माथि हिमाल छ
अलि तल पहाड छ
र तल तराई छ
जडिबुटी, हरियाली वनजङ्गल
र अन्न भण्डार छ
थुप्रै झरनाहरू छन्
नदीहरू छन्
सयौँ ताल, लाखौँ पोखरीहरू छन्
तामा खानी, सुनखानी र पेट्रोल खानी पनि छन्
तर मेरो देशमा सरकार छैन
मेरो देशमा
विश्वको शिर भएर बसेको छ सगरमाथा
सगरमाथाको काखैमा
हिउँ खेलिरहने नौरंगी डाँफे छ
यहाँका मानिसहरूको मुटुको रंगबाट
सिर्जना भएको लालिगुराँस छ
“ॐ मणि पद्मेँ हुँ” को ध्वनी गुञ्जाएर
विश्वमा शान्तिको पाठ पढाउने
लुम्बिनी पनि छ
तर मेरो देशमा सरकार छैन
भूकम्प पाहुना आइरहन्छ मेरो देशमा
थुप्रै-थुप्रै जन, धन चढाउनुपर्छ स्वागतमा
कहिले पहाडै खसेर गाउँ पुर्छ
कहिले गाउँ नै फाटेर धाँजा पर्छ
वर्खा लागेपछि उर्लिन्छन् खहरेहरू
फेरि बाढीमा बग्ने पालो कुन घरको हो?
पहिरोमा पुरिने पालो कुन गाउँको हो?
यी सबका सब सुन्ने कानहरू छन्
टुलुटुलु हेर्ने आँखाहरू पनि छन्
तर मेरो देशमा सरकार छैन
वर्षैपीच्छे गाउँ नै खान्छ भोकमरीले
थुप्रै नानीहरू मर्छन् छेरौटीले
रमीता हेर्नेको ठूलो ताँती लाग्छ
छ्याप्छ्याप्ती आउँछन् फेसबुका भित्तामा फोटाहरू
यो सब हेरेर र समाचार पढेर
मनोरञ्जन लिन्छन्
स्वास्थ्य मन्त्रीहरू, डाक्टरहरू
ठीक यसैबेला
सिटामोल र जीवनजलमा
कमिसन खानेहरू पनि छन्
तर मेरो देशमा सरकार छैन
जाँगरिला पाउहरू विदेशिँदै छन्
जोशिला पाखुराहरू बेरोजगार छन्
गरिबका नानीहरूलाई
पाँच वर्षलाई लुगा सिलाउन पुग्ने कपडा
उनीहरूबाटै चन्दा उठाएर
हरेक महिना पार्टीहरूले झण्डा बनाउँछन्
दिनैपिच्छे जङ्गे पिलर सर्ने सिमाना छ
चोर्न पाउँ भनेर आन्दोलन गर्ने ब्युरोक्रेसी पनि छ
तर मेरो देशमा सरकार छैन
बिहान-बेलुका
मन्दिर, मस्जिद र गुम्बाहरूमा
जिन्दावाद र मूर्दावादका भजनहरू गाइन्छन्
एउटा छिमेकीलाई
दिल खोलेर सरापेको दिन
अर्को छिमेकी आनन्दले निदाउँछ
मेरो देशले एउटा राजा फालेर
सयौँ राजा पालिरहेको छ
पन्ध्र-पन्ध्र दिनमा
नुन राखेको बट्टा पखाले
तरकारीमा रस हाल्ने सोलुखुम्बु छ
प्रत्येक महिनाको अन्तिम साता
पाँच केजी बगडा अनुदान थाप्ने
कालिकोट पनि छ
एनजिओ, आइएनजिओहरूलाई देखाउनका लागि
यता गोलाखर्क
र उता कर्णाली पनि छन्
तर मेरो देशमा सरकार छैन
हाँडीभित्र फुलैफुल पाक्दै गरेको मकै झैँ
उकुसमुकुस छ काठमाण्डौ
काण्ठमाण्डौमा बानेश्वर छ
बानेश्वरमा सांसद भवन छ
नजिकै सिंहदरबार छ
सिंहदरबार भित्र थुप्रै कुर्सीहरू पनि छन्
तर मेरो देशमा सरकार छैन
https://youtu.be/Fe7p5Z_7uo0?si=kcsl9wjcGuF6UTlr