बिएल संवाददाता
११औं राष्ट्रिय महाधिवेशनपछि शिथिल बनेको नेकपा एमालेमा नेतृत्व परिवर्तनको बहस केही दिनयता पुनः उत्कर्षमा पुगेको छ।
११औं महाधिवेशनले केपी ओलीलाई अध्यक्षमा तेहेर्याएपछि इतर समूह तितरबितर भए पनि फागुन २१ को आम निर्वाचनमा पार्टीको लज्जास्पद हारसँगै नेतृत्वको विकल्प खोजिरहेकाहरू पुनः जुर्मुराएका हुन्।
पछिल्लो समय प्रतिनिधि सभालाई सम्बोधन गर्ने क्रममा पार्टीका कार्यवाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले कर्मचारीतन्त्र र सेनाविरुद्ध पार्टी अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले लेखिदिएको वक्तव्य पढेपछि एमालेको विवाद उत्कर्षमा पुगेको हो।
पार्टी उपाध्यक्ष विष्णु पौडेल समूहले आकस्मिक सचिवालय बैठक बोलाएर बादलको अभिव्यक्ति सच्याइदिएपछि महासचिव पोखरेल समूह पौडेल समूहसँग चिढिएको छ। पोखरेल र उपाध्यक्ष बादलहरूले सार्वजनिक मञ्चबाटै काउन्टर दिइरहेका छन्।
यता पौडेल–पोखरेल विवादमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको एकाएक इन्ट्रीले एमालेमा फेरि अर्को तरंग ल्याएको छ। ११औं महाधिवेशनमा अध्यक्षमा चुनौती दिने तयारीमा रहेकी भण्डारीलाई ओलीले पार्टी विधान नै संशोधन गरेर पार्टी सदस्यता नै खोसिदिएका थिए। ओलीले पार्टी सदस्य नै बन्न नदिएपछि नेतृत्वमा फर्किने भण्डारीको चाहना समाप्त भएको थियो।
तर, गत निर्वाचनमा ओली समूहमा लागेका उपाध्यक्ष विष्णु पौडेललाई नै भावी नेतृत्वका रुपमा अघि सारेर पूर्वराष्ट्रपति भण्डारीले एमालेका पदाधिकारीको ठूलो हिस्सासमेत आफ्नो प्रभावमा पारेपछि संस्थापन पक्ष झस्किएको छ।
एमाले स्रोतका अनुसार उपाध्यक्ष पौडेलसहित अर्का उपाध्यक्ष गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ, उपमहासचिव योगेश भट्टराई लगायत नेताहरू नेतृत्व परिवर्तनका पक्षमा माहोल बनाइरहेका छन्। ओलीलाई सम्मानजनक बहिर्गमन गराउन नसके विशेष महाधिवेशन नै बोलाएर फ्याँक्ने तयारीमा इतर समूह रहेको बुझिएको छ।
भण्डारीले पार्टीभित्रको सन्तुलन मिलाउने र ओली–शंकरलाई तह लगाउने एकमात्र पात्र विष्णु पौडेल भएको आफू निकट नेताहरूलाई भन्ने गरेकी छन्। पौडेललाई अघि सारेर पार्टीमा ओली–शंकरको दबदबा अन्त्य गर्ने उनीहरूको प्रयास छ।
त्यसका लागि पूर्वराष्ट्रपति भण्डारीले तयारीसमेत थालिसकेकी छन्। केही दिनअघि मात्रै उनले नयाँ बानेश्वरस्थित मदन भण्डारी फाउन्डेसनको कार्यालयमा सम्पादकहरूसँग अन्तरक्रियासमेत गरेकी थिइन्।
पौडेल समूह ओली–शंकर समूहको काउन्टरमा केन्द्रदेखि पालिका कमिटीसम्मै सशक्त रुपमा उत्रिने तयारीमा रहेको एक नेताले बताए।
‘पार्टी इतिहासकै कमजोर अवस्थामा छ। नेतृत्वको नालायकीले एमाले मात्रै होइन समग्र बाम आन्दोलन नै धारासायी बनेको छ। पार्टीलाई लयमा फर्काउन नेृत्वको विकल्पबाहेक अर्को विकल्प छैन। केन्द्र मात्रै होइन प्रदेश, जिल्लादेखि पालिका कमिटीसम्मै हामी अब सशक्त रुपमा अघि बढ्नेछौं,’ ती नेताले भने।
यता पार्टीकी पूर्व उपाध्यक्षसमेत रहेकी भण्डारी उपाध्यक्ष पौडेललाई भावी नेतृत्वका रुपमा अघि सारेर एकाएक सक्रिय बनेपछि महासचिव पोखरेल पनि भावी रणनीति बनाउन व्यस्त रहेको उनीनिकट एक नेताले बताए।
पोखरेल नेतृत्वमा सकेसम्म ओलीलाई नै निरन्तरता दिने, नसके उपाध्यक्ष बादलको समेत साथ लिएर आफैं नेतृत्वमा स्थापित हुने तयारीमा रहेको बुझिएको छ। सोही मुद्धालाई उनले पार्टी कार्यालयबाटै जिल्ला तहसम्म स्थापित गर्ने प्रयास गरिरहेका ती नेताले बताए।
‘नेतृत्वमा ओलीबाको विकल्प छैन र हुनुहुँदैन। कथमकदाचित परिस्थितिले साथ नदिए महासचिव कमरेडले जिम्मेवारी सम्हाल्नुहुन्छ। त्यसको तयारी भइसकेको छ। उहाँहरू (पौडेल समूह) पार्टीका लागि घातक देखिँदै हुनुहुन्छ। बोकेको के जातीले शिकार गर्दैन भन्ने त ११औं महाधिवेशन मै पुष्टि भइसक्यो। विद्याजीहरूले प्यानल नै खडा गरेर नेतृत्वलाई कमजोर बनाउने प्रयास गर्नुभएकै थियो। उपलब्धि के निकाल्नुभयो त?’ ती नेताले भने।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रतिक्रिया