जनकपुरमा १२ सय बिघा जग्गा लुटिएको रास्वपा सांसदको दाबी, नेताहरूको नाम सार्वजनिक गर्ने चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुर क्षेत्रका १ हजार २ सय बिघा जग्गा हिनामिना गरेर आफ्नो बनाउने नेताहरूको नाम सार्वजनिक गरिदिने चेतावनी दिएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले स्थानीय जनप्रतिनिधि, ठेकेदार, दलाल सबै मिलेर जनकपुर क्षेत्रको १ हजार २ सय विघा जग्गा लुटिएको बताएका हुन्।

उनले भने, ‘अहिले १४ सय बिघामा २ सय बिघामात्रै बाँकी छ। पुराना दलका सबै नेता, त्यहाँको स्थानीय जनप्रतिनिधि, ठेकेदार, दलाल सबै मिलेर १२ सय विघा लुटिसके। त्यससम्बन्धी पटक-पटक आवाज उठाउँदै आएको छु। विभिन्न चरणमा हामी सरकारमा हुँदैगर्दा त्यसको खोजतलास गर्नका लागि कमिटी र प्रतिवेदनमा पनि काम गरिसकेका छौं।’

उनले आफूले पनि यस सम्बन्धमा काम गरिरहेको बताउँदै आगामी बैठकमा जग्गा हडप्ने नेताहरूको नाम सार्वजनिक गरिदिने चेतावनी पनि दिए।

‘अहिले वर्तमान सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु, म आफैं पनि त्यसमा काम गर्दैछु र आगामी बैठकमा कुन-कुन नेताले कति-कति जग्गा लिएको छ भन्ने जानकारी लिएर उपस्थित हुनेछु,’ उनले भने।

प्रकाशित मिति: : 2025-02-17 19:33:00

प्रतिकृया दिनुहोस्