१५ वर्षकी दिलमायालाई विवाह गर्ने रहर थिएन। तर प्रेमीले विवाहको प्रस्ताव राखेपछि उनले पनि ‘गर्दिनँ’ भन्न सकिन्।
कक्षा–८ पढ्दै गरेकी दिलमायाले सुरुमा त १६ वर्षका प्रेमी प्रकाश चौधरीसँग विवाह नगर्ने बताएकी थिइन्।
तर प्रेमीले ‘भागेर विवाह नगरे मरिदिन्छु’ भनेर धम्काए। र, उनलाई म्यासेजमा आफूले ‘विष’ खान लागेको भन्दै औषधिको फोटो पठाइदिए।
पाँच महिनादेखि प्रेम सम्बन्धमा रहेकी दिलमायाले पनि आफ्नो प्रेमीलाई गुमाउन चाहदिन थिइन्। त्यसैले उनको विवाहको प्रस्ताव स्वीकारिन्।
तर आफ्नो केही सर्त राखिन्।
‘मैले विवाहपछि पढ्न पाउनुपर्छ। बाहिर निस्किुनमा रोकटोक गर्नु पाइँदैन र मलाई टेलर्सको काम सिकाउनुपर्छ’, विवाहअघि प्रकाशसँग राखेको प्रस्ताव थियो दिलमायाको।
दिलमायाको सबै सर्तहरू मानेका थिए प्रकाशले पनि। विवाहपछि सुखमा राख्ने भन्दै आश्वासन पनि दिलाए।
प्रेमीले बोलेका ती शब्दहरूले लोभिएकी दिलमाया बाल विवाह गर्न तयार भइन्।
र, तिहार मानेर घरबाट भागिन्। प्रेमीको साथमा।
माइत घरबाट निस्किरहँदा उनलाई नरमाइलो लागिरहेको थियो। तर त्योबेला उनलाई आफ्नो प्रेमी बचाउनुथियो।
‘विहे नगरे मर्छु भनेर घुर्की लगायो। आफूले माया गरेको मान्छेलाई छोड्न पनि नसकिने रहिछ। त्यसैले उसको लागि घरबाट भागें’, विवाह गर्न बाध्य भएकी थिइन् दिलमाया।
घरबाट भगाएको दिनै प्रकाशले मन्दिरमा लगेर विवाह गरेका थिए दिलमायासँग। ‘नमरुन्जेल’ साथ छोड्ने छैन भन्दै वाचा गरेर।
विहेपछि खुसी भएकी थिइन् दिलमाया। तर उनका आँखा अगाडि विगतका क्षणहरू झलझली आइरहेका थिए।
जब उनीहरू एकअर्कोका लागि विल्कुलै अन्जान थिए।
000
गत जेठ–२ गते फूपुको छोराको विवाहमा गएकी थिइन् दिलमाया। त्यही उनको भेट प्रकाशसँग भएको थियो। नाता उनी भाउजूका भाइ पर्थे।
विवाहमा रमाइलो गर्न गएकी दिलमाया दाइहरूसँग फोटो खिच्न थालिन्। तर उनको फोटोहरू ‘क्यामरा’बाट प्रकाशले सबै आफ्नो फोनमा सारे।
त्यसपछि दिलमायालाई फोटो पठाइदिन्छु भन्दै उनीसँग फोन नम्बर मागे। दिलमायाले पनि उनलाई ‘वाट्स एप’ नम्बर दिए।
उनीहरूबीच चिनजान बढ्यो। फोन र म्यासेजमा कुराकानी हुँदै गयो। साथी भएर बोल्न थालेका उनीहरूबीच विस्तारै प्रेमको टुँसा पलाउन थाल्यो।
बोल्न थालेको केही महिनापछि प्रकाशले प्रेम प्रस्ताव राखे। दिलमायाले पनि खुसी हुँदै उनको प्रेमलाई अपनाइन्।
त्यही दिनदेखि एकअर्कोको प्रेममा हराएका उनीहरूले अन्ततः विवाह गरेरै छाडे।
