो बेलाको विकासको डाम हो, ढुङ्गाभित्र थुनिएर लुकेर बसेको, त्यही डामले त्यो बेलाको सभ्यताको पहिचान बोल्छ।

नदीको लहरले किनारको ढुङ्गालाई लगातार थप्पड हानिरहेको हुन्छ। अनि ढुङ्गामा त्यो थप्पडको डाम पर्छ। त्यो डाम त्यो ढुङ्गाको पहिचान हो, कसरी त्यत्रो बलशाली नदीको अतिक्रमणलाई मैले रोकेर फिर्ता पठाएँ भन्ने। देशको सीमाको रक्षा गर्ने सैनिकहरूले यस्तै घाउका डाम बोकेका हुन्छन् होला सायद।

पश्चिमाहरूले जुन पहिचान बनाए, त्यो युद्धले बनाएको घाउको डामले हो। हामी नेपाली डामिएकै छैनौं। त्यसैले हाम्रो पहिचान नै निर्माण हुन सकेको छैन भन्ने पनि छन्। तर मलाई यो त्यति रुचिकर लाग्दैन। हाम्रा आफ्नै घाउ र तिनले बनाएका पृथक् डामहरू छन्।

विधवा विवाहमा निषेध, रक्त शुद्धताको अवधारणाको लागि अंतरजातीय विवाहमा रोक, अस्पृश्यता, काम र जातिको सम्बन्ध, छोरीलाई सम्पत्तिमा अधिकार नहुने, कर्मकाण्डको प्रधानता, अनि महिलाहरूको अपमान। यि त हामीले जुन परम्परालाई जीवनको सिद्धान्त मानेर पालन गरिरहेका छौं, त्यही सिद्धान्तले हाम्रो निधारमा बनाएका डामहरू हुन। यि डामहरू हाम्रा पहिचान बनेर बसेका छन्, निधारमा स्पष्ट देखिने। खै, तै पनि हामी बन्न सकेका छैनौं त। हामी हातका डामहरू मात्र पढ्छौं, यस्ता डामहरू पढ्दैनौं।

डामले हाम्रो परिवारको पनि पहिचान दिन्छ, किनभने बच्चाले उसको पिताजीले बनाएको पाइतालाको डाम पछ्याउँछ। सायद वहाँले पनि वहाँको पिताजीको डाम पछ्याउनु भएको होला। अनि यसरी बन्छ- कुलको मूलतर्फको यात्रा, त्यो कुलको पहिचानको यात्रा हो!

मोबाइलमा पासवर्डको प्याट्रन चलाउँदा चलाउँदा स्क्रिनमा डाम बसिसकेको हुन्छ रे। त्यो डामबाट मोबाइलभित्र छिर्न सकिन्छ, जब छिरिन्छ तब उसको वास्तविक पहिचान उघ्रिन्छ। उसको मोबाइल उसको आफ्नो पहिचान हो। त्यो मान्छे वास्तवमै कस्तो छ भन्ने कुरा त कि उसैलाई थाह हुन्छ, कि उसको मोबाइललाई। हामीले देख्ने भनेको त उसको प्रोजेक्टेड, म्यानुपुलेटेड व्यक्तित्व मात्र हो। हामीबाट लुकेका उसका पहिचानहरू त फोल्डरमा ‘पासवर्ड प्रोटेक्टेड’ भएर बसेका छन्।

मान्छे मरेपछि उसले सबै कुरा यही धरतीमा छोडेर जान्छ। भगवानले जन्मदा जे दिएका थिए, त्यो मात्र लिएर जान्छ रे।  तर हैन उसले यसै धरतीमा आफ्नो जीउमा पाएको “डाम” पनि साथै लिएर जान्छ, किनभने भगवानलाई पनि यो कस्तो मान्छे हो भनेर चिन्नको लागि यही एउटा ‘पहिचान’ हो रे!

(नोटः अन्त्यमा यो लेखको भाव सुझाइदिनुभएकोमा ती दुई कुकुरलाई धन्यवाद। जहाँ रहनु भएको छ ‘मज्जाले खान पनि पाउनुस्, मज्जाले स्वतन्त्रताको उपभोग पनि गर्न पाउनुस्’, बस्!)

प्रकाशित मिति: : 2021-05-23 20:41:00

प्रतिकृया दिनुहोस्