काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्नेको भीड जम्मा भइरहेका बेला प्रधानमन्त्री र गृहमन्त्रीले भने यहाँ हुने छैनन्।
आजै प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम जाँदैछन्। गृहमन्त्री रमेश लेखक पनि केही दिनदेखि पश्चिम नेपालमै छन्। सुदूरका विभिन्न जिल्ला पुगेर उनी आइतबार बिहानै कर्णाली पुगेका छन्।
सुर्खेतमा रहेको एउटा गोदाम प्रदेश सरकारलाई हस्तान्तरण गरेर गृहमन्त्री लेखक जाजरकोटतिर लागेका छन्। उनले त्यहाँ भूकम्पपीडितहरूका लागि भूकम्पीय पुर्ननिर्माण तथा पुर्नस्थापना कार्यान्वयन कार्यालयको स्थापना गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने आज सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दैछन्। दिउँसो १ बजे सुरु हुने प्रदेशसभा बैठकमा सम्बोधन गर्न आज उनी त्यहाँ जाँदैछन्।
योसँगै उनी सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्तमा पनि सहभागी हुनेछन्। यसअघि उनले लुम्बिनी तथा कर्णाली प्रदेशसभालाई पनि सम्बोधन गरेका थिए।
जाजरकोट जाँदै गरेका गृहमन्त्री रमेश लेखकले सुर्खेतमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गरेका थिए। गृहमन्त्री लेखकले ‘काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको’ प्रतिक्रिया दिएका थिए।
राजावादीको आन्दोलनका सन्दर्भमा उनले ‘ज्ञानेन्द्र शाह हौसिन र अरु डराउनुपर्ने अवस्था नरहेको’ बताए।
काठमाडौंमा पूर्वराजालाई ‘स्वागत’ गर्ने राजसंस्था पक्षधरहरूको भीड व्यवस्थापनका लागि सबै सुरक्षा संयन्त्रले तयारी गरेका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौं फर्किदैंछन्। उनी एकसाता भन्दा धेरै पोखरातिरै थिए। उनको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी तथा दुर्गा प्रसाईंको समूहलगायत विभिन्न हिन्दुवादी र राजसंस्था पक्षधरहरूले विमानस्थलमा जम्मा हुन आह्वान गरेका छन्।
उनीहरूले ज्ञानेन्द्रलाई स्वागत गर्दै निवाससम्म पुर्याउने रुट तय गरेका छन्।
केही दिनदेखि देशका विभिन्न स्थानहरूमा राजसंस्थाको माग गर्दै प्रदर्शन भइरहेका छन्। राप्रपाले पनि देशका मुख्य सहरहरूलगायत नारायणहिटीअघि प्रदर्शन गरेको थियो। राजा चाहने अरु संघसंस्थाहरूले पनि उनको पक्षमा देशव्यापी प्रदर्शन र जुलुस गरिरहेका छन्।
शनिबार रातिदेखि नै काठमाडौंका नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकहरुमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले पनि सुरक्षा संयन्त्रको बैठक बसाएर त्यसकारे ब्रिफिङ लिएको छ। त्यहाँ प्रमुख जिल्लाअधिकारी ऋषिराम तिवारीले कानुन उल्लंघन हुने खालका कुनै पनि हुलहुज्जत तथा अमर्यादित कार्य रोक्नका लागि सुरक्षा व्यवस्था कडा गर्न निर्देशन दिएका थिए।
केही दिनदेखि राजा र राजसंस्था पक्षधरहरूको प्रदर्शन बढ्न थालेपछि राजनीतिक दल र सरकार पनि त्यसको प्रतिरक्षाका विकल्पहरूबारे छलफल गरिरहेका छन्।