‘साथीबाट श्रीमान बनेपछि प्रकाशको झन धेरै माया लागेको थियो। उसलाई श्रीमानको रुपमा पाएर म धेरै खुसी थिएँ’, विवाहको दिन सम्झिदैं दिलमायाले भनिन्, ‘संसारको सबै खुसी पाएकोजस्तो भयो।’
विहेपछि श्रीमानको घर पुग्दा उनी दंग परिन्। दिलमायालाई स्वागत गर्न दैलोमा पुगेका थिए प्रकाशका बुबाआमा।
त्यतिबेला दिलमायालाई लाग्यो प्रकाशका परिवारले उनलाई धेरै माया गर्नेछन्। तर सोचेजस्तो कहाँ हुन्छ र! त्यो मात्र उनको लागि एउटा मिठो भ्रम थियो।
पाँच जना छोराहरूमध्ये सबैभन्दा कान्छो थिए प्रकाश। दाइहरूसँगै उनी ‘मार्बल’ बोक्ने काम गर्थे।
सुरु–सुरुमा त उनीहरूबीच सबै ठिकठाक थियो। परिवारको माया पाइरहेकी थिइन् उनले।
तर समयसँगै परिवारको रबैया पनि बदलिदैं गयो।
विवाहअघि पढाउने र काम सिकाउने बताएका प्रकाशले विवाहपछि भने, ‘विवाह गरेपछि किन पढ्नु? काम पनि सिक्नुपर्दैन। बुहारी मान्छे भएर घरको काम गर्ने हो।’
प्रकाशले त्यसो भनेपछि दिलमायाले १२ जना परिवारको लागि खाना पकाउन थालिन्। अनि सासु–ससुराको लुगा पनि धुन थालिइन्।
तर कहिल्यै स्याबासी पाइनन्। बरू, सधैं नमिठो बचन सुनिरहिन्।
घरमा आफूलाई गाली गर्दा उनी माइती घर सम्झिन्थिन् अनि आमालाई फोन गर्थिन्।
उनले भागेर विवाह गरेको कारण उनको बुबाआमासहित दाइ पनि रिसाएका थिए।
दिलमायासँग बुबा र दाइको बोलचाल थिएन। तर आमाको मन न हो, छोरीसँग कतिन्जेल नबोली बस्न सक्थिन् र!
छोरीको दुःखको भारी बिसाउने चौतारी बनेकी थिइन् आमा। त्यसैले उनी दुःखी हुँदा आमालाई सम्झिएर फोन गर्दै भक्कानिएर रुन्थिन्।
‘म भागेर आइसकेपछि मलाई आमाले रुँदै फोन गर्नुभएको थियो। मैले बाध्यताले विहे गरेको भन्दै मेरो चिन्ता नगर्नू भनेर सुनाएकी थिएँ’, आफूले गरेका गल्तीबारे उनी सुनाउँछिन्, ‘त्यही दिनदेखि मसँग दाजु र बुवा बोल्नुभएको छैन।’
विहेअघि घरकी एक्ली छोरी बुवा र दाजुकी प्यारी थिइन्। तर भागेर विहे गरेपछि दुबै जनाबाट टाढिइन् दिलमाया।
दाइ र बुवाको माया नपाएपनि श्रीमानको साथ पाएर खुसी थिइन् उनी। दिलमाया सोच्ने गर्थिन्, ‘माइती घरबाट वास्ता नगरेपनि श्रीमानले गरिरहेको छ भनेर खुसी थिएँ। तर त्यो पनि भ्रम भइदियो।’
विवाह गरेको दुई महिना हुँदै थियो। प्रकाशले दिलमायालाई बेवास्ता गर्न थालिसकेका थिए। दिनभरि उनी फोनमा ‘च्याटिङ’ गरेर व्यस्त हुन्थे।
‘मैले को–सँग बोलेको भनेर सोध्दा मसँग सधैं झर्किरहन्थे। मलाई गाली गरेर केही नसोध्न भन्थे’, प्रकाश बदलिसकेका थिए।
एकदिन सबै काम सक्काएर बसिरहेकी थिइन् दिलमाया। त्यहीबेला उनका श्रीमान घरबाट निस्किन थाले। दिलमायाले पनि सोधिहालिन्, ‘कहाँ जान लागेको?’
