विप्लवका नेतालाई स्वागत गर्दै प्रचण्डले भने- एक दिन विप्लव पनि यही समूहमा आएर जोडिनेछन्

तस्बिरः बिएल

नेपाल कम्यनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समृद्धिको परिणाम जति चाँडो जनतालाई दिन सक्यो त्यति नै कम्युनिष्ट आन्दोलन अझ सुदृढ हुने बताएका छन्।

विप्लव समूह परित्याग गर्दै आइतबार नेकपामा प्रवेश गरेका पदम राईलाई पार्टी कार्यालय धुम्बाराहीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

‘कम्युनिष्ट पार्टीकै नेतृत्वमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आकांक्षा पुरा गर्ने सम्भावना छ। नेपालमा मात्र शान्तिपूर्ण रुपले समृद्धि कायम गरेर समाजवादमा जाने सम्भावना पैदा भएको छ,’ उनले भने, ‘यो सम्भावना सजिलै पैदा भएको होइन। यो लामो संघर्ष र बलिदानको श्रृंखलाको बीचबाट नै अहिले नेपालमा कम्युनिष्ट आन्दोलन लोकप्रिय भयो।’

अध्यक्षले अहिलेको नेपालको परिस्थिति नितान्त भिन्न परिस्थिति भएको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘पार्टीले समाजवादको उद्देश्य र आधार तयार गर्नका लागि नीति तथा कार्यक्रम र बजेटमा उत्पीडित जाति र क्षेत्रलाई सम्बोधन गर्ने जमार्को गरेका छौं।’

भनेजस्तो पूर्ण भन्न नसकिए पनि सामाजिक सुरक्षा र सामाजिक न्यायसहितको विकासको नयाँ मोडल तिर जाने र समाजवादको तयारी गर्न खोजेको अध्यक्षको भनाई थियो।

विप्लव समूहले लिएको बाटो गन्तव्यमा पुग्ने बाटो नभएको तर्क गर्दै अध्यक्ष प्रचण्डले एक दिन विप्लव पनि यही समूहमा आएर जोडिने बताए।

जनयुद्वकाल र अहिलेको परिस्थिति फरक भएको तर्क गर्दै अध्यक्ष प्रचण्डले आफूले लडेर ल्याएका उपलब्धिलाई रक्षा गरेर अगाडि बढ्नुको विकल्प नभएको बताए।

प्रकाशित मिति: : 2019-06-02 15:07:34

प्रतिकृया दिनुहोस्