त्यति सोध्नासाथ उनलाई प्रकाशले कुट्न थाले, बिना उनको गल्ती।
दिउँसो घरबाट निस्किएका प्रकाश बेलुकी घर फर्किए। साथमा नयाँ श्रीमती लिएर।
‘नयाँ बुढी ल्याउनको लागि मलाई कुटेर गएको रैछ’, बिएल नेपाली सेवासँग उनले आफ्नो दुखेसो पोखे।
दोस्रो विवाह गरेर भित्र्याएकी श्रीमतीको हात समातेका प्रकाशले दिलमायासँग भनेका थिए, ‘अबदेखि तँ मेरी लागि कोही होइनस्। मैले मेरो श्रीमती ल्याइसकें।’
श्रीमानले दोस्रो विवाह गरेपछि हेलामा परिन् दिलमाया। श्रीमानसँगै परिवारबाट अपहेलना सहन बाध्य भइन्।
तर कतिन्जेल सहन सक्थ्यो र! दिलमायाको कलिलो ज्यानले परिवारले दिएको यातना।
उनले रुँदै आमालाई फोन गरिन्। छोरीको बिजोग देखेर भक्कानिएकी आमाले दिलमायालाई घर बोलाइन्। र, आफूहरूसँगै बस्न लगाइन्।
अहिले एक महिनादेखि माइती घरमा बसिरहेकी छिन् दिलमाया। अझैपनि आफूले गरेका गल्ती सम्झिएर भावुक हुन्छिन्।
डाक्टर बनाउने बुबाआमाको सपना
घरकी कान्छी र एक्ली छोरी भएकाले दिलमायालाई डाक्टर बनाउन चाहन्थे उनका बुबाआमा।
दाइ सानैदेखि काम गर्न थालिसकेका थिए अनि बुबा ड्राइभर थिए। उनीहरूको योजना बनिसकेको थियो, दिलमायालाई धेरै पढाएर डाक्टर बनाउने।
उनलाई बुबाआमाले सधैं भनिरहन्थे, ‘हाम्रो घरको गहना तिमी हौं। त्यसैले समाजमा हाम्रो बेइज्जत हुने काम कहिल्यै नगर्नू। अहिले जसरी हामी शिर उठाएर हिँडेका छौं। त्यो शिर निहुँराउने काम नगर्नू। घरबाट भागेर नजानू है छोरी।’
त्यसरी बुबाआमाले आफूलाई फकाइरहँदा उनी पनि मख्ख पर्थिन्। र, बुवाआमासँग भन्थिन्, ‘तपाईंहरूको नाक काट्ने काम कहिल्यै गर्ने छैन।’
तर अहिले त्यही कुराले पिरोलिरहेको छ, दिलमायालाई। मातापितासँग गरेको ती वचनहरू पूरा गर्न नपाएकोमा आत्मग्लानी छिन्।
‘मैले जिन्दगीमा जे काम गर्दिनँ भनेकी थिएँ त्यही गरें’, आँखाभरिका आँसु पुछ्दै उनले भनिन्, ‘प्रेमीलाई खुसी बनाउँदा आफ्नो जीवन अन्धकारमा गयो।’
सानै उमेरमा विवाह गरेकी दिलमाया अहिले पछुताइरहेकी छिन्। र, आफूलेजस्तो गल्ती नगर्न सुझाव दिइरहेकी छिन्।
‘मैले जस्तो दुःख अरूले नपाओस् जस्तो लाग्छ। छिटो बिहे गरेर केही हुँदैन। मात्र दुःख पाइन्छ’, आफ्नो अनुभव सुनाउँछिन् दिलमाया।
केही महिनाको प्रेमले आफूबाट भएको गल्तीलाई फेरि दोहोर्याउन चाहदिँनन् दिलमाया।
अब उनलाई आफ्नो भविष्य उज्वल बनाउनु छ। त्यसको लागि उनलाई धेरै पढ्नु छ।
‘म पढ्नु चाहन्छु। मलाई बुबाआमाले पढाउनुहुन्छ होला’, दिलमाया भन्छिन्, ‘यदी पढ्न पाइनँ भने टेलरिङको तालिम सिकेर काम गर्छु।’
बाल विवाह गरेर श्रीमानबाट हेपिएकी दिलमायाको अब एउटै उद्देश्य छ, आफूले गरेका कामहरूले बुबाआमालाई खुसी बनाउने।
(माथि लेखिएका पात्रकाे नाम फेरिएकाे हाे)